विक्रमी कि ग्रेगोरियन, अब कुन क्यालेन्डर ? – वसन्त थापा

हरेक वर्ष जब वैशाख १ गतेको दिन नजिकिन्छ वा जनवरी महिनाको १ तारेख आउन लाग्छ, मैले सडकछेउ उभिएर बाटो हिँड्ने बटुवाहरूसित उभिई–उभिई अन्तर्वार्ता लिने गरेको समय मलाई याद आउँछ । त्यसताका म मदनमणि दीक्षितद्वारा सम्पादित ‘समीक्षा’ साप्ताहिकमा कार्यरत थिएँ, विशेष संवाददाताका रूपमा ।

विशेषगरी उनका पुत्र विनोद दीक्षित र मेरो मिलोमतोमा सुरु गरेका थियौं ‘सडक बोल्छ’ भन्ने एउटा नयाँ स्तम्भ । त्यस स्तम्भको मकसद थियो सडकमा उभिएर जनसामान्यसित समसामयिक विषयमा छोटो प्रश्न गर्ने र उनीहरूको छोटो जवाफ लिने ।

त्यसप्रकार सार्वजनिक सरोकारको कुनै पनि विषयमा जनमत प्राप्त हुन सक्छ भन्ने ठानेर थालिएको थियो त्यो स्तम्भ । पत्रिकाको तेस्रो पृष्ठको ठाडो आधा पाना ठाउँ छुट्याइएको थियो त्यसका लागि । एघार–बाह्र जना मानिसले दिएको उत्तरले त्यसमा ठाउँ पाउँथ्यो । उत्तरदाताको नाम, उमेर, पेसा र ठेगाना त्यसमा खुलाइएको हुन्थ्यो । पाठकहरू माझ छिट्टै त्यो स्तम्भ लोकप्रिय भयो । मलाई राम्ररी याद छ, जनवरी १९७५ मा मैले एउटा प्रश्न गरेको थिएँ ‘अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको ग्रेगोरियन क्यालेन्डर नै हामीले पनि व्यवहारमा अंगिकार गरे कसो होला’ भनेर । सबैको उत्तर एकनासको थिएन, तर धेरैले चाहिँ ‘राम्रै हुन्छ, समयअनुसार चल्नुपर्छ’ भन्ने जवाफ दिएका थिए । प्रश्नमा सन्निहित अभिप्राय सरकारी तवरमै ईश्वी संवत् चलाउँदा कसो होला भन्ने थियो । सन्दर्भ के थियो भने सन् १९७५ लाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय नारी वर्ष’ घोषित गरेको थियो र एक सदस्य राष्ट्रका हैसियतले नेपालले पनि त्यस वर्षलाई अनेक कार्यक्रम गरेर मनाउने भएको थियो । अन्तर्राष्ट्रिय तवरमा मान्ने हो भने राष्ट्रिय तवरमै त्यस संवत्लाई किन नमान्ने भन्ने त्यस प्रश्नको आशय थियो ।

मैले आजभन्दा पचास वर्षअघि जनतामाझ सडकमा र मिडियामा उठाएको प्रश्न आज पनि ज्युँका त्युँ छ ।

विक्रम संवत्लाई नेपालको आफ्नै संवत् हो भनिँदै आएको छ र हामीले यसलाई आफ्नै मान्दै आएका पनि छौं । सरकारी कामकाजमा यसै संवत्को प्रयोग हुँदै आएको छ । विद्वान् हर्षनाथ भट्टराईका अनुसार, (२९ चैत २०५९, गोरखापत्र) श्री ३ चन्द्रशमशेरले संवत् १९७० देखि यसलाई सरकारी कामकाजमा चलाएका हुन् । त्यसो हो भने अहिले एक सय एघार वर्ष भयो विक्रम संवत्ले नेपालमा सरकारी पात्रोको मान्यता पाएको । त्यसअघि नेपालमा शक संवत् र नेपाल संवत् प्रचलनमा रहेको मानिन्छ । अझ अगाडि प्राचीनकालदेखि कलिगत संवत्, बुद्ध संवत्, लिच्छवि संवत्, मानदेव संवत् आदि चलेको पनि विद्वान्हरू बताउँछन् ।

विक्रम संवत्को प्रचलन नेपालमा कहिलेदेखि र के कारणले सुरु भएको भन्नेबारे चाहिँ विद्वान्हरूको एकमत पाइँदैन । ठ्याक्कै तोकेर कसैले भनेको पनि देखिँदैन । विक्रमको भन्दा शक संवत्को चल्तीफिर्ती केही बढ्ता भएको समयमा विक्रम संवत्लाई सरकारी पात्रो तोक्न चन्द्रशमशेरलाई के कारणले अभिप्रेरित गर्‍यो ? त्यो पनि प्रस्ट छैन । कतै पढेको थिएँ, शक संवत् पछ्याउनाले प्रत्येक तीन वर्षमा कर्मचारीहरूलाई तेह्र महिनाको तलब दिनुपरेको हुनाले मितव्ययिता अपनाउनलाई उनले यो निर्णय गरेका थिए भन्ने ।

तर, यता आएर विक्रम संवत्लाई खाँट्टी हिन्दु संवत् भनेर दाबी गर्न थालिएको छ, खासगरी आजको हिन्दुत्वमय भारतमा । विक्रम संवत्भन्दा १३४ वर्ष कान्छो शक संवत् पनि भारतमै थालिएको हो, ईश्वीको दोस्रो शताब्दीका शासक कुशान वंशका कनिष्क सम्राट्द्वारा । तर, तिनलाई बाहिरिया ठानिने हुनाले एउटा बाहिरियाबाट थालिएको संवत्सरलाई त्यतिविघ्न आफ्नो ठान्दैनन् आजका भारतीय, जति विक्रम संवत्लाई । उनीहरूका अनुसार, विक्रम संवत् चाहिँ पक्का हिन्दु हो । किनभने विक्रम संवतसरको प्रारम्भकर्ता विक्रमादित्य आफैं उज्जैनका हिन्दु सम्राट् थिए । यो हिन्दु संवत् भएकै कारण एकताका हिन्दु राष्ट्र रहेको नेपालमा यो संवत् अध्यापि सरकारी तवरमै प्रचलनमा रहेको यो मत राख्नेहरूको दाबी छ ।

अहिलेको भारतको मध्यप्रदेशमा अवस्थित उज्जैन नामक ठाउँका सम्राट्द्वारा थालिएको संवतसर कसरी यति टाढा रहेको नेपाल राज्यमा लागू हुन गयो त्यो आफैंमा प्रश्न गरिनुपर्ने विषय हो । हुन त विक्रमादित्य नेपाल आएका थिए भन्नेदेखि लिएर उनी नेपालकै थिए, बत्तीस वटा पुतलीहरूबाट सज्जित उनको राजसिंहासन यहीं थियो, साँखुको बज्रयोगिनी मन्दिरमा रहेको धातुको बडेमाको शिर विक्रमादित्यकै हो भन्ने आख्यान पनि छन् । यस कथनलाई आख्यान नै मान्नुपर्छ किनभने विक्रमादित्यले नेपाल आएर नयाँ संवत् चलाएको मान्ने हो भने त्यो संवत् थालिएको समयमा नेपाल मण्डल किराँत वंशकै कुनै राजाबाट शासित भएको हुनुपर्छ ।

यसो त विक्रमादित्य कुनै ऐतिहासिक पात्र नभई लोकोक्तिबाट निर्मित पात्र हुन् भन्नेमा प्रायः सबै इतिहासकारहरू एकमत छन् । ईश्वीपूर्व सन्ताउन्न वर्षअघि विक्रम संवत् थालिँदा उज्जैनमा विक्रमादित्य नामका कुनै राजा नभएको मात्र होइन, प्राचीन भारतमै त्यस नामका कुनै राजा नभएको इतिहासकारहरू औंल्याउँछन् । विक्रमादित्य राजाको नाम नभएर प्रतापी राजालाई दिइने सम्मानजनक उपाधि हो भन्छन् इतिहासकारहरू, तर त्यो उपाधि धारण गर्ने कम्तीमा पनि चौध जना राजाहरू रहेका पनि बताउँछन् उनीहरू । चन्द्रगुप्त दोस्रो विक्रमादित्य कहलिन्थे र विक्रम संवत् चलाउने उनै हुन् भनिन्छ । अनि यो नयाँ संवत्को थालनी गर्ने सुझाव दिने खगोलशास्त्री वराहमिहिर थिए पनि भनिन्छ । तर, चन्द्रगुप्त दोस्रोको शासनकाल ईश्वीको तेस्रो–चौथो शताब्दी हो भने वराहमिहिरको समय छैटौं शताब्दी । अनि ईश्वीको नवौं शताब्दीभन्दा अघि प्रस्तर लगायतका कुनै लेखोटमा विक्रम संवत्को उल्लेख नपाइएको इतिहासकारहरूले औंल्याएका तथ्य पनि यहाँनेर ध्यानयोग्य छ ।

उसो भए को थिए त विक्रम संवत्का सुरुवातकर्ता ? आफ्नो पुस्तक ‘अर्ली इन्डिया– फ्रम द ओरिजिन्स टु ए डी १३००’ मा विक्रम संवत्का प्रवर्तक अजेस प्रथम हुन सक्ने भनेर लेखेकी छन् प्रख्यात भारतीय इतिहासविद् रोमिला थापरले । अनि नेपाली अन्वेषक शिवराज श्रेष्ठ मल्लले २२ साउन २०७८ को ‘नागरिक’ दैनिकमा ‘ई.पू. ५७ मा मालवा नरेश शकारी सतकर्णी ‘द्वितीय’ ले चलाएको तर त्यति प्रचलित भइनसकेको संवत्लाई चन्द्रगुप्त द्वितीयले भारत र नेपालमा समेत चलाएका’ भनी लेखेका छन् । को थिए त रोमिला थापरले उल्लेख गरेको अजेस ? यो आफैंमा अन्योलपूर्ण छ । त्यस्तै चार–पाँच सय वर्ष पछाडिका चन्द्रगुप्तलाई त्यसको सुरुवातकर्ता मान्नु पनि तर्कसम्मत देखिँदैन ।

जे होस्, यी अनेक अस्पष्टता र ऐतिहासिक विसंगतिका बाबजुद तथ्य के हो भने नेपालमा विक्रम संवत् आधिकारिक पात्रो हो, यसै हुनाले हामीले वैशाख १ गतेको दिनलाई नयाँ वर्ष भनेर मनाउँदै आएका छौं । नेपालबाहेक भारतको पञ्जाब र उत्तर भारत तथा पूर्वतर्फ ‍बंगाल, असम, त्रिपुरा आदि क्षेत्रमा पनि मोटामोटी यसै क्यालेन्डरअनुसार एक दिनको फरकमा नव वर्ष मनाउँछन् । पञ्जाबमा यसलाई वैशाखी पर्वका रूपमा र मुस्लिम बहुल बंगलादेशमा समेत ‘नवोवर्षो’ या ‘पोइला बोइशाख’ भनी मनाउँछन् राष्ट्रिय पर्वका रूपमा बिदासमेत दिएर । यद्यपि के कुरा रोचक छ भने शास्त्रीय हिसाबले विक्रम संवत्को प्रारम्भ चैत्र शुक्ल प्रतिपदाका दिन भएको मानिन्छ र यस साल त्यो तिथि अस्ति ३० मार्चका दिन परेको थियो । त्यसअनुसार, त्यसै दिनदेखि हामी २०८२ सालमा प्रवेश गरिसकेका छौं ।

अब यसै प्रसंगमा बोलीचालीमा हिजोआज ‘अंग्रेजी वर्ष’ भन्ने गरिएको र ईश्वी संवत् वा ख्रिष्टाब्द भनिने ग्रेगोरियन पात्रोको चर्चा सान्दर्भिक हुन आउँछ । इसाई धर्मका प्रवर्तक जिजस क्राइस्ट (ख्रिष्ट)को जन्मपश्चात् र जन्मपूर्वसित जोडिएको हुनाले यस संवत्लाई ख्रिष्टाब्द र अंग्रेजीमा ‘क्रिश्चियन एरा’ पनि भनिन्छ । जुलियस सिजरद्वारा लागू गरिएको मानिएकाले पहिले यसलाई जुलियन क्यालेन्डर भनिँदै आएकोमा पोप ग्रेगोरी तेह्रौंले परिमार्जित गरी सन् १५८२ देखि प्रचलनमा ल्याएदेखि यसले ‘ग्रेगोरियन क्यालेन्डर’ भन्ने नाम पाएको हो । यही क्यालेन्डर एक/दुई अपवादलाई छाडेर अचेल विश्वभरिका सबै मुलुकहरूमा प्रचलित छ । यद्यपि पुरानो जुलियन क्यालेन्डरलाई अझै पनि अर्थोडक्स क्रिश्चियनहरूले चलाउँदै आएका छन् । भनिरहन परोइन, भारतमा ब्रिटिसहरूकै कारण ग्रेगोरियन क्यालेन्डर व्यवहारमा लागू हुन गयो र ब्रिटिसकालमा मात्र होइन अहिले पनि यावत् सरकारी कामकाजमा यही संवत् प्रयोग हुँदै आएको छ ।

पूरै विश्वले अंगिकार गरेको हुनाले स्वभावतः अहिलेसम्मका विश्वघटना यही संवत्मा अभिलिखित हुँदै आएका छन्, चाहे ती घटना क्राइस्टको जन्मपछाडिका हुन् वा जन्मअगाडि घटित भएका हुन् । केही समय अगाडिसम्म यसलाई ‘क्रिश्चियन एरा’ (अंग्रेजीमा सीई) भन्ने गरिन्थ्यो र त्यसअनुसार ख्रिष्टको जन्मपछाडिको समयलाई इंगित गर्नु पर्दा ‘एन्नो डोमिनी’ (एडी) अनि ख्रिष्टको जन्मअगाडिको कालगणना गर्नुपर्दा ‘बिफोर क्राइस्ट’ (बीसी) भनिन्थ्यो । यसको सर्वव्यापकता र सर्वग्राह्यतालाई ख्याल गरेर होला, यता आएर ‘सीई’ लेखे पनि त्यसको अर्थ ‘कमन एरा’ (साझा संवत्) भनेर लगाउने गरिएको छ र सोहीबमोजिम ‘एडी’ लाई ‘कमन एरा’ अनि ‘बीसी’ को ठाउँमा ‘बिफोर कमन एरा’ (बीसीई) भन्ने चलन बसालिएको छ । यसलाई स्पष्टतः संवत्सरको प्रयोगलाई कुनै धार्मिक पन्थसित नजोडीकन त्यसबाट निरपेक्ष राख्ने प्रयास हो भनेर बुझ्न सकिन्छ । यसले यसको सर्वग्राह्यतालाई झनै फराकिलो बनाउँछ । अब कमन एरालाई ‘साझा संवत्’ भनेर पनि बुझ्नुपर्ने भएको छ ।

नेपालमा यी दुवै संवत्हरूको व्यावहारिक प्रयोग हेर्दा यो छ्यासमिस पाराको देखिन्छ । विक्रम संवत्ले आधिकारिकता प्राप्त गरेको हुनाले सबै सरकारी कामकाजमा र हरेक कार्यालय, अड्डा, अदालतमा यसै संवत्को प्रयोग हुने गर्छ । यद्यपि सरकारले यही संवत् चलाउने भनेर कुनै निर्णय गरेको भने देखिँदैन, केवल परम्पराका रूपमा चलिआएको छ यो चलन, चन्द्रशमशेरका पालादेखि । मौजुदा संविधान पनि यस विषयमा मौन छ । ‘यो संविधान फलानो मितिमा संविधानसभाबाट पारित भई जारी भएको’ भन्ने बोली संविधानमा परेको छैन । केवल राजपत्रमा प्रकाशित मिति भनी २०७२।०६।०३ को मिति प्रस्तावनाको सिरानमा दिइएको छ । उल्लिखित मिति विक्रमीय संवत् भनेर पनि किटिएको छैन । उता भारतको वर्तमान संविधानमा भने त्यो पारित र जारी भएको मितिलाई पहिले ‘२६ नोभेम्बर १९४९’ भनेर उल्लेख गरिएको छ, अनि प्रकोष्ठमा ‘मार्गशीर्ष शुक्ल सप्तमी संवत् दुई हज्जार छ विक्रमी’ (नेपालीमा गरिएको आधिकारिक अनुवादबाट) भनेर खुलाइएको छ । स्पष्टतः यस अर्थमा ख्रिष्टिय र विक्रमी दुवै संवत्लाई भारतीय संविधानले अंगिकार गरेको देखिन्छ । तर, अर्को रोचक पक्ष के छ भने संविधान जारी भएपश्चात् गठन गरिएको पञ्चाङ्ग सुधार समितिले सिफारिस गरेबमोजिम भारत सरकारले सन् १९५७ मा शक संवत्लाई आधिकारिक भनी घोषणा गरेको थियो । यति भएर पनि विक्रमी र शक दुवै संवत् दैनन्दिन र सरकारी प्रयोगमा शून्य बराबर भएको तथ्य फेरि बेग्लै छ । आजको भारतीय समाज र जनजीवन ग्रेगोरियन पात्रोमा पूरै लुटपुटिएको छ भन्न सकिन्छ ।

नेपालमा वैदेशिक सञ्चार गर्ने सिलसिलामा सरकारी कार्यालयहरूले पनि ग्रेगोरियन क्यालेन्डर अनुसारकै तारेख चलाउँछन्, जस्तो सरकारी नियममा कतै नलेखिएको भए पनि अंग्रेजी भाषामा लेखिएका चिठीपत्र वा दस्ताबेजहरू सरकारी कार्यालयहरूमा स्वीकार गरिन्छन्, तिनको नेपाली अनुवाद खोजिँदैन । वस्तु आयात–निर्यात गर्ने व्यापारिक संस्थादेखि बैंक, होटेल, एयरलाइन र जुनसुकै प्रकारले अन्तर्राष्ट्रिय आदानप्रदानमा संलग्न निजी वा सरकारी निकायहरूलाई ग्रेगोरियन पात्रोअनुसार नचली सुख छैन । मोबाइल फोन र इन्टरनेट सेवाले जति व्यापकता ग्रहण गर्दै जान्छ, त्यससँग त्यति नै अन्तर्राष्ट्रिय पात्रोको उपयोग पनि अनिवार्य बन्दै जान्छ । त्यसैले भन्न सकिन्छ, यसको प्रयोग बदलिँदो समय र परिस्थितिका कारण अन्यत्र झैं नेपालमा पनि दिनानुदिन बढ्दो छ ।

धेरै अध्येता, अनुसन्धाता, अध्यापक, विद्वान् र लेखकहरूले भने संवत्को प्रयोगबारे स्पष्ट अडान लिएको पाइँदैन । उनीहरूबाट ख्रिष्टिय संवत्को प्रयोग सराबरी भएको भेटिन्छ । तर, इतिहासवेत्ताहरूमाझ भने दुई वटा धार स्पष्टतः छुट्टिएको पाइन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यको जोड ख्रिष्टिय संवत्को प्रयोगमा देखिन्छ भने इतिहास संशोधन मण्डलसित जोडिएका महेशराज पन्त, दिनेशराज पन्त प्रभृत्ति विद्वान्हरू विक्रम संवत्को पक्षमा अडिग देखिन्छन् । इतिहासका घटना जुनसुकै संवत्मा दरिएका भए पनि तिनलाई विक्रमाब्दमै रूपान्तरित गर्ने प्रयास इतिहास संशोधन मण्डलका प्रवर्तकहरूको देखिन्छ । एक किसिमले यस प्रयासलाई राम्रै मान्नुपर्छ ।

बितेका असी–नब्बे वर्षभित्रका प्रमुख घटनाहरूलाई मेरै पुस्तासम्मकाले पनि नब्बे सालको भुइँचालो, सात सालको क्रान्ति, पन्ध्र सालको महानिर्वाचन, सत्र सालको काण्ड, छत्तीस सालको जनमत संग्रह, छयालीस सालको जनआन्दोलन आदि भनेर सम्झने गर्दछन् । तर, जब नेपाल सरहदबाहिरका घटनाक्रमको सन्दर्भ आउँछन् तब तिनलाई विक्रमाब्दसित एकाकार गर्न गाह्रो पर्छ । किनभने ती सबै घटनाक्रम ग्रेगोरियन पात्रोअनुसार दर्ज भएका हुन्छन् । भारत र पाकिस्तानको जन्म भनौं या बंगलादेशको अभ्युदय, चीनको क्रान्ति या रुसको अक्टोबर क्रान्ति या फ्रान्सेली क्रान्ति भनौं या पहिलो वा द्वितिय विश्व युद्ध, नेपोलियनको उदय या अलेक्जेन्डरको भारत आगमन यी सबै घटनाका समय ख्रिष्टाब्दमै उल्लिखित छन् । त्यसबाहेक, ईश्वीपूर्वको सन्दर्भ आउनेबित्तिकै फेरि ईश्वी संवत्कै सहारा लिनुपर्ने हुन्छ । विक्रम संवत्‍पूर्व भन्ने आधार उपलब्ध छैन । अनि सन्ताउन्न वर्षको फरक हुनाका कारण शताब्दीको कुरामा विक्रमाब्द र ख्रिष्टाब्दमा एक शताब्दीकै फरक पर्न जान्छ । जस्तो, पच्चीस वर्ष त भयो जम्मा ख्रिष्टाब्द एक्काइसौं शताब्दीमा प्रवेश गरेको । विक्रमाब्द त एकासी वर्षअघि नै एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेको थियो । ख्रिष्टाब्द उन्नाइस सय वर्षको लहरमै चलुञ्जेल समस्या कम थियो, अब ख्रिष्टाब्दले पनि दुई हजारको लङ टेकेपछि हरेक पटक विक्रमाब्द वा ख्रिष्टाब्द के हो त्यो किटान गर्नु अनिवार्य हुन जान्छ । यो वैषम्य नराखी विश्व इतिहास र पुराविद्याको अध्ययन/अनुशीलनको तादात्म्यका लागि पनि अन्तर्राष्ट्रिय तवरमा मानिएको संवत्सर अँगाल्नु आजको सन्दर्भमा व्यवहारसम्मत् देखिन आउँछ ।

भूगोलविद् र योजनाविद् भनेर कहलिएका विद्वान् डा. हर्क गुरुङको सान्निध्यमा रही केही काम गर्ने मौका यस पङ्क्तिकारले पाएको थियो । उच्च शिक्षा पटना र बेलायतको एडिनबरामा हासिल गरेका कारणले हो वा केले गर्दा हो चिठीपत्र वा सानोतिनो मेमो लेख्दा होस् उनको बानी थियो, जहिले पनि ख्रिष्टाब्दको तारेख लेख्ने । एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर मलेसियाको राजधानी क्वालालम्पुरमा उनी कार्यरत रहँदा उनले आफ्नै हातले लेखेका कैयन् फ्याक्सपत्र मैले पाएको छु, कहिले अंग्रेजीमा त कहिले पूरै नेपालीमा लेखिएका । त्यसबेला उनका दुईवटा किताब नेपालमा छाप्ने काममा मैले उनलाई सघाइरहेको थिएँ । त्यसैले पनि तारन्तरजसो उनको फ्याक्सपत्र आइरहन्थे । हरेक फ्याक्सपत्रमा उनीबाट नबिराई ख्रिष्टाब्दको तारेख लेखिएको हुन्थ्यो । भनिरहन परोइन, ख्रिष्टाब्दलाई दैनन्दिन

व्यवहारमा व्यवहृत गराउने कुराको प्रबल पक्षधर थिए डा. हर्क गुरुङ । लेखनसित सम्बन्धित अर्को आग्रह पनि थियो उनको । आलेख नेपालीमा भए पनि त्यसभित्र पर्ने अंकहरू सबै अंग्रेजीका लेख्थे उनी । (हुन त जसलाई हामी अंग्रेजी अंक भन्ने गर्छौं, तिनलाई वास्तवमा अरबिक अंक भनिन्छ, जसलाई पछि अंग्रेजी भाषाले टिप्यो । तर, सजिलोसित बुझ्नका लागि यहाँ अंग्रेजी अंक नै भनौं) । उनीद्वारा नेपाली भाषामा लिखित पुस्तकहरू ‘हिमाल किताब’ अन्तर्गत प्रकाशन गर्दा अंकको प्रयोगसम्बन्धी उनको आग्रहलाई स्विकार्दै अंग्रेजी अंकलाई नफेरीकन यथावत् राख्ने काम गरें मैले । हिन्दी भाषाका पुस्तक र पत्रपत्रिका पढेर हुर्केको मजस्तालाई त्यो अभ्यास अनौठो लागेन पनि । हिन्दीको लिपि देवनागरी भए पनि अंक भने अंग्रेजीकै प्रयोग भएको मैले देखिरहेको थिएँ ।

यो अभ्यास मलाई जँचेको पनि थियो । मलाई लागेको थियो, कुनै प्रकाशन गृहले सुरु गरेको हुँदो हो यो अभ्यास, जो पछि गएर व्यापक भयो होला । मेरो अड्कल गलत रहेको बोध मलाई हालसालै मात्रै भयो, मैले भारतको संविधान पल्टाएपछि । मेरो मनमा रहेको शंकाको गुत्थीलाई भारतीय संविधानमा परेको ‘भारतीय अंकको अन्तर्राष्ट्रिय रूप’ भन्ने वाक्यांशले सुल्झाइदियो । यसको अर्थ हो, देवनागरी लिपिमा लेखिने हिन्दीमा अंग्रेजी अंक प्रयोग गर्ने निर्देश संविधानले नै दिएको रहेछ अनि किन नगरून् उनीहरूले अंग्रेजी अंकको उपयोग ?

वास्तवमा ख्रिष्टाब्द वा ग्रेगोरियन क्यालेन्डर जस्तै अंग्रेजी मानिएको अंकको प्रयोग पनि लगभग विश्वव्यापी नै भइसकेको छ । जापानी, चिनियाँ, कोरियाली, अरबी, रुसी, थाई आदि अंग्रेजीइतर तथा बिल्कुल बेग्लै लिपि भएका भाषाका लेख्य रूपमा फुत्त–फुत्त अंग्रेजी अंक देखिनु आफैंमा रोचक छ । उनीहरूका आफ्नै भाषामा अंक नभएको त अवश्यै होवोइन होला । उनीहरूले अंग्रेजी अंकलाई कुनै खास समयदेखि जानाजान अँगालेको हुनुपर्छ, जसरी आफ्नो परम्परागत तिथिमिति रहेको पात्रो छँदाछँदै ग्रेगोरियन पात्रो अँगालेका छन् । आफ्नो परम्परागत पात्रोअनुसार सबैको आ–आफ्नै नयाँ वर्ष छ र त्यो मनाउँछन् पनि । तर, ३१ डिसेम्बरको राति जाग्राम बसेर १ तारेख जनवरीमा नयाँ वर्षको स्वागत पनि उत्तिकै तामझाम र हर्षबढाइँका साथ गर्छन् ।

यो वृत्तान्त कहिसकेपछि एक पटक फेरि यो पङ्क्तिकार ज्ञानी, बुद्धिमानी, विद्वत्जन तथा प्रबुद्ध पाठकवर्गसामु त्यही प्रश्न राख्ने धृष्टता गर्दछ, जुन प्रश्न उसले पचास वर्षअघि सडकमा उभिएर जनसामान्यलाई सोधेको थियो, ‘हामीले ग्रेगोरियन भनिने सर्वप्रचलित पात्रोलाई व्यवहारमा अवलम्बन गरे कसो होला ?’ यस संवत्लाई व्यवहारमा ल्याउनुको अर्थ साविकको विक्रम संवत्लाई प्रतिस्थापित वा परित्याग गर्नु किमार्थ होइन । विक्रमाब्दको भूमिका सांस्कृतिक र धार्मिक अनुष्ठानहरूको निर्धारणमा यस्तै रहनेछ, जसरी अहिले यहाँ रहेको छ र भारतका कैयन् प्रदेश र क्षेत्रहरूमा रहेको छ । अनि अर्को पूरक प्रश्न उठाउनु पनि यहाँ स्वाभाविक हुन जान्छ, ‘अंकको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रचलन तथा अभ्यासको अनुसरण गर्नु कसो होला ?’

– प्रकाशित : चैत्र ३०, २०८१
Sources: ekantipue.com

चैत्र शुक्ल प्रतिपदाः सिद्धार्थी नामक संवत्सर सुरु

काठमाडौँ, १७ चैत २०८१ । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुन्छ । आज बिहानदेखि ‘सिद्धार्थी’ नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सिद्धार्थी नामको संवत्सर ६० संवत्सरमध्ये ५३औँ संवत्सर हो । शनिबारसम्म ५२औँ कालयुक्त नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ । जसअनुसार आजदेखि धार्मिक कर्ममा सङ्कल्प गर्दा सिद्धार्थी नामक संवत्सरको उच्चारण हुन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।

यो वर्ष सिद्धार्थी नाम गरेको संवत्सर रहेकाले सबै काम सिद्धि हुने फल जनाइएको छ । यस्तो फल ‘बृहत्संहिता’ नामक ज्योतिष शास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

ब्रह्मपुराणले चैत्रशुक्ल प्रतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टिगरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासका आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर सुरु हुन्छ ।

विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वत्मा सौरमासका आधारमा वैशाख महिनादेखि वर्ष सुरु हुन्छ । आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । आज ब्रह्मा र ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि सुरु गरिएको हो । विभिन्न रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा सुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ ।

सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गर्नुभएको छ । यसबेला चिसो कम हुँदै जाने भएकाले प्राकृतिक रूपमा पनि वसन्त ऋतुदेखि नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।

किरात ये़ले़ संवत् ३८०४ को हार्दिक शुभकामना !

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू !
गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ । हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात ये़ले़ संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

यही किरात ये़ले़ संवत्का सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२—१३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा.जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात ये़ले़ संवत्को कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात ये़ले़ संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समितिलाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।

श्रदेय प्रवुद्ध किरातजन !
किरात जनलोकमा प्रचलित किरात ये़ले़ संवत्लाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात ये़ले़ संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हो । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ ।

यस गहनतम विषयलाई गम्भीरतापूर्वक मनन गर्नुहुने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात ये़ले़ संवत्को नयाँ वर्ष ३८०४ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येÞलेÞ संवत्को प्रामाणिक काल गणना ३८०४ (सन् २०२५) व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल

काठमाडौँ । २९ असोज २०८१, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ ।

समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्चाङ्गमा पूर्णिमा व्रत असोज ३० गते बुधबार लेखिएको छ । अन्य पञ्चाङ्गमा भने कात्तिक १ गते बिहीबार लेखिएको छ । यसले पञ्चाङ्ग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो । पात्रोका प्रयोगकर्ता मच्छेन्द्र सापकोटा आश्विन शुक्ल पूर्णिमाको व्रतका बारेमा फरकफरक दिन उल्लेख भएर कुन दिन मनाउने भनी भ्रम भएको बताउँछन् ।

तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्त भूलबस पूर्णिमा व्रत असोज ३० गते हुन गएकामा सच्याएर अर्को पञ्चाङ्ग निकालिएको बताउँछन् । पहिले छापिएको पञ्चाङ्ग बजारबाट प्रयोगकर्ता कहाँ पुगेर प्रयोगकर्तामा अन्योल भएको हुनसक्ने उनको दावी छ । अशुद्ध पात्रोका विषयमा केही जानकारी नपाएको प्रयोगकर्ता बताउँछन् ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई पूर्णिमा व्रतलाई साँझमा पूर्णिमा तिथि हुनुपर्ने भएकाले कात्तिक १ गते हुनेगरी निर्णय गरिएको बताउँछन् । कोजाग्रत पूर्णिमाका लागि भने मध्यरातमा पूर्णिमा चाहिने भएकाले असोज ३० गते हुनेगरी निर्णय गरिएको पनि उनले सुनाए । अखिल बलि पूर्ति भने असोज ३० गते बुधबार नै परेको समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

From: रासस

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

काठमाडौँ । ३१ भाद्र २०८१ पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबिच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ । सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

केतकी ग्रह गणितका आधारमा पञ्चाङ्ग गणना गर्ने कि भन्ने विषयमा समितिले बहस सुरु गरेको उनले जानकारी दिए । केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस सुरु भएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रह गणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताउनुभयो । – रासस

किन बैशाक १ को नयाँ बर्षलाई नेपाली नयाँबर्ष मान्न सकिन्न ? – विश्वास दीप तिगेला

प्रत्येक बैशाक १ गते हामी निष्फिक्री नयाँ बर्षको शुभ कामना साटासाट गर्नेगर्दछौ । जब यो नयाँ बर्षको विरासत के हो भनेर जानकारी हुनेवित्तिकै चाहि हामी सतर्क हुने गर्छौ अर्थात सतर्क हुनपर्ने हुन्छ । शुभ कामना साटासाट जुनसुकै अवसरमा गर्नुलाई नराम्रो मान्न सकिन्न तर सोच्नपर्ने कुरा चाहि आफ्नो विरासतलाई विर्षिएर अरु कसैको विरासतको पो चाहिने भन्दा बढि जयजयकार गरिरहेका छौ की? त्यहि जयजयकारले आफैलाई औपनिवेशिकको शिकार पो बनि रहेका छौ की ख्याल गर्न जरुरी हुन्छ ।

भारतको उज्वैन राज्यको हिन्दु राजा बिक्रमादित्यले गैरहिन्दु अर्थात शुद्र शासक शकसलाई भारतको मुल्तान नजिकको कुरु क्षेत्रको युद्धमा मारेपछि नयाँ युगको शुरुवात भयो भनी ९ औं शताब्दिमा यो सवंतको शुरुवात भएको मानिन्छ । सामान्यतया बैशाक १ गतेको नयाँ बर्ष भारतको एक प्रान्त उज्वैनको राजा बिक्रमादित्यको विरासत हो । हामी नेपाली हौं तर भारतीय विरासतको जयजयकार गरिरहेका हुन्छौ । त्यतिमात्र होइन बिक्रमादित्य हिन्दु राजा भएकोले यसलाई हिन्दु नयाँ बर्ष र भारतीय नयाँ बर्ष पनि भन्ने गरिन्छ । गजब चाहि इतिहासको विरासत भारतको छ तर बडो हर्सोउल्लासको साथ नेपालकाले नयाँ बर्ष मनाउदछन्, त्यसमा पनि गैर हिन्दु आदिवासीहरुले अन्धाधुन्ध मनाउछन । तर पछिल्लो समय ख्याल गर्ने हो भने नेपालका हिन्दुहरुले पनि नेपाली नयाँबर्ष भन्न छोड्दै गएका छन । उनीहरु नयाँ बर्ष मात्र भनेर शुभ कामना साटासाट गरिरहेका हुन्छन, केही आदिवासीहरुले चाहि नेपाली नयाँबर्ष भनेर शुभकामना कार्ड बाँडी रहेका हुन्छन, उनीहरुले यो क्यालेण्डरको ईतिहास बारे ख्यालै गरेकै छैनन ।

वास्तवमा के हो त क्यालेण्डर (पात्रो) ? सामान्य भाषामा चन्द्रमा र सूर्य घुमिरहेको हुन्छ, त्यहि घुम्नेक्रमको गतिको गणना नै क्यालेण्डर हो । यो गणित हो, विज्ञान हो । चन्द्र र सूर्यको गतिको गणना जो कसैले गर्नसक्दछ । मुख्यतया ३ कुराको आधारमा क्यालेण्डर निर्माण हुन्छ । १. चन्द्रमाको गतिको आधारमा, २. सूर्यको गतिको आधारमा र ३. चन्द्रमा र सूर्य दुबैको गतिको आधारमा, पछिल्लो समय केतकी ग्रह गणितको आधारमा समेत नयाँ पात्रो निर्माण गरिने बताईएको छ ।

