हरेक वर्ष जब वैशाख १ गतेको दिन नजिकिन्छ वा जनवरी महिनाको १ तारेख आउन लाग्छ, मैले सडकछेउ उभिएर बाटो हिँड्ने बटुवाहरूसित उभिई–उभिई अन्तर्वार्ता लिने गरेको समय मलाई याद आउँछ । त्यसताका म मदनमणि दीक्षितद्वारा सम्पादित ‘समीक्षा’ साप्ताहिकमा कार्यरत थिएँ, विशेष संवाददाताका रूपमा ।
विशेषगरी उनका पुत्र विनोद दीक्षित र मेरो मिलोमतोमा सुरु गरेका थियौं ‘सडक बोल्छ’ भन्ने एउटा नयाँ स्तम्भ । त्यस स्तम्भको मकसद थियो सडकमा उभिएर जनसामान्यसित समसामयिक विषयमा छोटो प्रश्न गर्ने र उनीहरूको छोटो जवाफ लिने ।
त्यसप्रकार सार्वजनिक सरोकारको कुनै पनि विषयमा जनमत प्राप्त हुन सक्छ भन्ने ठानेर थालिएको थियो त्यो स्तम्भ । पत्रिकाको तेस्रो पृष्ठको ठाडो आधा पाना ठाउँ छुट्याइएको थियो त्यसका लागि । एघार–बाह्र जना मानिसले दिएको उत्तरले त्यसमा ठाउँ पाउँथ्यो । उत्तरदाताको नाम, उमेर, पेसा र ठेगाना त्यसमा खुलाइएको हुन्थ्यो । पाठकहरू माझ छिट्टै त्यो स्तम्भ लोकप्रिय भयो । मलाई राम्ररी याद छ, जनवरी १९७५ मा मैले एउटा प्रश्न गरेको थिएँ ‘अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको ग्रेगोरियन क्यालेन्डर नै हामीले पनि व्यवहारमा अंगिकार गरे कसो होला’ भनेर । सबैको उत्तर एकनासको थिएन, तर धेरैले चाहिँ ‘राम्रै हुन्छ, समयअनुसार चल्नुपर्छ’ भन्ने जवाफ दिएका थिए । प्रश्नमा सन्निहित अभिप्राय सरकारी तवरमै ईश्वी संवत् चलाउँदा कसो होला भन्ने थियो । सन्दर्भ के थियो भने सन् १९७५ लाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय नारी वर्ष’ घोषित गरेको थियो र एक सदस्य राष्ट्रका हैसियतले नेपालले पनि त्यस वर्षलाई अनेक कार्यक्रम गरेर मनाउने भएको थियो । अन्तर्राष्ट्रिय तवरमा मान्ने हो भने राष्ट्रिय तवरमै त्यस संवत्लाई किन नमान्ने भन्ने त्यस प्रश्नको आशय थियो ।
मैले आजभन्दा पचास वर्षअघि जनतामाझ सडकमा र मिडियामा उठाएको प्रश्न आज पनि ज्युँका त्युँ छ ।
विक्रम संवत्लाई नेपालको आफ्नै संवत् हो भनिँदै आएको छ र हामीले यसलाई आफ्नै मान्दै आएका पनि छौं । सरकारी कामकाजमा यसै संवत्को प्रयोग हुँदै आएको छ । विद्वान् हर्षनाथ भट्टराईका अनुसार, (२९ चैत २०५९, गोरखापत्र) श्री ३ चन्द्रशमशेरले संवत् १९७० देखि यसलाई सरकारी कामकाजमा चलाएका हुन् । त्यसो हो भने अहिले एक सय एघार वर्ष भयो विक्रम संवत्ले नेपालमा सरकारी पात्रोको मान्यता पाएको । त्यसअघि नेपालमा शक संवत् र नेपाल संवत् प्रचलनमा रहेको मानिन्छ । अझ अगाडि प्राचीनकालदेखि कलिगत संवत्, बुद्ध संवत्, लिच्छवि संवत्, मानदेव संवत् आदि चलेको पनि विद्वान्हरू बताउँछन् ।
