स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ, ६ फागुन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ ।

समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने बताउनुभयो । “समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ”, कार्यकारी निर्देशक पन्थीले भन्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिइ पात्रो तथा क्यालेण्डर प्रकाशन गरे रु १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिइ पात्रो वा क्यालेण्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ ।

कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताउनुभयो । बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ ।

समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरको स्वीकृतिका लागि रु दुई हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेण्डरको स्वीकृतिका लागि रु पाँच हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेण्डर स्वीकृतिमा रु १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौँ, २१ माघः विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो ।

वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।

छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने निर्णय समितिले गरेको छ । प्रकाशनका लागि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग गरी १८ वटा पुराना पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको समितिले जनाएको छ ।

विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएकामा २०८२ मा चार नयाँ पात्रोले प्रकाशनको स्वीकृति पाएका थिए । यस वर्षदेखि स्वीकृति दिइएका चार पात्रोलाई दुई वर्षे परीक्षण काल राखेर स्वीकृति दिइएको उहाँले बताउनुभयो । विसं २०८३ देखि प्रकाशन हुने गरी नयाँ अर्को एउटा पात्रोले पनि स्वीकृति मागेको छ ।

नयाँ पात्रोलाई भने स्वीकृति दिन बाँकी रहेको जनाइएको छ । विगत वर्षमा माघ तेस्रो साता नै अर्को वर्षको पात्रो बजारमा आउने गरेको थियो । यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेका कारण पात्रो प्रकाशनका लागि स्वीकृति दिन पनि करिब १० दिन ढिलाइ भएको हो ।

मन्त्रालय अन्तर्गतको समितिलाई पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम गठन आदेश २०७७ ले दिएको छ । सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो । धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने गरी समितिको छुट्टै विधेयक नै मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ । तर, यो माग अझै पूरा हुन सकेको छैन ।
–––

किरात ये़ले़ संवत् ३८०५ को हार्दिक शुभकामना !

किरात ये़ले़ संवत् ३८०५ को हार्दिक शुभकामना !

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू !

गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ । हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात ये़ले़ संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

यही किरात ये़ले़ संवत्का सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात ये़ले़ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२—१३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा.जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान् विदुषीहरूको तथ्यगत सम्मतिमा किरात ये़ले़ संवत्को कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात ये़ले़ संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समितिलाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।

श्रदेय प्रवुद्ध किरातजन !
किरात जनलोकमा प्रचलित किरात ये़ले़ संवत्लाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात ये़ले़ संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हो । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ ।

यस गहनतम विषयलाई गम्भीरतापूर्वक मनन गर्नुहुने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येÞलेÞ संवत्को नयाँ वर्ष ३८०५ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येÞलेÞ संवत्को प्रामाणिक काल गणना ३८०५ (सन् २०२६) व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।

शङ्कर साम्पाङ
महासचिव
यलम्बर फाउन्डेसन (किरातोलोजी सिरर्च सेन्टर)

नेपाल संवत् नेपाल र नेपालीको एक मात्र मौलिक संवत्ः प्रदेश प्रमुख देवकोटा

भक्तपुर, १५ पुसः बागमती प्रदेशका प्रमुख दीपकप्रकाश देवकोटाले नेपाल संवत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक संवत भएकाले यसलाई सबैले आत्मासात गरेर जानु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विभूति शखधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको नेपाल संवत र शंखधर साख्वाः पुस्तक विमोचन कार्यक्रममा उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत दुवै राष्ट्रका गौरव भएकाले यसलाई लिपिबद्ध गर्दै जानु आवश्यक रहेको बताउनुभएको हो ।

ओझेलमा परेको ऐतिहासिक व्यक्तित्व साख्वाः र नेपाल संवत्लाई उजागर गर्दै संरक्षण गर्न निरन्तर लागि रहनु गौरवको विषय भएको बताउँदै उहाँले यसमा मध्यपुरथिमिको नागरिक समाज, अभियन्ताको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले मस्तिष्क र ह्दयको संगम रहेको दुर्लभ मावनका रुपमा साख्वालाई लिन सकिने उल्लेख गर्दै कुनै पनि राजनीतिक भूमिकामा आबद्ध नरहेर पनि समाजवाद, सर्वहारावादका क्रान्तिका नायकका रुपमा आफूलाई उभ्याउँदै उहाँले गरिब किसानको ऋण मोचन गरी सर्वसाधारणको पीडामा मल्हम बन्नु भएको बताउनुभयो ।

सु–संस्कृति र सुसाशन युक्त समाज निर्माणको प्ररेणाका रुपमा साख्वालाई लिन सकिने बताउँदै उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपाल संवत्लाई नेवारी संवतको रुपमा बुझ्नु इतिहासको अल्पज्ञान हो, नेपाल संवत् सबै नेपाल र नेपालीको मौलिक संवत् हो, सभ्य, सुरंस्कृत र सम्बृद्ध देश निर्माणमा साख्वाबाट धेरै सिक्नु जरुरी छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भाषा, ंकृति, कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा खाख्वाःको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । मन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई सरकारी कामकाजमा ल्याउन र सरकारी कार्यालयमा प्रयोग गर्न ऐन बनाएर सुरुवात गरेका छौँ । सरकारी कामकाजमा प्रयोगमा ल्याइसकेका छौँ ।”

हरेक जातजातिका भाषा, कला, संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको बताउँदै उहाँले पुस्तकालय सञ्चालन र अन्य शीर्षकमा प्रदेश सरकारले बजेटका विनियोजन गरेको उल्लेख गर्नुभयो । उपत्यकामा मात्र नभई विभिन्न जिल्लामा बसाइ सरेर गएका नेवारको भााषा, कला, संकृतिको क्षेत्रमा संरक्षण र विकासमा लाग्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल भाषा एकेडमीका चान्स्लर मल्ल के. सुन्दर, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भाषाविद् सुरेश मानन्धर, प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठलगायतले शंखधर साख्वाले पुर्याएको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ज्ञानराम श्रेष्ठले नेपाल संवत् र शंखधर साख्वाको योगदानलाई देशव्यापी फैलाउन प्रकाशित गरिएको पुस्तकको प्रकाशन गरेको बताउनुभयो ।

‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

काठमाडौँ, १३ पुसः नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ ।

विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले चाडपर्व र संस्कृति अन्य देशसँग पनि एकापसमा सम्बन्धित रहेकाले निर्णय पनि संयुक्त रूपमा गरिनुपर्ने बताउनुभएको हो । यसका लागि अन्य देशका ज्योतिषविद् पनि बोलाएर सम्मेलन गरी निर्णयमा पुग्नुपर्ने सुझाव समितिले पेस गरेको छ ।

नेपाल, भारतलगायत देशका ज्योतिषीको सम्मेलनले संयुक्त रूपमा निर्णय नगरिए भारतका भक्तजन अघिल्लो दिन महाशिवरात्रि भनेर पशुपतिनाथमा आउने र नेपालले अर्कै दिनमा मनाउने अवस्था आउन सक्नेतर्फ पनि उहाँले ज्योतिषीहरूको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तो अवस्था जनकपुरमा मनाइने विवाह पञ्चमीमा हुनसक्ने पनि अध्यक्ष ढकालको भनाइ थियो ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले २०८३ सालको पात्रो २०८२ सालकै जस्तोगरी प्रकाशन गरिने र २०८४ सालमा पात्रो प्रकाशन गर्नुअघि विस्तृत छलफल गरेर गरिने बताउनुभयो । कार्यक्रममा विश्व ज्योतिष महासङ्घका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले २०८४ सालको पात्रो आकाशमा जुन अवस्थामा ग्रहहरू छन्, त्यही स्वरुप पात्रोमा झल्कने गरी प्रकाशन गरिनुपर्ने माग गर्नुभएको थियो ।

कार्यक्रममा समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, महासङ्घ नेपाल समितिका अध्यक्ष देवराज गौतमलगायत ज्योतिषीले पात्रो सुधार गरिनुपर्ने, नेपालको ज्योतिष एवं धर्मशास्त्रको क्षेत्रमा पनि सुधार गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

पञ्चाङ्ग निर्णायक समितिको निर्देशक नियुक्त नहुँदा रोकियो पात्रोलाई स्वीकृति दिने प्रक्रिया

२२ मंसिर २०८२, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच महिनादेखि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक नियुक्त नगर्दा विसं २०८३ को पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने प्रक्रिया अघि बढ्न सकेको छैन ।

समिति गठन आदेश, २०७७ अनुसार चार वर्षअघि नियुक्त भएका समितिका पदाधिकारीसहित कार्यकारी निर्देशकको कार्यकाल गत असार २२ गते सकिएको थियो ।

समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।

मन्त्रालयले गत साउन २३ गते आवेदन माग गरेर प्रक्रिया सुरु गरे पनि अझै टुङ्गिएको छैन । कार्यकारी निर्देशकका लागि जारी सातदिने सूचनाअनुसार तीन जनाको निवेदन परेको थियो ।

छनोटको प्रक्रियाका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत साउन २० गते मन्त्रिस्तरीय निर्णय गरी ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनोट कार्यविधि, २०८२’ स्वीकृत गरेका थिए ।

त्यसैताका मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिसम्बन्धी व्यवस्थालाई वस्तुनिष्ठ, निष्पक्ष र पारदर्शी बनाउन मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ७ बमोजिम कार्यविधि स्वीकृत गरिएको थियो । कार्यविधि स्वीकृत भएको चार महिना पूरा हुँदा पनि समितिको कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल कार्यकारी निर्देशक नियुक्ति नहुँदा २०८३ सालको पात्रोको ग्रह गणित रुजु गरी स्वीकृति दिनेलगायत काममा अप्ठ्यारो भइरहेको बताउँछन् । यसले समितिको दैनिक काममा समस्या नभए पनि २०८३ सालको पात्रो रुजु गरी स्वीकृति दिने प्रक्रियामा समस्या भएको उनले सुनाए ।

छनोट कार्यविधिमा मन्त्रालयका प्रशासन तथा योजना महाशाखा हेर्ने सहसचिव संयोजक रहने व्यवस्था गरिएको छ । जसमा मन्त्रालयबाट नियुक्त एक जना विज्ञ सदस्य र मन्त्रालयको प्रशासन शाखाका उपसचिव सदस्यसचिव रहने व्यवस्था छ ।

संस्कृति संरक्षण अभियानी प्रकाश रायमाझी मन्त्रालयले पर्यटन र नागरिक उड्डयनको विषयलाई प्राथमिकता दिए पनि सांस्कृतिक क्षेत्रलाई बेवास्ता गर्दा यस्तो समस्या हुने गरेको बताउँछन् ।

समितिको गठन आदेश २०७७ अनुसार कार्यकारी निर्देशक नभएका बेला मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई जिम्मेवारी दिन सक्ने व्यवस्था छ ।

मन्त्रालयले त्यो जिम्मेवारी अहिले उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई दिएको छ । प्रशासनिक काम उपाध्यायबाट भए पनि पात्रो प्रकाशनसम्बन्धी काम गर्न ज्योतिषशास्त्रको ज्ञान भएको व्यक्ति चाहिने भएकाले समस्या भएको तोयनाथ पन्तको पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए ।

विगत वर्षमा समितिमा पञ्चाङ्गकारले पेस गरेका पात्रो गणनासम्बन्धी गणित पुस मसान्तसम्म रुजु गरी प्रकाशनका लागि स्वीकृति दिने गरिएकामा यस वर्ष मङ्सिर तेस्रो साता बितिसक्दा पनि काम अघि बढेको छैन ।

विगतमा माघ पहिलो सातासम्म पात्रो बजारमा आइसक्थे । समितिलाई पात्रो, भित्तेपात्रो, गोजीपात्रोको गणित हेरी प्रकाशनको अनुमति दिने काम गठन आदेशले तोकेको छ ।

यस्तै, विवाह, व्रतबन्धजस्ता सामाजिक र सांस्कृतिक परम्परा तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित तिथि, मुहूर्त र साइतको निर्णय गर्ने जिम्मेवारी पनि समितिलाई नै तोकिएको छ । सूर्यग्रहण, चन्द्रग्रहण, समयशुद्धिलगायत अन्य ग्रह नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने काम पनि समितिले नै गर्ने गर्छ ।

नेपाल सरकारलाई विभिन्न चाडपर्व, तिथि, मिति, मुहूर्त, साइत आदिको विवरण उपलब्ध गराउने, विभिन्न धर्म, संस्कृति, परम्परा र सम्प्रदायका चाडपर्वसम्बन्धी विवरण सङ्कलन गर्ने जिम्मेवारी पनि समितिकै हो ।

यसैगरी ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्डसम्बन्धी विषयमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने, परामर्श सेवा प्रदान गर्ने काम पनि समितिले गर्दै आएको छ ।

विसं २०८३ को पात्रो स्वीकृतिको काममा ढिलाइ हुँदा विभिन्न स्थानबाट नयाँ वर्षको साइत र मुहूर्तसँग सम्बन्धित प्रश्न गर्नेको सङ्ख्या बढिरहेको पञ्चाङ्गकार, पण्डित, पुरोहितहरूको भनाइ छ ।

विशेषगरी विदेशमा रहेकाहरूले बिदा मिलाएर पुख्र्यौली थलोमा आई विवाह, व्रतबन्ध आदि कर्म गरेर फर्कन यस्ता मुहूर्त एवं साइत केही महिनाअघिदेखि नै खोज्ने गरेको पण्डित ढुण्डीराज न्यौपाने बताउँछन् ।

स्वदेशमै हुने शहरी क्षेत्रका मानिसले पनि महिनौँअघिदेखि साइत खोज्ने गरेका छन् । विवाह, व्रतबन्धजस्ता कर्म गर्न घरमा स्थान अभाव हुने भएकाले पार्टी प्यालेसमा ठाउँ लिनुपर्दा पहिले नै साइत खोज्ने क्रम शहरी इलाकामा बढ्दै गएको हो ।

Source: onlinekhabar

विक्रमी कि ग्रेगोरियन, अब कुन क्यालेन्डर ? – वसन्त थापा

हरेक वर्ष जब वैशाख १ गतेको दिन नजिकिन्छ वा जनवरी महिनाको १ तारेख आउन लाग्छ, मैले सडकछेउ उभिएर बाटो हिँड्ने बटुवाहरूसित उभिई–उभिई अन्तर्वार्ता लिने गरेको समय मलाई याद आउँछ । त्यसताका म मदनमणि दीक्षितद्वारा सम्पादित ‘समीक्षा’ साप्ताहिकमा कार्यरत थिएँ, विशेष संवाददाताका रूपमा ।

विशेषगरी उनका पुत्र विनोद दीक्षित र मेरो मिलोमतोमा सुरु गरेका थियौं ‘सडक बोल्छ’ भन्ने एउटा नयाँ स्तम्भ । त्यस स्तम्भको मकसद थियो सडकमा उभिएर जनसामान्यसित समसामयिक विषयमा छोटो प्रश्न गर्ने र उनीहरूको छोटो जवाफ लिने ।

त्यसप्रकार सार्वजनिक सरोकारको कुनै पनि विषयमा जनमत प्राप्त हुन सक्छ भन्ने ठानेर थालिएको थियो त्यो स्तम्भ । पत्रिकाको तेस्रो पृष्ठको ठाडो आधा पाना ठाउँ छुट्याइएको थियो त्यसका लागि । एघार–बाह्र जना मानिसले दिएको उत्तरले त्यसमा ठाउँ पाउँथ्यो । उत्तरदाताको नाम, उमेर, पेसा र ठेगाना त्यसमा खुलाइएको हुन्थ्यो । पाठकहरू माझ छिट्टै त्यो स्तम्भ लोकप्रिय भयो । मलाई राम्ररी याद छ, जनवरी १९७५ मा मैले एउटा प्रश्न गरेको थिएँ ‘अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको ग्रेगोरियन क्यालेन्डर नै हामीले पनि व्यवहारमा अंगिकार गरे कसो होला’ भनेर । सबैको उत्तर एकनासको थिएन, तर धेरैले चाहिँ ‘राम्रै हुन्छ, समयअनुसार चल्नुपर्छ’ भन्ने जवाफ दिएका थिए । प्रश्नमा सन्निहित अभिप्राय सरकारी तवरमै ईश्वी संवत् चलाउँदा कसो होला भन्ने थियो । सन्दर्भ के थियो भने सन् १९७५ लाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय नारी वर्ष’ घोषित गरेको थियो र एक सदस्य राष्ट्रका हैसियतले नेपालले पनि त्यस वर्षलाई अनेक कार्यक्रम गरेर मनाउने भएको थियो । अन्तर्राष्ट्रिय तवरमा मान्ने हो भने राष्ट्रिय तवरमै त्यस संवत्लाई किन नमान्ने भन्ने त्यस प्रश्नको आशय थियो ।

मैले आजभन्दा पचास वर्षअघि जनतामाझ सडकमा र मिडियामा उठाएको प्रश्न आज पनि ज्युँका त्युँ छ ।