विश्वमा ४० भन्दा बढि क्यालेण्डर प्रचलनमा रहेका छन् । क्यालेण्डरहरु धर्म र सभ्यताको आधारमा विकास भई प्रचलनमा रहेको पाइन्छ । ईस्लामहरुले चन्द्रमाको गतिको आधारमा हिज्रिक सवंत प्रयोग गर्दछन भने हिन्दुले चन्द्रमाकै गतिको आधारमा विक्रम संवत र सूर्यको गतिको आधारमा शक सवंत प्रयोग गर्दछन । बुद्धिष्ट अर्थात चाईनीजहरुले चन्द्रमा र सूर्य दुबैको गतिको आधारमा निर्माण गर्ने गर्दछन । क्रिश्चियनले सूर्यको गतिको आधारमा गेग्रोरियन क्यालेण्डर निर्माण गर्नेगर्दछन त्यस्तै क्रिश्चियनले नै जुलियन क्यालेण्डर पनि प्रयोग गर्नेगर्दछन । जुईस÷यहुदीहरुले चन्द्र र सूर्य दुबैको गतिको आधारमा निर्माण भएको क्यालेण्डर चलाउछन भने पर्सियन हिज्रिक क्यालेण्डरलाई विश्वमै ठ्याक्कै समय मिल्ने क्यालेण्डरको रुपमा लिइन्छ ।

अनेक क्यालेण्डरहरु मध्ये विश्वकै सबैभन्दा बैज्ञानिक क्यालेण्डर गेग्रोरियन क्यालेण्डर मानिन्छ र विश्वभर यहि क्यालेण्डरमा आधारित भई दैनिक, साप्ताहिक, मासिक र बार्षिक योजनाहरु बन्ने गर्दछन । कसरी यो क्यालेण्डर बैज्ञानिक मानिन्छ सो कुराको रहस्य यस्तो छ ः एक बर्षमा कति पटक चन्द्रमाले पृथ्वीको चक्कर लगाउछ भन्ने थाह पाउनु पर्दछ । सामान्यतया ३६५ दिन, ६ घण्टा र ९ मिनेटको एक बर्ष हुन्छ । यसर्थ प्रत्येक बर्ष ६ घण्टा र ९ मिनेट उब्रन्छ । त्यो ६ घण्टा प्रत्येक ४ बर्षमा २४ घण्टा बन्न जान्छ र एकदिन हुन्छ । त्यो एकदिनलाई गेग्रोरियन क्यालेण्डरले फेब्रुवरीमा लगेर थपी दिन्छ तब त्यो साल २९ दिन भएको फेब्रुवरी हुन्छ, सामान्यतया प्रत्येक फेब्रुवरी २८ दिनको हुने गर्दछ । त्यसैले भनिन्छ फेब्रुवरी २९ मा जन्मेका ब्यक्तिले प्रत्येक ४ बर्षमा मात्र उसको जन्मउत्सव मनाउन पाउदछ । यसरी चन्द्रमाको गतिको गणनासँगसगै मिलान गरिने भएकोले यो गेग्रोरियन क्यालेण्डर बैज्ञानिक मानिन्छ र विश्वभर चलाईन्छ ।
अत्यधिक नेपालीले चलाउने अर्थात नेपाल सरकारले प्रयोग गर्ने बिक्रम संंवत अर्थात हिन्दु क्यालेण्डरमा चाहि प्रत्येक बर्ष बाँकी हुनआउने ६ घण्टालाई मिलान गरिन्न । प्रत्येक ४ बर्षमा १ दिन फाल्टो दिन हुन आउछ भने १०० बर्षमा २५ दिन फाल्टो दिन हुन आउदछ । यो बर्ष लगभग २९ दिन फाल्टो दिन भएको हुनुपर्छ । यसर्थ बैशाक १ गते भनिए पनि वास्ताविक चैत्र ३ वा ४ गते हुनुपर्दथ्यो तर छिटो हुनगयो ।

इतिहासलाई सम्झने हो भने वि.स. २०६८ ताका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिना चैत्रलाई हटाएर एकैचाटी बैशाक शुरुगरि मिलाउने निर्णय गरेका थिए तर पंचाङ्ग निर्णायक समिति लगायतका ज्योतिषहरुले विरोध गरेको कारण त्यो कार्यान्वयन हुनसकेन । विरोध गर्नुको कारण थियो क्यालेण्डरको सफ्टवेयर भर्खरै मात्र करोडौ लगानी गरेर बनाईएको र चैत्र हटाउदा सो सफ्टवेर काम नलाग्ने अवस्था हुने भएकोले भन्ने सुनियो । यसरी अहिले नेपालमा अबैज्ञानिक क्यालेण्डर प्रचलनमा छ । प्रत्येक ४ बर्षमा बन्न जाने फाटो १ दिनलाई मिलान गरिएको बर्षलाई मधुमास पनि भनिन्छ । यहि मधुमास मिलानमा वैज्ञानिकीकरण एकरुपता नहुदा भारतमा मनाईने विक्रम संवत पनि फरक परेको पाइन्छ । वास्तवमा बैशाक १ गते भन्छौ, मान्छौ तर गति चाहि लगभग जेठ १ गतेको हाराहारी पुगेको छ ।

प्रत्येक २४ बर्षमा १ दिन फाल्टो निस्कन्छ र १२० बर्षमा ३० दिन फाल्टो निस्कन्छ । कहिले देखि मधुमास मिलान गरिएन र कहिले देखि मधुमास मिलान गर्न थालियो भन्ने एकिन भएको खण्डमा नयाँ बर्षको शुरुवात कतिदिनले गलत छ भन्न सकिन्छ । वि.स. २०६८ मा करिब २७ दिन अगाडी गएको मान्ने हो भने १४ बर्ष पछाडी साढे ३ दिन जोड्दा ठिक एक महिना फाल्टो भएको मान्न सकिन्छ । समग्रमा विक्रम संवत अबैज्ञानिक छ । एक महिना हटाएर चन्द्रमाको गति र क्यालेण्डर मिलाउन आवश्यक छ ।

भारतका सबै राज्यहरुमा र केन्द्र सरकारले गेग्रोरियन क्यालेण्डरमा कार्यक्रम तर्जुमा गर्ने गर्दछ यद्यपी केही राज्यहरुमा बिक्रम संवत पनि चलाउछन तर उनीहरुले भारतमा पहिले नै एक महिना हटाएर मिलान गरिसकेको अर्थात मधुमास बर्षलाई पहिला देखि नै मिलान गर्न थालेको कारण नेपालले मनाउने बिक्रम संंवतको नयाँबर्ष र भारतले मनाउने विक्रम संवतको नयाँबर्षको दिन फरकफरक हुनेगर्दछ ।

भारतमा सामान्यतया ५ वटा क्यालेण्डरहरु गेग्रोरियन (अंग्रेजी), हिन्दु शक सवंत, विक्रम सवंत, हिज्रिक सवंत र बुद्धिष्ट सवंत प्रयोग गर्दछन भने नेपालमा ७ वटा सवंतहरु प्रयोग गरेको पाईन्छ । भारतका तिनै पाँच क्यालेण्डरहरुमा थप नेपाल सवंत र किरात यलम्बर सवंतको क्यालेण्डर नेपालमा प्रयोग हुनेगरेको पाईन्छ ।

यी माथिका क्यालेण्डरहरु प्राय सबैको गणना मिलान भएको पाइन्छ तर किरात यलम्बर सवंतको भने अहिले निक्कै विवादमा रहेको छ । प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको बिन्दुलाई गणनाको शुरुवात मानिएको छ । सामान्यतया अन्तर्राष्ट्रिय अभ्यास अनुसार लगभग २५ बर्षलाई एकपुस्ता मानिन्छ । डब्लुडब्लुडब्लु डट वल्डपपुलेशन रिभ्यू डटकम स्रोतका अनुसार अहिलेको संघीय लोकतान्त्रिक शासन ब्यवस्था (२००८ – २०२४) १६ बर्ष भयो त्यसअघि शाह वंशको १३ पुस्ताले (१७६८ – २००८) १४२ बर्ष शासन गरयो । शाह वंश अघि मल्ल वंशले (१२०० – १७६८) ५६८ बर्ष, मल्ल बंश अघि लिच्छिवी वंशले (३०० – १२००) ९०० बर्ष शासन गरे भने लिच्छिवी वंश अघि (–८०० – ३००) ११०० बर्ष किरातहरुले शासन गरे भन्ने इतिहास पाइन्छ । यसलाई आधार मान्ने हो भने किरात यलम्बर संवत ३१२४ भएको देखिन्छ ।

काठमाडौ मालिगाँउमा पाईएको र हाल राष्ट्रिय संग्राहलयमा एक सालिक रहेको छ । सो सालिक जयवर्मा नामको राजाले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझिन आउँछ । यस आधारबाट किरात शासनको अन्त्य संवत् १०७ (ई.सं. १८५) मा भएको र वर्मावंशको शासन सुरु भएको देखिन आउँछ । यस कालगणनाको आधारमा गोपालराजवंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरूको शासन वर्षका अङ्कहरू सबै जोडेर हिसाब गर्दा हुन आउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन्छ भन्ने तर्कलाई मान्ने हो भने अहिले सन् २०२४ मा किरात येले सवंत ३८०३ हुन आउदछ । विडम्बना ४ वंश अगाडीको किरातकाल अर्थात प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको गणना भनी किरातजन्य संस्थाहरुले ५०८४ प्रयोग गर्छन जुन लज्जाजनक छ । किरात काल पछि सोम वंश रहेको भन्ने पनि चर्चामा छ त्यसको गहिराईमा पुग्न जरुरी छ ।

सामान्यतया अंग्रेजी नयाँ बर्ष भनेर गेग्रोरियन क्यालेण्डर अन्तर्गतको जनवरी १ लाई मनाउने विश्वभरमा चलन छ वास्तवमा यो अंग्रेजी सवंत भन्नु पूर्णरुपमा सहि होइन इटालीको बोलग्नाका एक पोप गेग्रोरिय आठौले सन् १५८२ शुरु गरेका क्यालेण्डर हो । क्रिश्चियन समुदायमै प्रचलनमा रहेको जुलियन क्यालेण्डर वा गेग्रोरियन कुन चलाउने भन्ने बारेमा पनि लामो समय बहस भएको पाईन्छ, अझै पनि रसियन, अर्थोडक्सहरु जुलियन क्यालेण्डर चलाउछन र उनीहरु सोहि पात्रोको आधारमा जनवरी ७ तारिखका दिन क्रिशमस मनाउने गर्दछन तर बैज्ञानिक क्यालेण्ड भएकोले विश्वभर अहिले गेग्रोरियन क्यालेण्डर नै प्रयोग हुदै आएको छ । विरासतको हिसाबले होइन बैज्ञानिकताको आधारमा सोहि नयाँबर्षलाई पनि हर्षोल्लासपूर्वक मनाउन सकिन्छ ।
कान्तिपुर दैनिकमा यहि ३१ चैत्र २०८१ मा प्रकाशित बसन्त थापाको लेखमा उल्लेखभए अनुसार २९ चैत्र २०५९ का दिन गोरखापत्रमा जानकारी छापिएको उल्लेख छ र सो छापिएको जानकारी अनुसार विक्रम संवतलाई नेपालको कामकाजी भाषाको रुपमा श्री ३ चन्द्र शम्शेरको पालामा विक्रम संवत १९७० देखि चलाएका हुन । भारतीय विरासत बोक्ने सवंतलाई नेपालले प्रचलनमा ल्याएको अहिले १११ बर्ष भएको मानिन्छ ।

कसरी नेपालमा क्यालेण्डरहरुको विकास र ब्यवस्थापन हुन्छ त्यो पाटोलाई पनि हेरौः नेपाल पंचाङ् निर्णायक विकास समिति वि.स. २०२५ मा स्थापना भई हाल नारायणहिटी दरबार भित्र यसको कार्यालय रहेको छ । सरकारको ठूलो सेवासुविधाबाट यो पंचाङ्ग समिति संचालनमा छ । यो सरकारको अभिन्न अंग हो । रोचक कुरा अब २०८३ देखि नै आउने गरि केतकी ग्रह गणितको आधारमा समेत नयाँ पात्रो निर्माण गरिने बताएका छन । यहि समितिले नेपालका अनेक पात्रोहरु मध्ये कुनकुनलाई प्रकाशनको मान्यता दिने वा नदिने भन्ने निक्र्यौल समेत गर्दछ । ख्याल गर्नुपर्ने कुरा ग्रहगतिको आधारमा तयार हुने पात्रो र रासिफल आध्यात्मिक नभई विज्ञान हो । मानिस जन्मदा ग्रहहरुको स्थान (पोजिशन) कहाँकहाँ रहेको थियो भन्नेले प्रभाव पार्ने मानिन्छ । सो कुरालाई शुक्ष्म रुपमा हेर्नको लागि जुम्ल्याह बच्चाहरुको हाउभाउ र आचारणलाई अध्ययन गर्दा प्रष्ट हुन्छ । त्यसैले ग्रहहरुको गतिको आधारमा निर्मित पात्रो, पात्रोमै आधारित रासिफलको ज्ञान हुनुलाई वान्छानीय मानिन्छ ।

बैशाक १ गतेको नयाँ बर्ष नेपाली बिरासत बोक्ने नयाँबर्ष होइन, भारत राजस्थानको उज्वैन राजाको विरासत बोक्ने हो भने कुन चाहि मौलिक नेपाली सवंत हो त? सम्भवतः नेपाल सवंतको नयाँबर्ष नेपाली माटोको सुगन्ध बोक्ने क्यालेण्डर हो तर ब्यवस्थित र विकसित हुनु हो भने किरात यलम्बर सवंत नेपालको पहिलो र मौलिक सवंत हो किन की नेपाल देश भनी अस्तित्वमा भेटिएको नै किरातकाल देखि भेटिन्छ । नेपाल देश पृथ्वी नारायण शाहले बनाएका होइनन, करिब ३ हजार बर्ष भन्दा अगाडी देखि नेपाल अस्थित्वमा रहदै आएको छ ।

अन्तमा, नयाँ बर्षको उल्लास छ तर नेपालीले गर्व गर्नेप्रकारको इतिहास त होइन रहेछ । त्यसो भए के गर्ने त? यसको सहज उपाय भनेको सामान्य रुपमा नयाँ बर्षको शुभ कामना साटासाट गर्ने तर नेपाली नयाँबर्ष नभन्ने सिर्फ नयाँ बर्षको शुभ कामना मात्र भने पुग्यो । अर्थात विक्रम सवंत २०८२ को शुभ कामना, हिन्दु नयाँ बर्षको शुभ कामना, विक्रमादित्य नयाँ बर्षको शुभ कामना आदिआदि भन्न सकियो । नयाँ बर्ष २०८२ अवसरमा सुख, शान्ति, समृद्धि र दीर्घायूको हार्दिक शुभ कामना सहित विदा ।

biswasdip@ymail.com

२८ चैत्र २०८०

सर्वधर्म सम्प्रदायको पात्रो लेख्ने पञ्चाङ्ग निर्णायक समितिमा एकल जातीय वर्चस्व

काठमाडौं । शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले सोमबार सार्वजनिक बिदा दिएको विषय खुबै विवादित बन्यो । सामाजिक सञ्जालदेखि शेर्पा समुदायले पनि सरकारको टिप्पणी गरिरहेका छन् ।

सार्वजनिक बिदाको निर्णय गर्ने सरकार एवं गृह मन्त्रालयले भने पहिलेदेखि नै सोनाम ल्होसार र ग्याल्पो ल्होसार गरेर दुबै दिन सार्वजनिक बिदा दिने गरिएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको जनाएको छ ।

गत माघ २७ गतेको दिन शेर्पा समुदायले सोनाम ल्होसार मनाएको र त्यसै दिन ग्याल्पो ल्होसार पनि मनाइसकिएकाले सरकारले अहिले बिदा दिएकोमा सम्बन्धित समुदाय नै छक्क परेको छ ।

विभिन्न समुदायले मनाउने चाड पर्वमध्ये कुन दिन बिदा दिने वा नदिने भन्ने विषयमा सरकारलाई सुझाव दिन नेपाल पञ्चाङ्ग निर्णय समिति रहेको छ । उक्त समितिले अध्ययन, विश्लेषण तथा सम्बन्धित समुदायका विज्ञसँग सुझाव सल्लाह लिएर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गर्छ । तर, सम्बन्धित समुदायसँग सुझाव सल्लाह नै नलिइ समितिले बिदा दिँदै आएकाले समुदाय विशेषले मनाउने पर्व तथा बिदा बेला बेलामा विवादमा पर्दै आएको छ ।

मुख्यगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिमा खस-आर्यको एकल वर्चस्व भएका कारण पनि अन्य समुदायगत पर्व एवं बिदा विवादमा पर्दै आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको वर्तमान समिति (२०७८-२०८२) को अध्यक्षमा ब्राह्मण समुदाय अर्थात खस-आर्यको प्रतिनिधित्व गर्ने प्राध्यापक श्रीकृष्ण अधिकारी छन् । बाँकी सात जना सदस्य पनि खस-आर्य समुदायकै छन् ।

समितिको सदस्यमा आचार्य लक्ष्मण पन्थी, प्राध्यापक डा.देवमणि भट्टराई, डा.वासुदेव कोइराला, उपप्राध्यापक तनुजा दाहाल, पदेन सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखा प्रमुख शिवराज रेग्मी पनि खस-आर्य समुदायकै छन् । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल पनि खस-आर्य समुदायकै छन् ।

पञ्चाङ्ग निर्णायक समितिको वर्तमान समितिमात्रै नभएर यसअघिको समितिमा पनि सबै समुदाय र वर्गको सहभागिता थिएन । यसअघिको समितिमा दुई सदस्य आदिवासी जनजाति समुदायका थिए ।

