किरात येले संवत् प्रचलन सम्बन्धमा हार्दिक अपील तथा ३८०१ को हार्दिक शुभकामना

किरात येले संवत् प्रचलन सम्बन्धमा हार्दिक अपील

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू ! गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ । हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बू, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायू आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौँ । यही किरात येले संवतका सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बू र भुपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ’असित’ र जसहाङ मादेन ’येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तरराष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बूलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मुर्तिमा रहेको संवतको अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२—१३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवतविद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथ सहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात येले संवतको कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात येले संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) लाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।

श्रदेय प्रवुद्ध किरातजन ! किरात जनलोकमा प्रचलित किरात येले संवतलाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल ’प्रचण्ड“लाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवतको रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ’किरात येले संवत’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हुन आएको छ । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ । यस गहनतम कुरालाई गम्भीरतापूर्वक मनन गरी दिनुहुन्छ भन्ने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवतको नयाँ वर्ष ३८०१ को हार्दिक शुभकामना सहित किरात येले संवतको प्रामाणिक काल गणना ३७९५ (सन् २०१६) लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घ संस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपील गर्दछौँ ।

प्रा. मोतीकला देवान का.वा. अध्यक्ष यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) १४.०१.२०२२ (२०७८/०९/३०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *