किरात येले सवतको गणनालाई प्रामाणिक बनाउनु पर्ने विज्ञहरुको धारणा

धरान सुनसरी, पुस २६ गते । किरात येले सवतको गणनालाई प्रामाणिक बनाउनु पर्ने धारणा विज्ञहरुले राखेका छन् । किरात याक्थुङ चुम्लुङले आयोजना गरेको किरात येले तङ्बे सम्बन्धी विचार गोष्ठीमा सो धारणा आएको हो । कलिगत ४० वर्ष वित्दा किरात राजा यलम्बरले काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने सुब्बा प्रेम बहादुर माबोहाङ र भुपेन्द्रनाथ शर्मा ढुङ्गेलको दावीका आधारमा जसहाङ मादेनले वि.सं. २०४५र०४६ मा याक्थुङ येल्ले तङ्बे उल्लेख गरी प्रकाशन आरम्भ गरेको थिए । उक्त संवत् सन् २०१७ मा ५०७७ वर्ष पुगेको विश्वास गरिए पनि प्रथम किरात यलम्बर राजाको स्मृतिमा चलाइएको संवत्को काल गणना ऐतिहासिक हिसाबले पुष्टि हुन सकेको छैन ।

२०६६ कात्तिक २८ र २९ गते भएको “किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी २००९” पछि किरात येले संवत्का अध्ययनले गति लिएको हो । यस काममा प्रचीन नेपालको इतिहासका ज्ञाता तथा संव्त विशेषज्ञ प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई र किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बाको विशेष सहभागिता रहेको छ । किरात समन्वय समिति र किरात येले संवत् अध्ययन समन्वय समिति र किरात अगुवाहरुको २०६७ मङ्सिर २८ मा जनजाति प्रतिष्ठान जावलाखेलमा आयोजित बैठकले जयस्थिति मल्लको शासन कालमा लेखिएको गोपालराजा वंशावली र मालीगाउँमा भेटिएको जय वर्माको मूर्तिको बैठकमा उल्लेख भएको संवत् १०७ तदनुसार ई.सं. १८५ लाई मिलन बिन्दु मानेर येले संवत्का निर्धारण गर्ने निर्णय गर्यो । यस अनुसार कायम भएको सन् २०१७ मा ३७९६ हुन आउने किरात येले संवत्को गणना प्रामाणिक भएको स्रोत व्यक्ति अमर तुम्याहाङले प्रस्तुत गरेका थिए ।

किरात येले संवत््को पात्रो निर्धारण गर्ने क्रममा चान्द्र पात्रो निर्माण प्रक्रिया, नयाँ वर्ष आरम्भ दिन माघ शुक्ल प्रतिपदा र समयको आधार बिन्दु पटुक राजाको दरबार मानिएको पाटनको पटुकोडोँलाई मान्नु पर्ने उनले बताए ।
अर्का कार्यपत्र प्रस्तोता हरिचन्द्र लाओतीले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने क्रममा ५०७७ लाई नै मानेर जानु पर्ने कुरा राखेका थिए । उनले किरात येले संवत्का समयको आधारबिन्दु फक्ताङलुङलाई मान्नु पर्ने पनि बताए ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिं थाङ्देनले २०४८ सालमा किरात येले संवत्को आधिकारिकता भन्दा पनि किरातीहरुको पहिचानको विषयलाई मात्र ध्यान दिएर सिक्किममा प्रकाशित भएको र आशामान सुब्बा निवासमा पाइएको पात्रोमा उल्लेख भएको याक्थुङ येल्ले संवत् प्रयोग गरेको बताए । त्यसबेला पहिचानको खोजी र आर्थिक सहयोग सङ्कलनको उद्देश्यले पात्रो प्रकाशन भए पनि अहिले आएर यसको गणनाका बारेमा अध्ययन अनुसन्धानपछि यसको प्रयोगमा समस्या आएको अध्यक्ष थाङ्देनले बताए । उनले अगाडि भने, “अध्ययन अनुसन्धानबाट प्रमाणित संवत् नै चलाउने हो तर सबैको सहमति लिएर चलाउने हो । लामो समयदेखि पाँच हजारवाला संवत् चलाएकाले केही समस्या भए पनि चुम्लुङको तल्लो तहसम्म छलफल गरी सहमति जुटाएर जतिसक्दो चाँडो येले संवत्को प्रामाणिक गणना टुङ्गो लगाउन चुम्लुङ लागि परेको छ ।”