प्रा.डा.रामचन्द्र गौतम समिति अध्यक्ष हुँदा सदस्य प्रा.डा.दीर्घराज घिमिरे, प्रा.डा.साम्बरराज आचार्य, प्रा.दिनेशराज पन्त, डा.खिलानाथ बस्ताकोटी, दैवज्ञ कृतिमदन जोशी गरेर पाँच जना सदस्य खस आर्यबाटै प्रतिनिधित्व गर्थे भने प्रा.जगमान गुरुङ र विद्याकुमारी बज्राचार्य भने आदिवासी जनजाति समुदायका थिए ।

अहिलेको समिति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट गठन गरेका थिए । त्यसअघि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारको पालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले प्रा.डा.रामचन्द्र गौतमको अध्यक्षताको समिति गठन गरेका थिए ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम अहिलेको ग्याल्पो ल्होसारको बिदाबारेको विवाद राजनीतिक भएको बताए । विभिन्न समुदायमा पनि फरक फरक समूह तथा गुट भएका कारण समुदायले मनाउने पर्व तथा बिदा विवादित हुने गरेको उनको तर्क छ ।

उनले नेपाल प्रेससँग भने, ‘यो समुदाय लक्षित बिदाको विषय विवादित हुनुको कारण राजनीतिक पनि हो । एकथरीलाई मनपर्दैन र एकथरीलाई मनपर्छ । मन नपर्नेले विरोध गर्छन् र मनपर्नेले बिदा दिनुपर्छ भन्छन् ।’

पूर्वअध्यक्ष गौतमले सम्बन्धित समुदायकै सुझावका आधारमा समितिले सरकारलाई बिदा सिफारिस गर्ने भएकाले यसमा समिति र सरकार दोषी नभएको बताए ।

उनले भने, ‘सम्बन्धित समुदायले पञ्चाङ्ग निर्णायक समितिलाई समुदायले मनाउने पर्वको बिदा लेखेर पठाउने हो । त्यसलाई नै समितिले सरकारलाई सार्वजनिक बिदाको क्यालेण्डरमा राख्न सिफारिस गर्ने हो । जस्तो ल्होसार तीनचार वटै मनाइन्छ । जस्तो उभौली र उधौली दुईतीन वटै मनाइन्छ । यो धार्मिक कुरा पनि त होइन नि ! धार्मिक र ज्योतिषको कुरा भए पो हामीले टुंगो लगाउने हो । समुदायगत कुरा त हामीले टुंगो लगाउने विषय होइन ।’

समितिमा सम्बन्धित समुदायको प्रतिनिधित्व नहुनुले पनि यस्तो समस्या भएको भन्ने छ नि भन्ने प्रश्नमा पूर्वअध्यक्ष गौतमले यसमा सरकार नै जिम्मेवार रहेको बताए ।

उनले भने, ‘समितिमा सबै समुदाय र वर्गको प्रतिनिधित्व हुनु एकदमै राम्रो हो । यसअघिको समितिमा केही प्रतिनिधित्व भए पनि अहिले भने छैन । यसले पनि प्रभाव केही न केही प्रभाव त पार्छ । समितिको अध्यक्ष र सदस्य नियुक्त गर्ने भनेको सरकारले हो । सरकारले नियुक्ति गर्दा समावेशी बनाएर नियुक्ति गर्नुपर्ने हो । सबै जाति धर्म, समुदायको प्रतिनिधित्व गर्नुपर्ने हो । त्यसमा पनि राजनीतिक भागबन्डा र राजनीतिक प्रभावमा परेर आआफ्ना मान्छे राख्ने गरिन्छ ।’

– केशव भुल २०८० फागुन २८ गते १७:४०
www.nepalpress.com

पात्रो कसरी विकास गरिन्दो रहेछ हेरौ…

केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गरिने

काठमाडौँ, १८ फागुन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ ।

सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । फागुन १२ र १३ गते भारतको उत्तर प्रदेशस्थित लखनउमा भएको ज्योतिषसम्बन्धी गोष्ठीमा पनि केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गर्ने विषयमा सहमति भएको पनि उहाँले सुनाउनुभयो ।

भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयले आयोजना गरेको गोष्ठीमा भाग लिन अध्यक्ष अधिकारी, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रमुख प्रा डा धनेश्वर नेपाल र समितिका सदस्य एवं दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष लक्ष्मण पन्थी जानुभएको थियो । गोष्ठीमा चैत्र शुक्ल प्रतिपदा अर्थात् संवत्सर आरम्भको दिन ज्योतिष दिवस मनाउने सहमतिसमेत गरेको छ । यो दिवस भारत, नेपाललगायत देशमा मनाइने जनाइएको छ । गोष्ठीमा वक्ताले ‘सूर्य सिद्धान्तीय पञ्चाङ्ग र नाभिकीय पञ्चाङ्गको तुलना’ विषयमा विचार प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा प्रस्तुत भएका विषयमा समितिका सदस्यलाई पनि जानकारी गराएर विसं २०८३ देखिकै पात्रो केतकी ग्रह गणितका आधारमा गर्ने गरी छलफल अघि बढाइएको जानकारी पनि अध्यक्ष अधिकारीले गराउनुभयो । यसका लागि यसै वर्षदेखि पञ्चाङ्गकारहरुसँग छलफल र अभ्यास सुरु गरिने समितिले जनाएको छ ।

यलम्बरका सन्तानहरुले चुकाएको त्यो अवसर – विश्वास दीप तिगेला

अहिले सामाजिक संजालहरुमा दुई प्रकारको किरात यलम्बर सवंतको प्रयोग गरेको पाइन्छ । एउटा यलम्बर सवंत ३८०३ र अर्को ५०८४ । किरात सन्तति हुनुमा गर्व गर्ने विद्धत समुहले संविधानसभाबाट संविधान लेखनको काम जारी रहेको बखत पूर्वमा किरात÷खम्बुवान र लिम्बुवान राज्यको अपेक्षा गरेका थिए र तिनै पूर्वमा मुख्य रुपमा बसोबास गर्ने किरातहरुले आफ्नो प्रदेशमा किरात सवंत चलाउन पाँउ भनेर तत्कालिन संविधानसभाका सभामुख, प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्ष दलका नेता लगायतलाई ज्ञापन पत्र बुझाए ।

ज्ञापनपत्र किरातजन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार सेवा समाजका अध्यक्ष एवं पदाधिकारीहरुको नेतृत्वमा बुझाएका थिए ।

त्यो बेलाका उर्जावान विद्धत किरातहरुले अब किरात सवंतलाई प्रमाणिकरण गर्नुपर्छ भनेर लागे, कहाँबाट गणना शुरुवात मान्ने त भन्ने विषयमा केन्द्रीत भए । लगभग ति ज्ञापनपत्र बुझाउनु लगतै अब तथ्यपरक बनाउने पहल शुरु भयो । त्यो बेला ३ कुरामा केन्द्रित थिएः क. प्रदेश १ मा यलम्बर सवंत सरकारी कामकाजीको रुपमा लागु गराउने । ख. यलम्बर संवतको गणनाको विन्दु निर्धारण गर्ने र, ग. किरातजन्य संस्थाले आआफ्नो तरिकाले पुकार्ने येले तङ्बे, येले दोङ, येले थोचे आदिलाई समग्ररुपमा किरात यलम्बर सवंत र छोटकरीमा येले सवंत भन्ने सहमति थियो ।

सन् २००९ देखि २०१२ सम्ममा पटकपटक सभासम्मेलन, विचार गोष्टि र एक पटक अन्तर्राष्ट्रिय सम्मेलन पनि भयो र लगभग तथ्यपरक सवंतको नजिक ल्याईपुरयायो । सबै किरातजन्य संघसस्थाहरु किरात सन्ततिहरु उत्साहित थिए तर विट मार्ने काम केही बाँकी रहयो त्यो चाहि तत्कालै गणनाको आधार भेटिएको सवंतलाई अर्को अकाट्य नभेटिए सम्मको लागि प्रचलन गर्दै जाने भन्ने सहमति त्यहिबेला गरेको भए यो बेला धेरै अगाडी पुगिसकेको हुने थियौ । र, त्यै बेला किरात यलम्बर फाउन्डेसन स्थापना गरिनु राम्रो कार्य भएपनि अझ किरातजन्य संस्थाहरुको प्रतिनीधिहरु मात्र नभएर मुख्य पदाधिकारीहरुलाई सहभागी गराउन सकेको भए राम्रो हुनेथियो र फाउन्डेसनले बेलाबखत विचार अन्तरक्रिया गर्दै आएको भए प्रभावकारिता बढ्दै जाने थियो । जुन कुरा नहुनुको कारण अहिले अगाडी बढ्नु पर्नेमा पछाडी फर्केको चिन्ताजनक अवस्था छ । किरात यलम्बर सवंत भन्ने सहमति उल्टाएर अहिले राई यायोख्खाले येले दोङ मात्र भन्छ भने लिम्बुहरु येले तङ्बे मात्र भनिरहेको देखिन्छ त्यस्तै गरि जुन सवंतको गणना भेटिएको छैन त्यै ५०८४ (सन २०२४) भनेर उल्टो गईरहेका छन । यसरी विगत १३ बर्ष विवाद र अन्यौलताले छोप्यो र अगाडी बढने अवसरबाट चुक्यो ।