विक्रम संवत्लाई नेपालको आफ्नै संवत् हो भनिँदै आएको छ र हामीले यसलाई आफ्नै मान्दै आएका पनि छौं । सरकारी कामकाजमा यसै संवत्को प्रयोग हुँदै आएको छ । विद्वान् हर्षनाथ भट्टराईका अनुसार, (२९ चैत २०५९, गोरखापत्र) श्री ३ चन्द्रशमशेरले संवत् १९७० देखि यसलाई सरकारी कामकाजमा चलाएका हुन् । त्यसो हो भने अहिले एक सय एघार वर्ष भयो विक्रम संवत्ले नेपालमा सरकारी पात्रोको मान्यता पाएको । त्यसअघि नेपालमा शक संवत् र नेपाल संवत् प्रचलनमा रहेको मानिन्छ । अझ अगाडि प्राचीनकालदेखि कलिगत संवत्, बुद्ध संवत्, लिच्छवि संवत्, मानदेव संवत् आदि चलेको पनि विद्वान्हरू बताउँछन् ।

विक्रम संवत्को प्रचलन नेपालमा कहिलेदेखि र के कारणले सुरु भएको भन्नेबारे चाहिँ विद्वान्हरूको एकमत पाइँदैन । ठ्याक्कै तोकेर कसैले भनेको पनि देखिँदैन । विक्रमको भन्दा शक संवत्को चल्तीफिर्ती केही बढ्ता भएको समयमा विक्रम संवत्लाई सरकारी पात्रो तोक्न चन्द्रशमशेरलाई के कारणले अभिप्रेरित गर्‍यो ? त्यो पनि प्रस्ट छैन । कतै पढेको थिएँ, शक संवत् पछ्याउनाले प्रत्येक तीन वर्षमा कर्मचारीहरूलाई तेह्र महिनाको तलब दिनुपरेको हुनाले मितव्ययिता अपनाउनलाई उनले यो निर्णय गरेका थिए भन्ने ।

तर, यता आएर विक्रम संवत्लाई खाँट्टी हिन्दु संवत् भनेर दाबी गर्न थालिएको छ, खासगरी आजको हिन्दुत्वमय भारतमा । विक्रम संवत्भन्दा १३४ वर्ष कान्छो शक संवत् पनि भारतमै थालिएको हो, ईश्वीको दोस्रो शताब्दीका शासक कुशान वंशका कनिष्क सम्राट्द्वारा । तर, तिनलाई बाहिरिया ठानिने हुनाले एउटा बाहिरियाबाट थालिएको संवत्सरलाई त्यतिविघ्न आफ्नो ठान्दैनन् आजका भारतीय, जति विक्रम संवत्लाई । उनीहरूका अनुसार, विक्रम संवत् चाहिँ पक्का हिन्दु हो । किनभने विक्रम संवतसरको प्रारम्भकर्ता विक्रमादित्य आफैं उज्जैनका हिन्दु सम्राट् थिए । यो हिन्दु संवत् भएकै कारण एकताका हिन्दु राष्ट्र रहेको नेपालमा यो संवत् अध्यापि सरकारी तवरमै प्रचलनमा रहेको यो मत राख्नेहरूको दाबी छ ।

अहिलेको भारतको मध्यप्रदेशमा अवस्थित उज्जैन नामक ठाउँका सम्राट्द्वारा थालिएको संवतसर कसरी यति टाढा रहेको नेपाल राज्यमा लागू हुन गयो त्यो आफैंमा प्रश्न गरिनुपर्ने विषय हो । हुन त विक्रमादित्य नेपाल आएका थिए भन्नेदेखि लिएर उनी नेपालकै थिए, बत्तीस वटा पुतलीहरूबाट सज्जित उनको राजसिंहासन यहीं थियो, साँखुको बज्रयोगिनी मन्दिरमा रहेको धातुको बडेमाको शिर विक्रमादित्यकै हो भन्ने आख्यान पनि छन् । यस कथनलाई आख्यान नै मान्नुपर्छ किनभने विक्रमादित्यले नेपाल आएर नयाँ संवत् चलाएको मान्ने हो भने त्यो संवत् थालिएको समयमा नेपाल मण्डल किराँत वंशकै कुनै राजाबाट शासित भएको हुनुपर्छ ।

यसो त विक्रमादित्य कुनै ऐतिहासिक पात्र नभई लोकोक्तिबाट निर्मित पात्र हुन् भन्नेमा प्रायः सबै इतिहासकारहरू एकमत छन् । ईश्वीपूर्व सन्ताउन्न वर्षअघि विक्रम संवत् थालिँदा उज्जैनमा विक्रमादित्य नामका कुनै राजा नभएको मात्र होइन, प्राचीन भारतमै त्यस नामका कुनै राजा नभएको इतिहासकारहरू औंल्याउँछन् । विक्रमादित्य राजाको नाम नभएर प्रतापी राजालाई दिइने सम्मानजनक उपाधि हो भन्छन् इतिहासकारहरू, तर त्यो उपाधि धारण गर्ने कम्तीमा पनि चौध जना राजाहरू रहेका पनि बताउँछन् उनीहरू । चन्द्रगुप्त दोस्रो विक्रमादित्य कहलिन्थे र विक्रम संवत् चलाउने उनै हुन् भनिन्छ । अनि यो नयाँ संवत्को थालनी गर्ने सुझाव दिने खगोलशास्त्री वराहमिहिर थिए पनि भनिन्छ । तर, चन्द्रगुप्त दोस्रोको शासनकाल ईश्वीको तेस्रो–चौथो शताब्दी हो भने वराहमिहिरको समय छैटौं शताब्दी । अनि ईश्वीको नवौं शताब्दीभन्दा अघि प्रस्तर लगायतका कुनै लेखोटमा विक्रम संवत्को उल्लेख नपाइएको इतिहासकारहरूले औंल्याएका तथ्य पनि यहाँनेर ध्यानयोग्य छ ।

उसो भए को थिए त विक्रम संवत्का सुरुवातकर्ता ? आफ्नो पुस्तक ‘अर्ली इन्डिया– फ्रम द ओरिजिन्स टु ए डी १३००’ मा विक्रम संवत्का प्रवर्तक अजेस प्रथम हुन सक्ने भनेर लेखेकी छन् प्रख्यात भारतीय इतिहासविद् रोमिला थापरले । अनि नेपाली अन्वेषक शिवराज श्रेष्ठ मल्लले २२ साउन २०७८ को ‘नागरिक’ दैनिकमा ‘ई.पू. ५७ मा मालवा नरेश शकारी सतकर्णी ‘द्वितीय’ ले चलाएको तर त्यति प्रचलित भइनसकेको संवत्लाई चन्द्रगुप्त द्वितीयले भारत र नेपालमा समेत चलाएका’ भनी लेखेका छन् । को थिए त रोमिला थापरले उल्लेख गरेको अजेस ? यो आफैंमा अन्योलपूर्ण छ । त्यस्तै चार–पाँच सय वर्ष पछाडिका चन्द्रगुप्तलाई त्यसको सुरुवातकर्ता मान्नु पनि तर्कसम्मत देखिँदैन ।

जे होस्, यी अनेक अस्पष्टता र ऐतिहासिक विसंगतिका बाबजुद तथ्य के हो भने नेपालमा विक्रम संवत् आधिकारिक पात्रो हो, यसै हुनाले हामीले वैशाख १ गतेको दिनलाई नयाँ वर्ष भनेर मनाउँदै आएका छौं । नेपालबाहेक भारतको पञ्जाब र उत्तर भारत तथा पूर्वतर्फ ‍बंगाल, असम, त्रिपुरा आदि क्षेत्रमा पनि मोटामोटी यसै क्यालेन्डरअनुसार एक दिनको फरकमा नव वर्ष मनाउँछन् । पञ्जाबमा यसलाई वैशाखी पर्वका रूपमा र मुस्लिम बहुल बंगलादेशमा समेत ‘नवोवर्षो’ या ‘पोइला बोइशाख’ भनी मनाउँछन् राष्ट्रिय पर्वका रूपमा बिदासमेत दिएर । यद्यपि के कुरा रोचक छ भने शास्त्रीय हिसाबले विक्रम संवत्को प्रारम्भ चैत्र शुक्ल प्रतिपदाका दिन भएको मानिन्छ र यस साल त्यो तिथि अस्ति ३० मार्चका दिन परेको थियो । त्यसअनुसार, त्यसै दिनदेखि हामी २०८२ सालमा प्रवेश गरिसकेका छौं ।

अब यसै प्रसंगमा बोलीचालीमा हिजोआज ‘अंग्रेजी वर्ष’ भन्ने गरिएको र ईश्वी संवत् वा ख्रिष्टाब्द भनिने ग्रेगोरियन पात्रोको चर्चा सान्दर्भिक हुन आउँछ । इसाई धर्मका प्रवर्तक जिजस क्राइस्ट (ख्रिष्ट)को जन्मपश्चात् र जन्मपूर्वसित जोडिएको हुनाले यस संवत्लाई ख्रिष्टाब्द र अंग्रेजीमा ‘क्रिश्चियन एरा’ पनि भनिन्छ । जुलियस सिजरद्वारा लागू गरिएको मानिएकाले पहिले यसलाई जुलियन क्यालेन्डर भनिँदै आएकोमा पोप ग्रेगोरी तेह्रौंले परिमार्जित गरी सन् १५८२ देखि प्रचलनमा ल्याएदेखि यसले ‘ग्रेगोरियन क्यालेन्डर’ भन्ने नाम पाएको हो । यही क्यालेन्डर एक/दुई अपवादलाई छाडेर अचेल विश्वभरिका सबै मुलुकहरूमा प्रचलित छ । यद्यपि पुरानो जुलियन क्यालेन्डरलाई अझै पनि अर्थोडक्स क्रिश्चियनहरूले चलाउँदै आएका छन् । भनिरहन परोइन, भारतमा ब्रिटिसहरूकै कारण ग्रेगोरियन क्यालेन्डर व्यवहारमा लागू हुन गयो र ब्रिटिसकालमा मात्र होइन अहिले पनि यावत् सरकारी कामकाजमा यही संवत् प्रयोग हुँदै आएको छ ।

पूरै विश्वले अंगिकार गरेको हुनाले स्वभावतः अहिलेसम्मका विश्वघटना यही संवत्मा अभिलिखित हुँदै आएका छन्, चाहे ती घटना क्राइस्टको जन्मपछाडिका हुन् वा जन्मअगाडि घटित भएका हुन् । केही समय अगाडिसम्म यसलाई ‘क्रिश्चियन एरा’ (अंग्रेजीमा सीई) भन्ने गरिन्थ्यो र त्यसअनुसार ख्रिष्टको जन्मपछाडिको समयलाई इंगित गर्नु पर्दा ‘एन्नो डोमिनी’ (एडी) अनि ख्रिष्टको जन्मअगाडिको कालगणना गर्नुपर्दा ‘बिफोर क्राइस्ट’ (बीसी) भनिन्थ्यो । यसको सर्वव्यापकता र सर्वग्राह्यतालाई ख्याल गरेर होला, यता आएर ‘सीई’ लेखे पनि त्यसको अर्थ ‘कमन एरा’ (साझा संवत्) भनेर लगाउने गरिएको छ र सोहीबमोजिम ‘एडी’ लाई ‘कमन एरा’ अनि ‘बीसी’ को ठाउँमा ‘बिफोर कमन एरा’ (बीसीई) भन्ने चलन बसालिएको छ । यसलाई स्पष्टतः संवत्सरको प्रयोगलाई कुनै धार्मिक पन्थसित नजोडीकन त्यसबाट निरपेक्ष राख्ने प्रयास हो भनेर बुझ्न सकिन्छ । यसले यसको सर्वग्राह्यतालाई झनै फराकिलो बनाउँछ । अब कमन एरालाई ‘साझा संवत्’ भनेर पनि बुझ्नुपर्ने भएको छ ।

नेपालमा यी दुवै संवत्हरूको व्यावहारिक प्रयोग हेर्दा यो छ्यासमिस पाराको देखिन्छ । विक्रम संवत्ले आधिकारिकता प्राप्त गरेको हुनाले सबै सरकारी कामकाजमा र हरेक कार्यालय, अड्डा, अदालतमा यसै संवत्को प्रयोग हुने गर्छ । यद्यपि सरकारले यही संवत् चलाउने भनेर कुनै निर्णय गरेको भने देखिँदैन, केवल परम्पराका रूपमा चलिआएको छ यो चलन, चन्द्रशमशेरका पालादेखि । मौजुदा संविधान पनि यस विषयमा मौन छ । ‘यो संविधान फलानो मितिमा संविधानसभाबाट पारित भई जारी भएको’ भन्ने बोली संविधानमा परेको छैन । केवल राजपत्रमा प्रकाशित मिति भनी २०७२।०६।०३ को मिति प्रस्तावनाको सिरानमा दिइएको छ । उल्लिखित मिति विक्रमीय संवत् भनेर पनि किटिएको छैन । उता भारतको वर्तमान संविधानमा भने त्यो पारित र जारी भएको मितिलाई पहिले ‘२६ नोभेम्बर १९४९’ भनेर उल्लेख गरिएको छ, अनि प्रकोष्ठमा ‘मार्गशीर्ष शुक्ल सप्तमी संवत् दुई हज्जार छ विक्रमी’ (नेपालीमा गरिएको आधिकारिक अनुवादबाट) भनेर खुलाइएको छ । स्पष्टतः यस अर्थमा ख्रिष्टिय र विक्रमी दुवै संवत्लाई भारतीय संविधानले अंगिकार गरेको देखिन्छ । तर, अर्को रोचक पक्ष के छ भने संविधान जारी भएपश्चात् गठन गरिएको पञ्चाङ्ग सुधार समितिले सिफारिस गरेबमोजिम भारत सरकारले सन् १९५७ मा शक संवत्लाई आधिकारिक भनी घोषणा गरेको थियो । यति भएर पनि विक्रमी र शक दुवै संवत् दैनन्दिन र सरकारी प्रयोगमा शून्य बराबर भएको तथ्य फेरि बेग्लै छ । आजको भारतीय समाज र जनजीवन ग्रेगोरियन पात्रोमा पूरै लुटपुटिएको छ भन्न सकिन्छ ।

नेपालमा वैदेशिक सञ्चार गर्ने सिलसिलामा सरकारी कार्यालयहरूले पनि ग्रेगोरियन क्यालेन्डर अनुसारकै तारेख चलाउँछन्, जस्तो सरकारी नियममा कतै नलेखिएको भए पनि अंग्रेजी भाषामा लेखिएका चिठीपत्र वा दस्ताबेजहरू सरकारी कार्यालयहरूमा स्वीकार गरिन्छन्, तिनको नेपाली अनुवाद खोजिँदैन । वस्तु आयात–निर्यात गर्ने व्यापारिक संस्थादेखि बैंक, होटेल, एयरलाइन र जुनसुकै प्रकारले अन्तर्राष्ट्रिय आदानप्रदानमा संलग्न निजी वा सरकारी निकायहरूलाई ग्रेगोरियन पात्रोअनुसार नचली सुख छैन । मोबाइल फोन र इन्टरनेट सेवाले जति व्यापकता ग्रहण गर्दै जान्छ, त्यससँग त्यति नै अन्तर्राष्ट्रिय पात्रोको उपयोग पनि अनिवार्य बन्दै जान्छ । त्यसैले भन्न सकिन्छ, यसको प्रयोग बदलिँदो समय र परिस्थितिका कारण अन्यत्र झैं नेपालमा पनि दिनानुदिन बढ्दो छ ।

धेरै अध्येता, अनुसन्धाता, अध्यापक, विद्वान् र लेखकहरूले भने संवत्को प्रयोगबारे स्पष्ट अडान लिएको पाइँदैन । उनीहरूबाट ख्रिष्टिय संवत्को प्रयोग सराबरी भएको भेटिन्छ । तर, इतिहासवेत्ताहरूमाझ भने दुई वटा धार स्पष्टतः छुट्टिएको पाइन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यको जोड ख्रिष्टिय संवत्को प्रयोगमा देखिन्छ भने इतिहास संशोधन मण्डलसित जोडिएका महेशराज पन्त, दिनेशराज पन्त प्रभृत्ति विद्वान्हरू विक्रम संवत्को पक्षमा अडिग देखिन्छन् । इतिहासका घटना जुनसुकै संवत्मा दरिएका भए पनि तिनलाई विक्रमाब्दमै रूपान्तरित गर्ने प्रयास इतिहास संशोधन मण्डलका प्रवर्तकहरूको देखिन्छ । एक किसिमले यस प्रयासलाई राम्रै मान्नुपर्छ ।

बितेका असी–नब्बे वर्षभित्रका प्रमुख घटनाहरूलाई मेरै पुस्तासम्मकाले पनि नब्बे सालको भुइँचालो, सात सालको क्रान्ति, पन्ध्र सालको महानिर्वाचन, सत्र सालको काण्ड, छत्तीस सालको जनमत संग्रह, छयालीस सालको जनआन्दोलन आदि भनेर सम्झने गर्दछन् । तर, जब नेपाल सरहदबाहिरका घटनाक्रमको सन्दर्भ आउँछन् तब तिनलाई विक्रमाब्दसित एकाकार गर्न गाह्रो पर्छ । किनभने ती सबै घटनाक्रम ग्रेगोरियन पात्रोअनुसार दर्ज भएका हुन्छन् । भारत र पाकिस्तानको जन्म भनौं या बंगलादेशको अभ्युदय, चीनको क्रान्ति या रुसको अक्टोबर क्रान्ति या फ्रान्सेली क्रान्ति भनौं या पहिलो वा द्वितिय विश्व युद्ध, नेपोलियनको उदय या अलेक्जेन्डरको भारत आगमन यी सबै घटनाका समय ख्रिष्टाब्दमै उल्लिखित छन् । त्यसबाहेक, ईश्वीपूर्वको सन्दर्भ आउनेबित्तिकै फेरि ईश्वी संवत्कै सहारा लिनुपर्ने हुन्छ । विक्रम संवत्‍पूर्व भन्ने आधार उपलब्ध छैन । अनि सन्ताउन्न वर्षको फरक हुनाका कारण शताब्दीको कुरामा विक्रमाब्द र ख्रिष्टाब्दमा एक शताब्दीकै फरक पर्न जान्छ । जस्तो, पच्चीस वर्ष त भयो जम्मा ख्रिष्टाब्द एक्काइसौं शताब्दीमा प्रवेश गरेको । विक्रमाब्द त एकासी वर्षअघि नै एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेको थियो । ख्रिष्टाब्द उन्नाइस सय वर्षको लहरमै चलुञ्जेल समस्या कम थियो, अब ख्रिष्टाब्दले पनि दुई हजारको लङ टेकेपछि हरेक पटक विक्रमाब्द वा ख्रिष्टाब्द के हो त्यो किटान गर्नु अनिवार्य हुन जान्छ । यो वैषम्य नराखी विश्व इतिहास र पुराविद्याको अध्ययन/अनुशीलनको तादात्म्यका लागि पनि अन्तर्राष्ट्रिय तवरमा मानिएको संवत्सर अँगाल्नु आजको सन्दर्भमा व्यवहारसम्मत् देखिन आउँछ ।

भूगोलविद् र योजनाविद् भनेर कहलिएका विद्वान् डा. हर्क गुरुङको सान्निध्यमा रही केही काम गर्ने मौका यस पङ्क्तिकारले पाएको थियो । उच्च शिक्षा पटना र बेलायतको एडिनबरामा हासिल गरेका कारणले हो वा केले गर्दा हो चिठीपत्र वा सानोतिनो मेमो लेख्दा होस् उनको बानी थियो, जहिले पनि ख्रिष्टाब्दको तारेख लेख्ने । एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर मलेसियाको राजधानी क्वालालम्पुरमा उनी कार्यरत रहँदा उनले आफ्नै हातले लेखेका कैयन् फ्याक्सपत्र मैले पाएको छु, कहिले अंग्रेजीमा त कहिले पूरै नेपालीमा लेखिएका । त्यसबेला उनका दुईवटा किताब नेपालमा छाप्ने काममा मैले उनलाई सघाइरहेको थिएँ । त्यसैले पनि तारन्तरजसो उनको फ्याक्सपत्र आइरहन्थे । हरेक फ्याक्सपत्रमा उनीबाट नबिराई ख्रिष्टाब्दको तारेख लेखिएको हुन्थ्यो । भनिरहन परोइन, ख्रिष्टाब्दलाई दैनन्दिन

व्यवहारमा व्यवहृत गराउने कुराको प्रबल पक्षधर थिए डा. हर्क गुरुङ । लेखनसित सम्बन्धित अर्को आग्रह पनि थियो उनको । आलेख नेपालीमा भए पनि त्यसभित्र पर्ने अंकहरू सबै अंग्रेजीका लेख्थे उनी । (हुन त जसलाई हामी अंग्रेजी अंक भन्ने गर्छौं, तिनलाई वास्तवमा अरबिक अंक भनिन्छ, जसलाई पछि अंग्रेजी भाषाले टिप्यो । तर, सजिलोसित बुझ्नका लागि यहाँ अंग्रेजी अंक नै भनौं) । उनीद्वारा नेपाली भाषामा लिखित पुस्तकहरू ‘हिमाल किताब’ अन्तर्गत प्रकाशन गर्दा अंकको प्रयोगसम्बन्धी उनको आग्रहलाई स्विकार्दै अंग्रेजी अंकलाई नफेरीकन यथावत् राख्ने काम गरें मैले । हिन्दी भाषाका पुस्तक र पत्रपत्रिका पढेर हुर्केको मजस्तालाई त्यो अभ्यास अनौठो लागेन पनि । हिन्दीको लिपि देवनागरी भए पनि अंक भने अंग्रेजीकै प्रयोग भएको मैले देखिरहेको थिएँ ।

यो अभ्यास मलाई जँचेको पनि थियो । मलाई लागेको थियो, कुनै प्रकाशन गृहले सुरु गरेको हुँदो हो यो अभ्यास, जो पछि गएर व्यापक भयो होला । मेरो अड्कल गलत रहेको बोध मलाई हालसालै मात्रै भयो, मैले भारतको संविधान पल्टाएपछि । मेरो मनमा रहेको शंकाको गुत्थीलाई भारतीय संविधानमा परेको ‘भारतीय अंकको अन्तर्राष्ट्रिय रूप’ भन्ने वाक्यांशले सुल्झाइदियो । यसको अर्थ हो, देवनागरी लिपिमा लेखिने हिन्दीमा अंग्रेजी अंक प्रयोग गर्ने निर्देश संविधानले नै दिएको रहेछ अनि किन नगरून् उनीहरूले अंग्रेजी अंकको उपयोग ?

