स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ, ६ फागुन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ ।

समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने बताउनुभयो । “समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ”, कार्यकारी निर्देशक पन्थीले भन्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिइ पात्रो तथा क्यालेण्डर प्रकाशन गरे रु १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिइ पात्रो वा क्यालेण्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ ।

कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताउनुभयो । बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ ।

समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरको स्वीकृतिका लागि रु दुई हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेण्डरको स्वीकृतिका लागि रु पाँच हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेण्डर स्वीकृतिमा रु १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौँ, २१ माघः विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो ।

वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।

छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने निर्णय समितिले गरेको छ । प्रकाशनका लागि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग गरी १८ वटा पुराना पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको समितिले जनाएको छ ।

विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएकामा २०८२ मा चार नयाँ पात्रोले प्रकाशनको स्वीकृति पाएका थिए । यस वर्षदेखि स्वीकृति दिइएका चार पात्रोलाई दुई वर्षे परीक्षण काल राखेर स्वीकृति दिइएको उहाँले बताउनुभयो । विसं २०८३ देखि प्रकाशन हुने गरी नयाँ अर्को एउटा पात्रोले पनि स्वीकृति मागेको छ ।

नयाँ पात्रोलाई भने स्वीकृति दिन बाँकी रहेको जनाइएको छ । विगत वर्षमा माघ तेस्रो साता नै अर्को वर्षको पात्रो बजारमा आउने गरेको थियो । यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेका कारण पात्रो प्रकाशनका लागि स्वीकृति दिन पनि करिब १० दिन ढिलाइ भएको हो ।

मन्त्रालय अन्तर्गतको समितिलाई पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम गठन आदेश २०७७ ले दिएको छ । सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो । धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने गरी समितिको छुट्टै विधेयक नै मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ । तर, यो माग अझै पूरा हुन सकेको छैन ।
–––

नेपाल संवत् नेपाल र नेपालीको एक मात्र मौलिक संवत्ः प्रदेश प्रमुख देवकोटा

भक्तपुर, १५ पुसः बागमती प्रदेशका प्रमुख दीपकप्रकाश देवकोटाले नेपाल संवत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक संवत भएकाले यसलाई सबैले आत्मासात गरेर जानु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विभूति शखधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको नेपाल संवत र शंखधर साख्वाः पुस्तक विमोचन कार्यक्रममा उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत दुवै राष्ट्रका गौरव भएकाले यसलाई लिपिबद्ध गर्दै जानु आवश्यक रहेको बताउनुभएको हो ।

ओझेलमा परेको ऐतिहासिक व्यक्तित्व साख्वाः र नेपाल संवत्लाई उजागर गर्दै संरक्षण गर्न निरन्तर लागि रहनु गौरवको विषय भएको बताउँदै उहाँले यसमा मध्यपुरथिमिको नागरिक समाज, अभियन्ताको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले मस्तिष्क र ह्दयको संगम रहेको दुर्लभ मावनका रुपमा साख्वालाई लिन सकिने उल्लेख गर्दै कुनै पनि राजनीतिक भूमिकामा आबद्ध नरहेर पनि समाजवाद, सर्वहारावादका क्रान्तिका नायकका रुपमा आफूलाई उभ्याउँदै उहाँले गरिब किसानको ऋण मोचन गरी सर्वसाधारणको पीडामा मल्हम बन्नु भएको बताउनुभयो ।

सु–संस्कृति र सुसाशन युक्त समाज निर्माणको प्ररेणाका रुपमा साख्वालाई लिन सकिने बताउँदै उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपाल संवत्लाई नेवारी संवतको रुपमा बुझ्नु इतिहासको अल्पज्ञान हो, नेपाल संवत् सबै नेपाल र नेपालीको मौलिक संवत् हो, सभ्य, सुरंस्कृत र सम्बृद्ध देश निर्माणमा साख्वाबाट धेरै सिक्नु जरुरी छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भाषा, ंकृति, कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा खाख्वाःको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । मन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई सरकारी कामकाजमा ल्याउन र सरकारी कार्यालयमा प्रयोग गर्न ऐन बनाएर सुरुवात गरेका छौँ । सरकारी कामकाजमा प्रयोगमा ल्याइसकेका छौँ ।”