विक्रम संवत्को प्रचलन नेपालमा कहिलेदेखि र के कारणले सुरु भएको भन्नेबारे चाहिँ विद्वान्हरूको एकमत पाइँदैन । ठ्याक्कै तोकेर कसैले भनेको पनि देखिँदैन । विक्रमको भन्दा शक संवत्को चल्तीफिर्ती केही बढ्ता भएको समयमा विक्रम संवत्लाई सरकारी पात्रो तोक्न चन्द्रशमशेरलाई के कारणले अभिप्रेरित गर्यो ? त्यो पनि प्रस्ट छैन । कतै पढेको थिएँ, शक संवत् पछ्याउनाले प्रत्येक तीन वर्षमा कर्मचारीहरूलाई तेह्र महिनाको तलब दिनुपरेको हुनाले मितव्ययिता अपनाउनलाई उनले यो निर्णय गरेका थिए भन्ने ।
तर, यता आएर विक्रम संवत्लाई खाँट्टी हिन्दु संवत् भनेर दाबी गर्न थालिएको छ, खासगरी आजको हिन्दुत्वमय भारतमा । विक्रम संवत्भन्दा १३४ वर्ष कान्छो शक संवत् पनि भारतमै थालिएको हो, ईश्वीको दोस्रो शताब्दीका शासक कुशान वंशका कनिष्क सम्राट्द्वारा । तर, तिनलाई बाहिरिया ठानिने हुनाले एउटा बाहिरियाबाट थालिएको संवत्सरलाई त्यतिविघ्न आफ्नो ठान्दैनन् आजका भारतीय, जति विक्रम संवत्लाई । उनीहरूका अनुसार, विक्रम संवत् चाहिँ पक्का हिन्दु हो । किनभने विक्रम संवतसरको प्रारम्भकर्ता विक्रमादित्य आफैं उज्जैनका हिन्दु सम्राट् थिए । यो हिन्दु संवत् भएकै कारण एकताका हिन्दु राष्ट्र रहेको नेपालमा यो संवत् अध्यापि सरकारी तवरमै प्रचलनमा रहेको यो मत राख्नेहरूको दाबी छ ।
अहिलेको भारतको मध्यप्रदेशमा अवस्थित उज्जैन नामक ठाउँका सम्राट्द्वारा थालिएको संवतसर कसरी यति टाढा रहेको नेपाल राज्यमा लागू हुन गयो त्यो आफैंमा प्रश्न गरिनुपर्ने विषय हो । हुन त विक्रमादित्य नेपाल आएका थिए भन्नेदेखि लिएर उनी नेपालकै थिए, बत्तीस वटा पुतलीहरूबाट सज्जित उनको राजसिंहासन यहीं थियो, साँखुको बज्रयोगिनी मन्दिरमा रहेको धातुको बडेमाको शिर विक्रमादित्यकै हो भन्ने आख्यान पनि छन् । यस कथनलाई आख्यान नै मान्नुपर्छ किनभने विक्रमादित्यले नेपाल आएर नयाँ संवत् चलाएको मान्ने हो भने त्यो संवत् थालिएको समयमा नेपाल मण्डल किराँत वंशकै कुनै राजाबाट शासित भएको हुनुपर्छ ।
यसो त विक्रमादित्य कुनै ऐतिहासिक पात्र नभई लोकोक्तिबाट निर्मित पात्र हुन् भन्नेमा प्रायः सबै इतिहासकारहरू एकमत छन् । ईश्वीपूर्व सन्ताउन्न वर्षअघि विक्रम संवत् थालिँदा उज्जैनमा विक्रमादित्य नामका कुनै राजा नभएको मात्र होइन, प्राचीन भारतमै त्यस नामका कुनै राजा नभएको इतिहासकारहरू औंल्याउँछन् । विक्रमादित्य राजाको नाम नभएर प्रतापी राजालाई दिइने सम्मानजनक उपाधि हो भन्छन् इतिहासकारहरू, तर त्यो उपाधि धारण गर्ने कम्तीमा पनि चौध जना राजाहरू रहेका पनि बताउँछन् उनीहरू । चन्द्रगुप्त