त्यहि बेला गणनाको विन्दु भेटिएको सवंत ३८०३ निक्र्यौल गरेर गएको भए अहिले किरात क्यालेण्डर विकासमा धेरै अगाडी गईसकेको हुनेथियौ । किरात क्यालेण्डर विकास हुनुभनेको किरातहरुको अप्रत्येक्ष शक्ति र प्रभाव धेरै बढ्ने थियो र अहिलेको प्रदेश न १ को नामाकरणमा ऐतिहासिक मात्र होइन तथ्यपरक ऐतिहासिकको आधारमा दाबी गर्न सकिन्थ्यो र सम्भवत नामाकरण भईसक्थ्यो सायद । अफसोच, किरातजन्य संस्थाका नेतृत्वहरुको अदुरदर्शिताले अहिले राई, लिम्बु, सुनुवार, याख्खाहरु आआफै पछाडी फर्किएका छन । तङ्बेले दोङको अस्थित्व स्वीकार नगर्ने र अर्कोले अकोको अस्तित्व स्वीकार नगर्ने, अनि गणनाको आधारै नभएको सवंतलाई नै प्रयोग गर्ने ।

फाउन्डेशन मार्फत योगदान गर्न चाहाने बौद्धिक युवाहरुलाई पनि निरुत्साहित गर्ने काम भयो र अन्ततः किरातहरु लगभग २० देखि २५ बर्ष पछाडी धकेलिएको छ । सवंतको क्यालेण्डर निर्माण गर्नु चानचुने कुरा होइन अब त्यो जोस र हिम्मत कसले लिने? जसले जोस र हिम्मत लिएका थिए उनीहरुलाई सहयोग गर्नुको सट्टा निरुत्साहित गर्ने काम अहिलेका चुम्लुङका नेतृत्व, राई यायोख्खाको नेतृत्व, याख्खा छुम्मा र सुनुवार सेवा समाजका नेतृत्वले गरिरहेका छन । हिजो त्यहि संस्थाका अध्यक्षहरुले पहल गरेको गोष्ठि सेमिनारहरुबाट आएको उपलब्धिलाई अहिलेको नेतृत्वले बेवास्त गर्नु गैरजिम्मेवारी भएन र? यो काम समग्र किरात समुदायलाई अगाडी बढाउने माङ्गेना हो । यो काम सामान्य पनि होइन ।

अहिलेका किरातजन्य संस्थाका नेतृत्वहरुले दुई कुरा गर्नसक्नु पथ्र्यो । पहिलो सवंत गणनाको आधार भेटिएकोलाई अहिले प्रयोग गरेर जाने भनेर निर्णय गर्नुपथ्यो । दोस्रोकुरा चाहि गणनाको आधार भेटिएको सवंत पनि चित्त बुझ्दो भएन भने कम्तिमा अझ प्रमाणित सवंत भेट्टाउनको निमित्त किरातजन्य संस्थाहरुबीच कार्यदल बनाएर छलफल र बहस गर्नु र गराउनु पर्दथ्यो । न आफैले जान्ने न अग्रजहरुले खोजी दिएको कुरा मान्ने रबैयाले किरातहरुलाई पछाडी धकेली रहेको छ अर्थात अगाडी बढ्न खोज्नेलाई तगारो लगाई दिने काम गरिरहेको छ ।

येले तङ्बे ५०८४ कुनैपनि कोणबाट किरातहरुको प्रथम राजा यलम्बरले शासन शुरु गरेको दिनबाट गणना गर्दा पुग्दैन । किन की किरात काल भनेको सिर्फ ४ बंश अगाडीको शासक हो । हामीलाई थाह छ १३ पुस्ता शाह वंशले २४० बर्ष शासन गरयो भने शाह बंश अधि मल्ल वंश, मल्ल वंश अघि लिच्छिवी वंश र लिच्छिबी वंश अघि किरात वंश । यो संघीय गणतन्त्र सन् २०२४– २००८ मा १६ बर्ष, शाहकाल २००८ – १७६८ मा २४० बर्ष, मल्लकाल १७६८ – १२०० मा ५६८ बर्ष, लिच्छिबीकाल १२००– ३०० मा ९०० बर्ष र किरातकाल ३००– ईसापूर्व ८०० मा ११०० बर्ष हुन्छ । यसलाई आधार मान्ने हो भने राजा यलम्बरले शासन शुरुगरेको ३१२४ लगभग पुग्दछ तसर्थ ३८०३ चाहि यसको नजिक हुन जान्छ ।

येले तङ्बे भनेर जसले वि.स. २०४८ ताका पहिलो पटक शुरु गरयो उनी स्वयं गणनाको विन्दु खोज्ने सभा, समिनारमा सहभागी थिए । यदाकदा नेपाली इतिहासमा ५ हजार बर्ष अधि काठमाडौंमा किरात शासन थियो भनिएको आधारमै किरात सवंत ५०८४ चलाउनु सहि हुदै होइन र ३८०३ नै अन्तिम र सत्य पनि भन्न सकिन्दैन तर कुरा यति हो गणनाको आधार चाहि छ । भविश्यमा अर्को आधार भेटिन पनि सक्छ त्यतिन्जेल सम्म अहिले प्राप्त भएकोलाई लिएर अगाडी जादै गरौ, बैज्ञानिक क्यालेण्ड र त्यो क्यालेण्डरमा आफ्नै विशेषताहरु विकास गर्दै जाऔ भन्ने कुरा हो तर अहिले आआफै पछाडी फर्किएको अवस्था देखिन्छ जुन दुःखद कुरा हो ।

क्यालेण्डर अर्थात पात्रो भनेको पृथ्वीले सूर्यलाई लगाउने चक्करको गतिको हिसाव अर्थात पृथ्वीलाई चन्द्रमाले लगाउने चक्करको गतिको हिसाव हो वा यी दुबै चक्करको गतिको हिसाब हो, गणित हो । यो सौर्यमण्डलका ८ वटा ग्रहहरु कुनकुन स्थानमा रहेको बेला जन्मेको हो, सो ग्रहहरुको स्थान (पोजिसन) ले जन्मने बच्चामा प्रभाव हुने गरेको बैज्ञानिक तथ्यहरु छन् । क्यालेण्डर र ज्योतिष आपसमा परिपूरक हुन्छन । संसारको जुनसुकै धर्मका क्यालेण्डर यीनै २ ग्रहहरुकै गतिको आधारमा र ज्योतिष ८ ग्रहकै आधारमा हुने गर्दछ । त्यसैले ग्रहको गतिको हिसाब हामी जो कसैले गर्नु वान्छानिय हुन्छ । तसर्थ किरातहरुले पनि ग्रहहरुको स्थान (पोजिसन) पत्ता लगाउनु अर्थात शुभ र अशुभ समय पत्ता लगाउन आफले हिसाब गर्नु अपरिहार्य छ ।

अन्तमा, जसरी प्रदेश न १ मा कामकाजीको निमित्त किरात क्यालेण्डरको सपना थियो त्यसलाई अझ शसक्त बनाउनु पर्दछ । सबैले किरात यलम्बर सवंत अर्थात किरात येले सवंत भनेर एकरुपता ल्याउनु पर्दछ । गणनाको आधार नभेटिएको, तथ्य नभेटिएको ५०८४ प्रयोग नगरि कम्तिमा गणनाको बिन्दु भेटिएको ३८०३ लाई प्रायोग गर्न शुरु गरौ । अड्किएर नबसौ, पुरानै ५०८४ मा बस्नु त झनै वैज्ञानिक हुदैन । ५०८४ लाई नै माया गरेर गणनाको विन्दु खोज्नेक्रममा ३८०३ फेला परेको हो, ताकी दुई बेग्लाबेग्लै सवंत होइनन् । यदि किरातजन्य संस्थाहरुलाई ३८०३ मान्य छैन भने तुरुन्त कार्यदल बनाउ र खोज शुरु गर, अड्केर नबस र अड्काएर नराख । अडकाएर, पर्खाएर कति राख्ने एकबर्ष?, ५ बर्ष? २० बर्ष वा सयबर्ष? त्यसैले जे भेटियो अहिले त्यसैलाई टेकेर अघि बढौ भोली अकाट्य प्रमाण भेटिए नयाँलाई लिएर जाउ तर गणनाको आधार नै नभेटिएको सवंत चाहि नचलाऔ । किरात यलम्बर सवंतको नयाँ बर्षको शुभ कामना ।

१ माघ २०८०

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा, स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरे कार्वाही

काठमाडौँ, १२ माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो । समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ ।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ ।

विसं २०७९ देखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । विगतका दुई वर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो । जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ तर स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेको छैन । कारबाही गर्ने निर्देशिका नबनेकाले विगत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको उहाँले स्वीकार्नुभयो ।

समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । विसं २०७९ देखि नै भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् । यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ । जसअनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ ।

अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ । निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ । समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरिएको हो ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ ।

विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ ।
–––