हरेक जातजातिका भाषा, कला, संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको बताउँदै उहाँले पुस्तकालय सञ्चालन र अन्य शीर्षकमा प्रदेश सरकारले बजेटका विनियोजन गरेको उल्लेख गर्नुभयो । उपत्यकामा मात्र नभई विभिन्न जिल्लामा बसाइ सरेर गएका नेवारको भााषा, कला, संकृतिको क्षेत्रमा संरक्षण र विकासमा लाग्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल भाषा एकेडमीका चान्स्लर मल्ल के. सुन्दर, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भाषाविद् सुरेश मानन्धर, प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठलगायतले शंखधर साख्वाले पुर्याएको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ज्ञानराम श्रेष्ठले नेपाल संवत् र शंखधर साख्वाको योगदानलाई देशव्यापी फैलाउन प्रकाशित गरिएको पुस्तकको प्रकाशन गरेको बताउनुभयो ।

पञ्चाङ्ग निर्णायक समितिको निर्देशक नियुक्त नहुँदा रोकियो पात्रोलाई स्वीकृति दिने प्रक्रिया

२२ मंसिर २०८२, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच महिनादेखि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक नियुक्त नगर्दा विसं २०८३ को पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने प्रक्रिया अघि बढ्न सकेको छैन ।

समिति गठन आदेश, २०७७ अनुसार चार वर्षअघि नियुक्त भएका समितिका पदाधिकारीसहित कार्यकारी निर्देशकको कार्यकाल गत असार २२ गते सकिएको थियो ।

समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।

मन्त्रालयले गत साउन २३ गते आवेदन माग गरेर प्रक्रिया सुरु गरे पनि अझै टुङ्गिएको छैन । कार्यकारी निर्देशकका लागि जारी सातदिने सूचनाअनुसार तीन जनाको निवेदन परेको थियो ।

छनोटको प्रक्रियाका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत साउन २० गते मन्त्रिस्तरीय निर्णय गरी ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनोट कार्यविधि, २०८२’ स्वीकृत गरेका थिए ।

त्यसैताका मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिसम्बन्धी व्यवस्थालाई वस्तुनिष्ठ, निष्पक्ष र पारदर्शी बनाउन मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ७ बमोजिम कार्यविधि स्वीकृत गरिएको थियो । कार्यविधि स्वीकृत भएको चार महिना पूरा हुँदा पनि समितिको कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल कार्यकारी निर्देशक नियुक्ति नहुँदा २०८३ सालको पात्रोको ग्रह गणित रुजु गरी स्वीकृति दिनेलगायत काममा अप्ठ्यारो भइरहेको बताउँछन् । यसले समितिको दैनिक काममा समस्या नभए पनि २०८३ सालको पात्रो रुजु गरी स्वीकृति दिने प्रक्रियामा समस्या भएको उनले सुनाए ।

छनोट कार्यविधिमा मन्त्रालयका प्रशासन तथा योजना महाशाखा हेर्ने सहसचिव संयोजक रहने व्यवस्था गरिएको छ । जसमा मन्त्रालयबाट नियुक्त एक जना विज्ञ सदस्य र मन्त्रालयको प्रशासन शाखाका उपसचिव सदस्यसचिव रहने व्यवस्था छ ।

संस्कृति संरक्षण अभियानी प्रकाश रायमाझी मन्त्रालयले पर्यटन र नागरिक उड्डयनको विषयलाई प्राथमिकता दिए पनि सांस्कृतिक क्षेत्रलाई बेवास्ता गर्दा यस्तो समस्या हुने गरेको बताउँछन् ।

समितिको गठन आदेश २०७७ अनुसार कार्यकारी निर्देशक नभएका बेला मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई जिम्मेवारी दिन सक्ने व्यवस्था छ ।

मन्त्रालयले त्यो जिम्मेवारी अहिले उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई दिएको छ । प्रशासनिक काम उपाध्यायबाट भए पनि पात्रो प्रकाशनसम्बन्धी काम गर्न ज्योतिषशास्त्रको ज्ञान भएको व्यक्ति चाहिने भएकाले समस्या भएको तोयनाथ पन्तको पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए ।

विगत वर्षमा समितिमा पञ्चाङ्गकारले पेस गरेका पात्रो गणनासम्बन्धी गणित पुस मसान्तसम्म रुजु गरी प्रकाशनका लागि स्वीकृति दिने गरिएकामा यस वर्ष मङ्सिर तेस्रो साता बितिसक्दा पनि काम अघि बढेको छैन ।

विगतमा माघ पहिलो सातासम्म पात्रो बजारमा आइसक्थे । समितिलाई पात्रो, भित्तेपात्रो, गोजीपात्रोको गणित हेरी प्रकाशनको अनुमति दिने काम गठन आदेशले तोकेको छ ।

यस्तै, विवाह, व्रतबन्धजस्ता सामाजिक र सांस्कृतिक परम्परा तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित तिथि, मुहूर्त र साइतको निर्णय गर्ने जिम्मेवारी पनि समितिलाई नै तोकिएको छ । सूर्यग्रहण, चन्द्रग्रहण, समयशुद्धिलगायत अन्य ग्रह नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने काम पनि समितिले नै गर्ने गर्छ ।

नेपाल सरकारलाई विभिन्न चाडपर्व, तिथि, मिति, मुहूर्त, साइत आदिको विवरण उपलब्ध गराउने, विभिन्न धर्म, संस्कृति, परम्परा र सम्प्रदायका चाडपर्वसम्बन्धी विवरण सङ्कलन गर्ने जिम्मेवारी पनि समितिकै हो ।

यसैगरी ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्डसम्बन्धी विषयमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने, परामर्श सेवा प्रदान गर्ने काम पनि समितिले गर्दै आएको छ ।

विसं २०८३ को पात्रो स्वीकृतिको काममा ढिलाइ हुँदा विभिन्न स्थानबाट नयाँ वर्षको साइत र मुहूर्तसँग सम्बन्धित प्रश्न गर्नेको सङ्ख्या बढिरहेको पञ्चाङ्गकार, पण्डित, पुरोहितहरूको भनाइ छ ।

विशेषगरी विदेशमा रहेकाहरूले बिदा मिलाएर पुख्र्यौली थलोमा आई विवाह, व्रतबन्ध आदि कर्म गरेर फर्कन यस्ता मुहूर्त एवं साइत केही महिनाअघिदेखि नै खोज्ने गरेको पण्डित ढुण्डीराज न्यौपाने बताउँछन् ।

स्वदेशमै हुने शहरी क्षेत्रका मानिसले पनि महिनौँअघिदेखि साइत खोज्ने गरेका छन् । विवाह, व्रतबन्धजस्ता कर्म गर्न घरमा स्थान अभाव हुने भएकाले पार्टी प्यालेसमा ठाउँ लिनुपर्दा पहिले नै साइत खोज्ने क्रम शहरी इलाकामा बढ्दै गएको हो ।

Source: onlinekhabar

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल

काठमाडौँ । २९ असोज २०८१, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ ।

समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्चाङ्गमा पूर्णिमा व्रत असोज ३० गते बुधबार लेखिएको छ । अन्य पञ्चाङ्गमा भने कात्तिक १ गते बिहीबार लेखिएको छ । यसले पञ्चाङ्ग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो । पात्रोका प्रयोगकर्ता मच्छेन्द्र सापकोटा आश्विन शुक्ल पूर्णिमाको व्रतका बारेमा फरकफरक दिन उल्लेख भएर कुन दिन मनाउने भनी भ्रम भएको बताउँछन् ।

तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्त भूलबस पूर्णिमा व्रत असोज ३० गते हुन गएकामा सच्याएर अर्को पञ्चाङ्ग निकालिएको बताउँछन् । पहिले छापिएको पञ्चाङ्ग बजारबाट प्रयोगकर्ता कहाँ पुगेर प्रयोगकर्तामा अन्योल भएको हुनसक्ने उनको दावी छ । अशुद्ध पात्रोका विषयमा केही जानकारी नपाएको प्रयोगकर्ता बताउँछन् ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई पूर्णिमा व्रतलाई साँझमा पूर्णिमा तिथि हुनुपर्ने भएकाले कात्तिक १ गते हुनेगरी निर्णय गरिएको बताउँछन् । कोजाग्रत पूर्णिमाका लागि भने मध्यरातमा पूर्णिमा चाहिने भएकाले असोज ३० गते हुनेगरी निर्णय गरिएको पनि उनले सुनाए । अखिल बलि पूर्ति भने असोज ३० गते बुधबार नै परेको समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

From: रासस

सर्वधर्म सम्प्रदायको पात्रो लेख्ने पञ्चाङ्ग निर्णायक समितिमा एकल जातीय वर्चस्व

काठमाडौं । शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले सोमबार सार्वजनिक बिदा दिएको विषय खुबै विवादित बन्यो । सामाजिक सञ्जालदेखि शेर्पा समुदायले पनि सरकारको टिप्पणी गरिरहेका छन् ।

सार्वजनिक बिदाको निर्णय गर्ने सरकार एवं गृह मन्त्रालयले भने पहिलेदेखि नै सोनाम ल्होसार र ग्याल्पो ल्होसार गरेर दुबै दिन सार्वजनिक बिदा दिने गरिएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको जनाएको छ ।

गत माघ २७ गतेको दिन शेर्पा समुदायले सोनाम ल्होसार मनाएको र त्यसै दिन ग्याल्पो ल्होसार पनि मनाइसकिएकाले सरकारले अहिले बिदा दिएकोमा सम्बन्धित समुदाय नै छक्क परेको छ ।

विभिन्न समुदायले मनाउने चाड पर्वमध्ये कुन दिन बिदा दिने वा नदिने भन्ने विषयमा सरकारलाई सुझाव दिन नेपाल पञ्चाङ्ग निर्णय समिति रहेको छ । उक्त समितिले अध्ययन, विश्लेषण तथा सम्बन्धित समुदायका विज्ञसँग सुझाव सल्लाह लिएर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गर्छ । तर, सम्बन्धित समुदायसँग सुझाव सल्लाह नै नलिइ समितिले बिदा दिँदै आएकाले समुदाय विशेषले मनाउने पर्व तथा बिदा बेला बेलामा विवादमा पर्दै आएको छ ।

मुख्यगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिमा खस-आर्यको एकल वर्चस्व भएका कारण पनि अन्य समुदायगत पर्व एवं बिदा विवादमा पर्दै आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको वर्तमान समिति (२०७८-२०८२) को अध्यक्षमा ब्राह्मण समुदाय अर्थात खस-आर्यको प्रतिनिधित्व गर्ने प्राध्यापक श्रीकृष्ण अधिकारी छन् । बाँकी सात जना सदस्य पनि खस-आर्य समुदायकै छन् ।

समितिको सदस्यमा आचार्य लक्ष्मण पन्थी, प्राध्यापक डा.देवमणि भट्टराई, डा.वासुदेव कोइराला, उपप्राध्यापक तनुजा दाहाल, पदेन सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखा प्रमुख शिवराज रेग्मी पनि खस-आर्य समुदायकै छन् । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल पनि खस-आर्य समुदायकै छन् ।

पञ्चाङ्ग निर्णायक समितिको वर्तमान समितिमात्रै नभएर यसअघिको समितिमा पनि सबै समुदाय र वर्गको सहभागिता थिएन । यसअघिको समितिमा दुई सदस्य आदिवासी जनजाति समुदायका थिए ।

प्रा.डा.रामचन्द्र गौतम समिति अध्यक्ष हुँदा सदस्य प्रा.डा.दीर्घराज घिमिरे, प्रा.डा.साम्बरराज आचार्य, प्रा.दिनेशराज पन्त, डा.खिलानाथ बस्ताकोटी, दैवज्ञ कृतिमदन जोशी गरेर पाँच जना सदस्य खस आर्यबाटै प्रतिनिधित्व गर्थे भने प्रा.जगमान गुरुङ र विद्याकुमारी बज्राचार्य भने आदिवासी जनजाति समुदायका थिए ।

अहिलेको समिति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट गठन गरेका थिए । त्यसअघि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारको पालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले प्रा.डा.रामचन्द्र गौतमको अध्यक्षताको समिति गठन गरेका थिए ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम अहिलेको ग्याल्पो ल्होसारको बिदाबारेको विवाद राजनीतिक भएको बताए । विभिन्न समुदायमा पनि फरक फरक समूह तथा गुट भएका कारण समुदायले मनाउने पर्व तथा बिदा विवादित हुने गरेको उनको तर्क छ ।

उनले नेपाल प्रेससँग भने, ‘यो समुदाय लक्षित बिदाको विषय विवादित हुनुको कारण राजनीतिक पनि हो । एकथरीलाई मनपर्दैन र एकथरीलाई मनपर्छ । मन नपर्नेले विरोध गर्छन् र मनपर्नेले बिदा दिनुपर्छ भन्छन् ।’

पूर्वअध्यक्ष गौतमले सम्बन्धित समुदायकै सुझावका आधारमा समितिले सरकारलाई बिदा सिफारिस गर्ने भएकाले यसमा समिति र सरकार दोषी नभएको बताए ।