दोस्रो विक्रमादित्य कहलिन्थे र विक्रम संवत् चलाउने उनै हुन् भनिन्छ । अनि यो नयाँ संवत्को थालनी गर्ने सुझाव दिने खगोलशास्त्री वराहमिहिर थिए पनि भनिन्छ । तर, चन्द्रगुप्त दोस्रोको शासनकाल ईश्वीको तेस्रो–चौथो शताब्दी हो भने वराहमिहिरको समय छैटौं शताब्दी । अनि ईश्वीको नवौं शताब्दीभन्दा अघि प्रस्तर लगायतका कुनै लेखोटमा विक्रम संवत्को उल्लेख नपाइएको इतिहासकारहरूले औंल्याएका तथ्य पनि यहाँनेर ध्यानयोग्य छ ।
उसो भए को थिए त विक्रम संवत्का सुरुवातकर्ता ? आफ्नो पुस्तक ‘अर्ली इन्डिया– फ्रम द ओरिजिन्स टु ए डी १३००’ मा विक्रम संवत्का प्रवर्तक अजेस प्रथम हुन सक्ने भनेर लेखेकी छन् प्रख्यात भारतीय इतिहासविद् रोमिला थापरले । अनि नेपाली अन्वेषक शिवराज श्रेष्ठ मल्लले २२ साउन २०७८ को ‘नागरिक’ दैनिकमा ‘ई.पू. ५७ मा मालवा नरेश शकारी सतकर्णी ‘द्वितीय’ ले चलाएको तर त्यति प्रचलित भइनसकेको संवत्लाई चन्द्रगुप्त द्वितीयले भारत र नेपालमा समेत चलाएका’ भनी लेखेका छन् । को थिए त रोमिला थापरले उल्लेख गरेको अजेस ? यो आफैंमा अन्योलपूर्ण छ । त्यस्तै चार–पाँच सय वर्ष पछाडिका चन्द्रगुप्तलाई त्यसको सुरुवातकर्ता मान्नु पनि तर्कसम्मत देखिँदैन ।
जे होस्, यी अनेक अस्पष्टता र ऐतिहासिक विसंगतिका बाबजुद तथ्य के हो भने नेपालमा विक्रम संवत् आधिकारिक पात्रो हो, यसै हुनाले हामीले वैशाख १ गतेको दिनलाई नयाँ वर्ष भनेर मनाउँदै आएका छौं । नेपालबाहेक भारतको पञ्जाब र उत्तर भारत तथा पूर्वतर्फ बंगाल, असम, त्रिपुरा आदि क्षेत्रमा पनि मोटामोटी यसै क्यालेन्डरअनुसार एक दिनको फरकमा नव वर्ष मनाउँछन् । पञ्जाबमा यसलाई वैशाखी पर्वका रूपमा र मुस्लिम बहुल बंगलादेशमा समेत ‘नवोवर्षो’ या ‘पोइला बोइशाख’ भनी मनाउँछन् राष्ट्रिय पर्वका रूपमा बिदासमेत दिएर । यद्यपि के कुरा रोचक छ भने शास्त्रीय हिसाबले विक्रम संवत्को प्रारम्भ चैत्र शुक्ल प्रतिपदाका दिन भएको मानिन्छ र यस साल त्यो तिथि अस्ति ३० मार्चका दिन परेको थियो । त्यसअनुसार, त्यसै दिनदेखि हामी २०८२ सालमा प्रवेश गरिसकेका छौं ।
अब यसै प्रसंगमा बोलीचालीमा हिजोआज ‘अंग्रेजी वर्ष’ भन्ने गरिएको र ईश्वी संवत् वा ख्रिष्टाब्द भनिने ग्रेगोरियन पात्रोको चर्चा सान्दर्भिक हुन आउँछ । इसाई धर्मका प्रवर्तक जिजस क्राइस्ट (ख्रिष्ट)को जन्मपश्चात् र जन्मपूर्वसित जोडिएको हुनाले यस संवत्लाई ख्रिष्टाब्द र अंग्रेजीमा ‘क्रिश्चियन एरा’ पनि भनिन्छ । जुलियस सिजरद्वारा लागू गरिएको मानिएकाले पहिले यसलाई जुलियन क्यालेन्डर भनिँदै आएकोमा पोप ग्रेगोरी तेह्रौंले परिमार्जित गरी सन् १५८२ देखि