यसरी नै किरात याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनले अध्ययन अनुसन्धानबाट आएको किरात येले संवत्को गणनाबारे चुम्लुङ बेखबर नरहेको बताए । उनले भने, “चुम्लुङको निर्णय अनुसार नै किरात येले संवत्को गणनाको अध्ययन भएको हो । तर यसको कार्यान्वयनका लागि सबै पक्षको सहमति जुट्नुपर्छ भन्ने पक्षमा चुम्लुङ रहेको छ ।”

किरात याक्थुङ चुम्लुङका संस्थापक तथा छलफल कार्यक्रमका सभापति नरप्रसाद लुम्फुङ्वाले पाँच हजारवाला संवत्को पात्रो निर्माणमा आफ्नो पनि ठूलो भूमिका रहेकाले त्यससँग भावनात्मक सम्बन्ध रहे पनि त्यसको इतिहास सम्मत गणना हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार क्या. अक्कल बहादुर मेन्याङ्बोले अङ्ग्रेजहरुले नेपालमा आएर यहाँको इतिहास लेख्न थालेपछि अनि पहिलो र दोस्रो विश्वयुद्धमा वीर गोर्खाहरु सहभागी भएपछि मात्र राई, लिम्बु लगायतको जातिको इतिहास लेख्न थालिएको तथ्य समेतलाई ध्यानमा राखेर किरात येले संवत्को गणना गर्नु पर्ने सुझाव राखेका थिए । उनले भने– एक त नेपाली इतिहास नै लेखिएको छैन अर्को कुरा मन गढन्ते तरिकाले किरात राजा यलम्बरको राज्यकाल पाँच हजार वर्ष अघि पुराउन नै सकिँदैन र यो विश्वको इतिहाससँग मेल खालाजस्तो पनि लाग्दैन ।

अर्का वक्ता मुन्धुमविद् भरत तुङ्घङले गोपालराजावंशावलीमा उल्लेख भएका सबै १२९ जना राजाको काल गणना गरे पनि चारहजार सेरोफेरो भन्दा पूर्व जाँदैन अनि कसरी पाँचहजारको गणना मान्न सकिएला भनी प्रश्न गरे ।
च्याब्रुङका अध्येता आइत खजुमले किरात नभई याक्थुङ जातिको इतिहास खोजे मात्रै संवत्को टुङ्गो लाग्ने बताए । उनले भने– किरातको कुरा गरेर अलमल मात्र हुन्छ, कहिलै निष्कर्षमा पुगिँदैन ।
यसरी नै श्री लिङ्खिमले लिम्बु मुन्धुमका पात्र वा इतिहासका पाइने व्यक्तिहरुको नामबाट संवत् सुरु गर्नुपर्ने बताए । मिजोकलुङ चङ्बाङ क्याकले किरात येले संवत्मा देखिएको दुविधा तुरुन्त अन्त्य गर्नुपर्ने राय राखेका थिए । घनेन्द्र चबेगुले भने संवत्को नामका साथै नयाँ वर्ष फेरिने क्रममा समेत फरक फरक मत र प्रयोग रहेकाले अब कसरी एक रुपता ल्याउन सकिएला भनी जिज्ञासा राखेका थिए ।

किरातजन्य संस्थाहरुले किरात येले संवत् यस वर्ष ५०७७, किरात धर्म अन्तरगत सत्यहाङ्मा पन्थीहरुले ५०७८ र अध्ययनबाट आएको निष्कर्षको आधारमा किरात येले संवत्को गणना ३७९६ रहेको कुरा स्मरणीय छ । यसरी नै नयाँ वर्ष आरम्भ पनि किरातजन्य संस्थाहरुले माघ १ गते, सत्यहाङ्मा पन्थीले चैत्र १ गते र नयाँ अध्ययनको आधारमा माघशुक्ल प्रतिपदाबाट सुरु हुने मान्यता रहेको छ ।
चारामाया पालाम कृतिका लागि अम्बिका कुमार सम्बाहाम्फेलाई दसहजार राशीको उदयकला उपुरस्कार प्रदान गरिएको उक्त कार्यक्रमको सञ्चालन विजय लिम्बुले गरेका थिए ।
तस्बिर १) कार्यक्रम । २) कार्यपत्रको शीर्षक ३) कार्यपत्र प्रस्तोतालाई प्रदान गरिएको मायाको चिनो ।