किरात सवत् बारे अन्तरक्रिया सम्पन्नः सव्त ५०७५ को गणनाको आधारै भेटिएन

गत १० जनवरी २०१६ का दिन आसफोर्ड युकेमा किरात नयाँ बर्ष भित्रनै लाग्दा किरात यलम्बर सम्वत् बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

किरातजन्य समुदायको सामुहिक उपस्थिती रहेको कार्यक्रममा स्वतन्त्र खोजकर्ता प्रसाद थेवेले हाल प्रचलनमा रहेको किरात सवत् मध्ये ५०७५ को गणनाको आधार नभेटाईएको र लामो समयदेखिको खोजबाट प्राप्त प्रमाणअनुसार ३७९५ हुन आएको बताउनु भयो । अब विस्तारै तथ्यगत र प्रमाणित सवत् नै प्रचलनमा ल्याउनु पर्ने बताउनु भयो । खोजकर्ता थेबेले वि.स. २०५२ देखि नै किरात सवत्को बारेमा लेख लेख्दै आउनु भएको पनि खुलासा गर्नुभयो ।

लामो समय देखि अध्ययन र अनुसन्धान भईरहेको भएपनि किरात येले सम्वत अध्ययन समिति सन् २००९ मा गठन गरि पटकपटकको गोष्ठि हुदै सन् २०१२ अन्तर्राष्ट्रिय सम्मेलन गरि प्राप्त प्रमाण र गणनाको आधारबाट ३७९५ सवत् हुने दस्तावेज सार्वजानिक गरेको थियो । सम्मेलनले नाममा एकरुपता ल्याउन येले दोङ्ग, येले तङ्बे, येले थोचेलाई अब उप्रान्त किरात यलम्वर सवत् नामाकरण गरेको छ । खोज र सहमति अनुसार यो बर्ष किरात यलम्बर सवत् ३७९५ को शुभ कामना ब्यक्त गर्नुपर्ने हुन्छ ।

किरातकाल, लिच्छिवीकाल, मल्लकाल र शाहकाल मात्र इतिहासमा भेटिएकोले गणनाको अवधि ५०७५ पुग्न नसकेको सहभागिहरुले चर्चा गरे । अन्तरक्रिया कार्यक्रममा पपीराज राई, जानुका राई, धन रोगु याख्खा, राजेन्द्र खिम्दिङ, काजी साम्यो, सुदिप थोप्रा, टंक याङदेन, सुन्दर लिंङ्गथेप, चिरन राई, वल बहादुर राई लगायतले सक्रिय सहभागिता जनाउनु भएको थियो । किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पदम राई, लिम्बुवान नागरिक समाजका संस्थापक प्रसाद थेवे अतिथि वक्ताको रुपमा हुनुहुन्थ्यो ।

किरात येले सम्वत् अध्ययन समन्वय समिति युकेको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाका अध्यक्ष पूर्ण मादेनले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम नयाँ बर्षको शुभ कामना आदानप्रदान गर्न तथा हामी बीच प्राप्त भएका जानकारीहरु एकआपसमा आदान प्रदान गर्नको लागि मात्र गरिएको र कुन सवत् सहि हो भन्न नमिल्ने आयोजकले बताए । कार्यक्रमलाई संचालन तथा संयोजन विश्वास दीप तिगेलाले गर्नुभएको थियो ।

प्रत्येक बर्षको माघ १ गते अर्थात यस बर्ष १५ जनवरी २०१६ का दिन किरात नयाँ बर्षको शुरुवात हुदैछ । अध्ययन समन्वय समिति र यलम्बर फाउन्डेनले किरात पात्रो पनि निर्माण गरि धेरै अघि बढिसकेको छ ।