वास्तवमा ख्रिष्टाब्द वा ग्रेगोरियन क्यालेन्डर जस्तै अंग्रेजी मानिएको अंकको प्रयोग पनि लगभग विश्वव्यापी नै भइसकेको छ । जापानी, चिनियाँ, कोरियाली, अरबी, रुसी, थाई आदि अंग्रेजीइतर तथा बिल्कुल बेग्लै लिपि भएका भाषाका लेख्य रूपमा फुत्त–फुत्त अंग्रेजी अंक देखिनु आफैंमा रोचक छ । उनीहरूका आफ्नै भाषामा अंक नभएको त अवश्यै होवोइन होला । उनीहरूले अंग्रेजी अंकलाई कुनै खास समयदेखि जानाजान अँगालेको हुनुपर्छ, जसरी आफ्नो परम्परागत तिथिमिति रहेको पात्रो छँदाछँदै ग्रेगोरियन पात्रो अँगालेका छन् । आफ्नो परम्परागत पात्रोअनुसार सबैको आ–आफ्नै नयाँ वर्ष छ र त्यो मनाउँछन् पनि । तर, ३१ डिसेम्बरको राति जाग्राम बसेर १ तारेख जनवरीमा नयाँ वर्षको स्वागत पनि उत्तिकै तामझाम र हर्षबढाइँका साथ गर्छन् ।

यो वृत्तान्त कहिसकेपछि एक पटक फेरि यो पङ्क्तिकार ज्ञानी, बुद्धिमानी, विद्वत्जन तथा प्रबुद्ध पाठकवर्गसामु त्यही प्रश्न राख्ने धृष्टता गर्दछ, जुन प्रश्न उसले पचास वर्षअघि सडकमा उभिएर जनसामान्यलाई सोधेको थियो, ‘हामीले ग्रेगोरियन भनिने सर्वप्रचलित पात्रोलाई व्यवहारमा अवलम्बन गरे कसो होला ?’ यस संवत्लाई व्यवहारमा ल्याउनुको अर्थ साविकको विक्रम संवत्लाई प्रतिस्थापित वा परित्याग गर्नु किमार्थ होइन । विक्रमाब्दको भूमिका सांस्कृतिक र धार्मिक अनुष्ठानहरूको निर्धारणमा यस्तै रहनेछ, जसरी अहिले यहाँ रहेको छ र भारतका कैयन् प्रदेश र क्षेत्रहरूमा रहेको छ । अनि अर्को पूरक प्रश्न उठाउनु पनि यहाँ स्वाभाविक हुन जान्छ, ‘अंकको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रचलन तथा अभ्यासको अनुसरण गर्नु कसो होला ?’

– प्रकाशित : चैत्र ३०, २०८१
Sources: ekantipue.com

चैत्र शुक्ल प्रतिपदाः सिद्धार्थी नामक संवत्सर सुरु

काठमाडौँ, १७ चैत २०८१ । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुन्छ । आज बिहानदेखि ‘सिद्धार्थी’ नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सिद्धार्थी नामको संवत्सर ६० संवत्सरमध्ये ५३औँ संवत्सर हो । शनिबारसम्म ५२औँ कालयुक्त नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ । जसअनुसार आजदेखि धार्मिक कर्ममा सङ्कल्प गर्दा सिद्धार्थी नामक संवत्सरको उच्चारण हुन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।

यो वर्ष सिद्धार्थी नाम गरेको संवत्सर रहेकाले सबै काम सिद्धि हुने फल जनाइएको छ । यस्तो फल ‘बृहत्संहिता’ नामक ज्योतिष शास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

ब्रह्मपुराणले चैत्रशुक्ल प्रतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टिगरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासका आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर सुरु हुन्छ ।

विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वत्मा सौरमासका आधारमा वैशाख महिनादेखि वर्ष सुरु हुन्छ । आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । आज ब्रह्मा र ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि सुरु गरिएको हो । विभिन्न रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा सुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ ।

सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गर्नुभएको छ । यसबेला चिसो कम हुँदै जाने भएकाले प्राकृतिक रूपमा पनि वसन्त ऋतुदेखि नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।

किरात ये़ले़ संवत् ३८०४ को हार्दिक शुभकामना !

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू !
गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ । हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात ये़ले़ संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

यही किरात ये़ले़ संवत्का सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२—१३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा.जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात ये़ले़ संवत्को कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात ये़ले़ संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समितिलाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।

श्रदेय प्रवुद्ध किरातजन !
किरात जनलोकमा प्रचलित किरात ये़ले़ संवत्लाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात ये़ले़ संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हो । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ ।

यस गहनतम विषयलाई गम्भीरतापूर्वक मनन गर्नुहुने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात ये़ले़ संवत्को नयाँ वर्ष ३८०४ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येÞलेÞ संवत्को प्रामाणिक काल गणना ३८०४ (सन् २०२५) व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल

काठमाडौँ । २९ असोज २०८१, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ ।

समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्चाङ्गमा पूर्णिमा व्रत असोज ३० गते बुधबार लेखिएको छ । अन्य पञ्चाङ्गमा भने कात्तिक १ गते बिहीबार लेखिएको छ । यसले पञ्चाङ्ग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो । पात्रोका प्रयोगकर्ता मच्छेन्द्र सापकोटा आश्विन शुक्ल पूर्णिमाको व्रतका बारेमा फरकफरक दिन उल्लेख भएर कुन दिन मनाउने भनी भ्रम भएको बताउँछन् ।

तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्त भूलबस पूर्णिमा व्रत असोज ३० गते हुन गएकामा सच्याएर अर्को पञ्चाङ्ग निकालिएको बताउँछन् । पहिले छापिएको पञ्चाङ्ग बजारबाट प्रयोगकर्ता कहाँ पुगेर प्रयोगकर्तामा अन्योल भएको हुनसक्ने उनको दावी छ । अशुद्ध पात्रोका विषयमा केही जानकारी नपाएको प्रयोगकर्ता बताउँछन् ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई पूर्णिमा व्रतलाई साँझमा पूर्णिमा तिथि हुनुपर्ने भएकाले कात्तिक १ गते हुनेगरी निर्णय गरिएको बताउँछन् । कोजाग्रत पूर्णिमाका लागि भने मध्यरातमा पूर्णिमा चाहिने भएकाले असोज ३० गते हुनेगरी निर्णय गरिएको पनि उनले सुनाए । अखिल बलि पूर्ति भने असोज ३० गते बुधबार नै परेको समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

From: रासस