प्रचलनमा ल्याएदेखि यसले ‘ग्रेगोरियन क्यालेन्डर’ भन्ने नाम पाएको हो । यही क्यालेन्डर एक/दुई अपवादलाई छाडेर अचेल विश्वभरिका सबै मुलुकहरूमा प्रचलित छ । यद्यपि पुरानो जुलियन क्यालेन्डरलाई अझै पनि अर्थोडक्स क्रिश्चियनहरूले चलाउँदै आएका छन् । भनिरहन परोइन, भारतमा ब्रिटिसहरूकै कारण ग्रेगोरियन क्यालेन्डर व्यवहारमा लागू हुन गयो र ब्रिटिसकालमा मात्र होइन अहिले पनि यावत् सरकारी कामकाजमा यही संवत् प्रयोग हुँदै आएको छ ।
पूरै विश्वले अंगिकार गरेको हुनाले स्वभावतः अहिलेसम्मका विश्वघटना यही संवत्मा अभिलिखित हुँदै आएका छन्, चाहे ती घटना क्राइस्टको जन्मपछाडिका हुन् वा जन्मअगाडि घटित भएका हुन् । केही समय अगाडिसम्म यसलाई ‘क्रिश्चियन एरा’ (अंग्रेजीमा सीई) भन्ने गरिन्थ्यो र त्यसअनुसार ख्रिष्टको जन्मपछाडिको समयलाई इंगित गर्नु पर्दा ‘एन्नो डोमिनी’ (एडी) अनि ख्रिष्टको जन्मअगाडिको कालगणना गर्नुपर्दा ‘बिफोर क्राइस्ट’ (बीसी) भनिन्थ्यो । यसको सर्वव्यापकता र सर्वग्राह्यतालाई ख्याल गरेर होला, यता आएर ‘सीई’ लेखे पनि त्यसको अर्थ ‘कमन एरा’ (साझा संवत्) भनेर लगाउने गरिएको छ र सोहीबमोजिम ‘एडी’ लाई ‘कमन एरा’ अनि ‘बीसी’ को ठाउँमा ‘बिफोर कमन एरा’ (बीसीई) भन्ने चलन बसालिएको छ । यसलाई स्पष्टतः संवत्सरको प्रयोगलाई कुनै धार्मिक पन्थसित नजोडीकन त्यसबाट निरपेक्ष राख्ने प्रयास हो भनेर बुझ्न सकिन्छ । यसले यसको सर्वग्राह्यतालाई झनै फराकिलो बनाउँछ । अब कमन एरालाई ‘साझा संवत्’ भनेर पनि बुझ्नुपर्ने भएको छ ।
नेपालमा यी दुवै संवत्हरूको व्यावहारिक प्रयोग हेर्दा यो छ्यासमिस पाराको देखिन्छ । विक्रम संवत्ले आधिकारिकता प्राप्त गरेको हुनाले सबै सरकारी कामकाजमा र हरेक कार्यालय, अड्डा, अदालतमा यसै संवत्को प्रयोग हुने गर्छ । यद्यपि सरकारले यही संवत् चलाउने भनेर कुनै निर्णय गरेको भने देखिँदैन, केवल परम्पराका रूपमा चलिआएको छ यो चलन, चन्द्रशमशेरका पालादेखि । मौजुदा संविधान पनि यस विषयमा मौन छ । ‘यो संविधान फलानो मितिमा संविधानसभाबाट पारित भई जारी भएको’ भन्ने बोली संविधानमा परेको छैन । केवल राजपत्रमा प्रकाशित मिति भनी २०७२।०६।०३ को मिति प्रस्तावनाको सिरानमा दिइएको छ । उल्लिखित मिति विक्रमीय संवत् भनेर पनि किटिएको छैन । उता भारतको वर्तमान संविधानमा भने त्यो पारित र जारी भएको मितिलाई पहिले ‘२६ नोभेम्बर १९४९’ भनेर उल्लेख गरिएको छ, अनि प्रकोष्ठमा ‘मार्गशीर्ष शुक्ल सप्तमी संवत् दुई हज्जार छ विक्रमी’ (नेपालीमा गरिएको आधिकारिक अनुवादबाट) भनेर खुलाइएको छ । स्पष्टतः यस अर्थमा ख्रिष्टिय र विक्रमी दुवै