उनले भने, ‘सम्बन्धित समुदायले पञ्चाङ्ग निर्णायक समितिलाई समुदायले मनाउने पर्वको बिदा लेखेर पठाउने हो । त्यसलाई नै समितिले सरकारलाई सार्वजनिक बिदाको क्यालेण्डरमा राख्न सिफारिस गर्ने हो । जस्तो ल्होसार तीनचार वटै मनाइन्छ । जस्तो उभौली र उधौली दुईतीन वटै मनाइन्छ । यो धार्मिक कुरा पनि त होइन नि ! धार्मिक र ज्योतिषको कुरा भए पो हामीले टुंगो लगाउने हो । समुदायगत कुरा त हामीले टुंगो लगाउने विषय होइन ।’

समितिमा सम्बन्धित समुदायको प्रतिनिधित्व नहुनुले पनि यस्तो समस्या भएको भन्ने छ नि भन्ने प्रश्नमा पूर्वअध्यक्ष गौतमले यसमा सरकार नै जिम्मेवार रहेको बताए ।

उनले भने, ‘समितिमा सबै समुदाय र वर्गको प्रतिनिधित्व हुनु एकदमै राम्रो हो । यसअघिको समितिमा केही प्रतिनिधित्व भए पनि अहिले भने छैन । यसले पनि प्रभाव केही न केही प्रभाव त पार्छ । समितिको अध्यक्ष र सदस्य नियुक्त गर्ने भनेको सरकारले हो । सरकारले नियुक्ति गर्दा समावेशी बनाएर नियुक्ति गर्नुपर्ने हो । सबै जाति धर्म, समुदायको प्रतिनिधित्व गर्नुपर्ने हो । त्यसमा पनि राजनीतिक भागबन्डा र राजनीतिक प्रभावमा परेर आआफ्ना मान्छे राख्ने गरिन्छ ।’

– केशव भुल २०८० फागुन २८ गते १७:४०
www.nepalpress.com

पात्रो कसरी विकास गरिन्दो रहेछ हेरौ…

केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गरिने

काठमाडौँ, १८ फागुन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ ।

सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । फागुन १२ र १३ गते भारतको उत्तर प्रदेशस्थित लखनउमा भएको ज्योतिषसम्बन्धी गोष्ठीमा पनि केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गर्ने विषयमा सहमति भएको पनि उहाँले सुनाउनुभयो ।

भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयले आयोजना गरेको गोष्ठीमा भाग लिन अध्यक्ष अधिकारी, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रमुख प्रा डा धनेश्वर नेपाल र समितिका सदस्य एवं दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष लक्ष्मण पन्थी जानुभएको थियो । गोष्ठीमा चैत्र शुक्ल प्रतिपदा अर्थात् संवत्सर आरम्भको दिन ज्योतिष दिवस मनाउने सहमतिसमेत गरेको छ । यो दिवस भारत, नेपाललगायत देशमा मनाइने जनाइएको छ । गोष्ठीमा वक्ताले ‘सूर्य सिद्धान्तीय पञ्चाङ्ग र नाभिकीय पञ्चाङ्गको तुलना’ विषयमा विचार प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा प्रस्तुत भएका विषयमा समितिका सदस्यलाई पनि जानकारी गराएर विसं २०८३ देखिकै पात्रो केतकी ग्रह गणितका आधारमा गर्ने गरी छलफल अघि बढाइएको जानकारी पनि अध्यक्ष अधिकारीले गराउनुभयो । यसका लागि यसै वर्षदेखि पञ्चाङ्गकारहरुसँग छलफल र अभ्यास सुरु गरिने समितिले जनाएको छ ।

किरात नयाँ बर्ष ३८०३ (सन् २०२४) को शुभ कामना

शाह, मल्ल, लिच्छवी अघिका किरात शासक प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको दिनलाई गणना शुरु गरिएको यलम्बर संवत अर्थात येले तङ्बे, येले दोङ, येले थोचे ३८०३ (सन् २०२४) को मंगलमय शुभ कामना ।

यलम्बर फाउन्डेशन (किरातोलोजी रिसर्च सेन्टर)
www.yalambarfoundation.org.np

किरात नयाँ बर्ष ३८०२ (सन् २०२३) को शुभ कामना

शाह, मल्ल, लिच्छवी अघिका किरात शासक प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको दिनलाई गणना शुरु गरिएको यलम्बर संवत अर्थात येले तङ्बे, येले दोङ, येले थोचे ३८०२ (सन् २०२३) को मंगलमय शुभ कामना ।

  • यलम्बर फाउन्डेशन (किरातोलोजी रिसर्च सेन्टर)
  • www.yalambarfoundation.org.np