संवत्लाई भारतीय संविधानले अंगिकार गरेको देखिन्छ । तर, अर्को रोचक पक्ष के छ भने संविधान जारी भएपश्चात् गठन गरिएको पञ्चाङ्ग सुधार समितिले सिफारिस गरेबमोजिम भारत सरकारले सन् १९५७ मा शक संवत्लाई आधिकारिक भनी घोषणा गरेको थियो । यति भएर पनि विक्रमी र शक दुवै संवत् दैनन्दिन र सरकारी प्रयोगमा शून्य बराबर भएको तथ्य फेरि बेग्लै छ । आजको भारतीय समाज र जनजीवन ग्रेगोरियन पात्रोमा पूरै लुटपुटिएको छ भन्न सकिन्छ ।
नेपालमा वैदेशिक सञ्चार गर्ने सिलसिलामा सरकारी कार्यालयहरूले पनि ग्रेगोरियन क्यालेन्डर अनुसारकै तारेख चलाउँछन्, जस्तो सरकारी नियममा कतै नलेखिएको भए पनि अंग्रेजी भाषामा लेखिएका चिठीपत्र वा दस्ताबेजहरू सरकारी कार्यालयहरूमा स्वीकार गरिन्छन्, तिनको नेपाली अनुवाद खोजिँदैन । वस्तु आयात–निर्यात गर्ने व्यापारिक संस्थादेखि बैंक, होटेल, एयरलाइन र जुनसुकै प्रकारले अन्तर्राष्ट्रिय आदानप्रदानमा संलग्न निजी वा सरकारी निकायहरूलाई ग्रेगोरियन पात्रोअनुसार नचली सुख छैन । मोबाइल फोन र इन्टरनेट सेवाले जति व्यापकता ग्रहण गर्दै जान्छ, त्यससँग त्यति नै अन्तर्राष्ट्रिय पात्रोको उपयोग पनि अनिवार्य बन्दै जान्छ । त्यसैले भन्न सकिन्छ, यसको प्रयोग बदलिँदो समय र परिस्थितिका कारण अन्यत्र झैं नेपालमा पनि दिनानुदिन बढ्दो छ ।
धेरै अध्येता, अनुसन्धाता, अध्यापक, विद्वान् र लेखकहरूले भने संवत्को प्रयोगबारे स्पष्ट अडान लिएको पाइँदैन । उनीहरूबाट ख्रिष्टिय संवत्को प्रयोग सराबरी भएको भेटिन्छ । तर, इतिहासवेत्ताहरूमाझ भने दुई वटा धार स्पष्टतः छुट्टिएको पाइन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यको जोड ख्रिष्टिय संवत्को प्रयोगमा देखिन्छ भने इतिहास संशोधन मण्डलसित जोडिएका महेशराज पन्त, दिनेशराज पन्त प्रभृत्ति विद्वान्हरू विक्रम संवत्को पक्षमा अडिग देखिन्छन् । इतिहासका घटना जुनसुकै संवत्मा दरिएका भए पनि तिनलाई विक्रमाब्दमै रूपान्तरित गर्ने प्रयास इतिहास संशोधन मण्डलका प्रवर्तकहरूको देखिन्छ । एक किसिमले यस प्रयासलाई राम्रै मान्नुपर्छ ।
बितेका असी–नब्बे वर्षभित्रका प्रमुख घटनाहरूलाई मेरै पुस्तासम्मकाले पनि नब्बे सालको भुइँचालो, सात सालको क्रान्ति, पन्ध्र सालको महानिर्वाचन, सत्र सालको काण्ड, छत्तीस सालको जनमत संग्रह, छयालीस सालको जनआन्दोलन आदि भनेर सम्झने गर्दछन् । तर, जब नेपाल सरहदबाहिरका घटनाक्रमको सन्दर्भ आउँछन् तब तिनलाई विक्रमाब्दसित एकाकार गर्न गाह्रो पर्छ । किनभने ती सबै घटनाक्रम ग्रेगोरियन पात्रोअनुसार दर्ज भएका हुन्छन् । भारत र पाकिस्तानको जन्म भनौं या बंगलादेशको अभ्युदय, चीनको क्रान्ति या रुसको अक्टोबर क्रान्ति या फ्रान्सेली क्रान्ति भनौं या पहिलो वा द्वितिय विश्व युद्ध, नेपोलियनको उदय या अलेक्जेन्डरको भारत आगमन यी सबै घटनाका समय ख्रिष्टाब्दमै उल्लिखित छन् । त्यसबाहेक, ईश्वीपूर्वको सन्दर्भ आउनेबित्तिकै फेरि ईश्वी संवत्कै सहारा लिनुपर्ने हुन्छ । विक्रम संवत्पूर्व भन्ने आधार उपलब्ध छैन । अनि सन्ताउन्न वर्षको फरक हुनाका कारण शताब्दीको कुरामा विक्रमाब्द र ख्रिष्टाब्दमा एक शताब्दीकै फरक पर्न जान्छ । जस्तो, पच्चीस वर्ष त भयो जम्मा ख्रिष्टाब्द एक्काइसौं शताब्दीमा प्रवेश गरेको । विक्रमाब्द त एकासी वर्षअघि नै एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेको थियो । ख्रिष्टाब्द उन्नाइस सय वर्षको लहरमै चलुञ्जेल समस्या कम थियो, अब ख्रिष्टाब्दले पनि दुई हजारको लङ टेकेपछि हरेक पटक विक्रमाब्द वा ख्रिष्टाब्द के हो त्यो किटान गर्नु अनिवार्य हुन जान्छ । यो वैषम्य नराखी विश्व इतिहास र पुराविद्याको अध्ययन/अनुशीलनको तादात्म्यका लागि पनि अन्तर्राष्ट्रिय तवरमा मानिएको संवत्सर अँगाल्नु आजको सन्दर्भमा व्यवहारसम्मत् देखिन आउँछ ।
भूगोलविद् र योजनाविद् भनेर कहलिएका विद्वान् डा. हर्क गुरुङको सान्निध्यमा रही केही काम गर्ने मौका यस पङ्क्तिकारले पाएको थियो । उच्च शिक्षा पटना र बेलायतको एडिनबरामा हासिल गरेका कारणले हो वा केले गर्दा हो चिठीपत्र वा सानोतिनो मेमो लेख्दा होस् उनको बानी थियो, जहिले पनि ख्रिष्टाब्दको तारेख लेख्ने । एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर मलेसियाको राजधानी क्वालालम्पुरमा उनी कार्यरत रहँदा उनले आफ्नै हातले लेखेका कैयन् फ्याक्सपत्र मैले पाएको छु, कहिले अंग्रेजीमा त कहिले पूरै नेपालीमा लेखिएका । त्यसबेला उनका दुईवटा किताब नेपालमा छाप्ने काममा मैले उनलाई सघाइरहेको थिएँ । त्यसैले पनि तारन्तरजसो उनको फ्याक्सपत्र आइरहन्थे । हरेक फ्याक्सपत्रमा उनीबाट नबिराई ख्रिष्टाब्दको तारेख लेखिएको हुन्थ्यो । भनिरहन परोइन, ख्रिष्टाब्दलाई दैनन्दिन
व्यवहारमा व्यवहृत गराउने कुराको प्रबल पक्षधर थिए डा. हर्क गुरुङ । लेखनसित सम्बन्धित अर्को आग्रह पनि थियो उनको । आलेख नेपालीमा भए पनि त्यसभित्र पर्ने अंकहरू सबै अंग्रेजीका लेख्थे उनी । (हुन त जसलाई हामी अंग्रेजी अंक भन्ने गर्छौं, तिनलाई वास्तवमा अरबिक अंक भनिन्छ, जसलाई पछि अंग्रेजी भाषाले टिप्यो । तर, सजिलोसित बुझ्नका लागि यहाँ अंग्रेजी अंक नै भनौं) । उनीद्वारा नेपाली भाषामा लिखित पुस्तकहरू ‘हिमाल किताब’ अन्तर्गत प्रकाशन गर्दा अंकको प्रयोगसम्बन्धी उनको आग्रहलाई स्विकार्दै अंग्रेजी अंकलाई नफेरीकन यथावत् राख्ने काम गरें मैले । हिन्दी भाषाका पुस्तक र पत्रपत्रिका पढेर हुर्केको मजस्तालाई त्यो अभ्यास अनौठो लागेन पनि । हिन्दीको लिपि देवनागरी भए पनि अंक भने अंग्रेजीकै प्रयोग भएको मैले देखिरहेको थिएँ ।
यो अभ्यास मलाई जँचेको पनि थियो । मलाई लागेको थियो, कुनै प्रकाशन गृहले सुरु गरेको हुँदो हो यो अभ्यास, जो पछि गएर व्यापक भयो होला । मेरो अड्कल गलत रहेको बोध मलाई हालसालै मात्रै भयो, मैले भारतको संविधान पल्टाएपछि । मेरो मनमा रहेको शंकाको गुत्थीलाई भारतीय संविधानमा परेको ‘भारतीय अंकको अन्तर्राष्ट्रिय रूप’ भन्ने वाक्यांशले सुल्झाइदियो । यसको अर्थ हो, देवनागरी लिपिमा लेखिने हिन्दीमा अंग्रेजी अंक प्रयोग गर्ने निर्देश संविधानले नै दिएको रहेछ अनि किन नगरून् उनीहरूले अंग्रेजी अंकको उपयोग ?
वास्तवमा ख्रिष्टाब्द वा ग्रेगोरियन क्यालेन्डर जस्तै अंग्रेजी मानिएको अंकको प्रयोग पनि लगभग विश्वव्यापी नै भइसकेको छ । जापानी, चिनियाँ, कोरियाली, अरबी, रुसी, थाई आदि अंग्रेजीइतर तथा बिल्कुल बेग्लै लिपि भएका भाषाका लेख्य रूपमा फुत्त–फुत्त अंग्रेजी अंक देखिनु आफैंमा रोचक छ । उनीहरूका आफ्नै भाषामा अंक नभएको त अवश्यै होवोइन होला । उनीहरूले अंग्रेजी अंकलाई कुनै खास समयदेखि जानाजान अँगालेको हुनुपर्छ, जसरी आफ्नो परम्परागत तिथिमिति रहेको पात्रो छँदाछँदै ग्रेगोरियन पात्रो अँगालेका छन् । आफ्नो परम्परागत पात्रोअनुसार सबैको आ–आफ्नै नयाँ वर्ष छ र त्यो मनाउँछन् पनि । तर, ३१ डिसेम्बरको राति जाग्राम बसेर १ तारेख जनवरीमा नयाँ वर्षको स्वागत पनि उत्तिकै तामझाम र हर्षबढाइँका साथ गर्छन् ।
यो वृत्तान्त कहिसकेपछि एक पटक फेरि यो पङ्क्तिकार ज्ञानी, बुद्धिमानी, विद्वत्जन तथा प्रबुद्ध पाठकवर्गसामु त्यही प्रश्न राख्ने धृष्टता गर्दछ, जुन प्रश्न उसले पचास वर्षअघि सडकमा उभिएर जनसामान्यलाई सोधेको थियो, ‘हामीले ग्रेगोरियन भनिने सर्वप्रचलित पात्रोलाई व्यवहारमा अवलम्बन गरे कसो होला ?’ यस संवत्लाई व्यवहारमा ल्याउनुको अर्थ साविकको विक्रम संवत्लाई प्रतिस्थापित वा परित्याग गर्नु किमार्थ होइन । विक्रमाब्दको भूमिका सांस्कृतिक र धार्मिक अनुष्ठानहरूको निर्धारणमा यस्तै रहनेछ, जसरी अहिले यहाँ रहेको छ र भारतका कैयन् प्रदेश र क्षेत्रहरूमा रहेको छ । अनि अर्को पूरक प्रश्न उठाउनु पनि यहाँ स्वाभाविक हुन जान्छ, ‘अंकको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रचलन तथा अभ्यासको अनुसरण गर्नु कसो होला ?’
– प्रकाशित : चैत्र ३०, २०८१
Sources: ekantipue.com