कुन सही?

क्यालेण्डर भनेको ८ ग्रहहरुको गतिको हिसाब गरिएकोे गणित हो । यो हिसाब एक जातिले गर्नुहुने अर्को जातिले नगर्ने हुदैन । गतिको गणनाको आधार चन्द्रमाको गति वा सूर्यको गति वा दुवैको गतिको आधारमा गरिन्छ । माघ १ गते न्यू लुनार (चाइनीज) क्यालेण्डरको नयाँ बर्षको नजिक हुन्छ भने र बैशाख चाहि हिन्दु क्यालेण्डर अन्तर्गत हुन्छ ।

किरातजन्य जातिहरुले येले तङ्बे, येले दोङ, येले थोचे आदि भनी येले संवत ५०८१ मनाउने गरेका हुन, यसको गणनाको विन्दु खोज्दै जाँदा ३८०० सम्म भेटियो । अहिले जे भेटियो त्यहि शुरु गरौ र ग्रहको गतिको हिसाब शुरु गरौ र पछि अझ प्रमाणिक भेटिएमा त्यसमा जाउला । गणनाको आधार नभेटिएको प्रयोग गर्नु लज्जाजनक हो । संमृद्ध समुदाय बन्न क्यालेण्डर चाहिन्छ । अनिर्णित भई बस्नु भनेको आफ्नो समुदायलाई पछाडी नै राख्नु हो । गणनाको विन्दु भेटिएको ३८००, गणनाको आधार नभेटिएको ५०८१ को विपक्षमा होइन । गणनाको आधार नभएको सवंतलाई प्राज्ञिक क्षेत्रमा मान्यता हुदैन । त्यसैले गणना बैज्ञानिक हुन अनिवार्य छ । ४ बंश अघिको किरातकालको प्रथम राजा यलम्बरको शासनकालको शुरुलाई गणना विन्दु मानिएको हो । हिसाब गरौ १. शाह वंश १४० बर्ष, २. मल्लवंश कति बर्ष?, ३. लिच्छिवी वंश कति वर्ष?, र ४. किरात वंशको शासन कति वर्ष? त्यस अघि महिषपालवंश र त्यो भन्दा अझ अघि गोपालवंश सम्म पाइन्छ । तब कसरी ४ वंश अघिका राजा यलम्बरले शासन गरेको
गणना ५०८१ हुन्छ?

बैज्ञानिकहरुका अनुसार सन् २०२१ माः मेसोपोटामिया सभ्यता ५३२० बर्ष, इजिप्ट सभ्यता ५१७०, सिन्धुघाटी सभ्यता ४६२०, माया सभ्यता ४०२०, ग्रीक सभ्यता २८२०, पर्सियन सभ्यता ४०२०, छोला राजवंश सभ्यता २३७०, चिनीया सभ्यता २२४१, रोमन सभ्यता २०४७, मंगोल साम्राज्य समय ८१४, आज्टेक्स सभ्यता ५९२, इन्का सभ्यता ५८२ र मुगल साम्राज्य समय ४९४ हुन भने यी १३ सभ्यता मध्ये सबैभन्दा पुरानो ५३२० मात्र पत्ता लागेको छ भने कसरी किरात चाहि मेसोपोटामिया सरह र अरु भन्दा अगाडीको के हुन सक्छ?

त्यसैले अब देखि किरात यलम्बर संवत् ३८०० (२०२१) लाई आधार मानी शुभ कामना आदानप्रदान गरौ ।
– यलम्बर फाउन्डेशन,

किरात ‘येले संवत्’को सान्दर्भिकता: गणेश राई

किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। पछिल्लो कालमा नयाँ वर्षलाई सांस्कृतिक र राजनीतिक अधिकारको बहालीको अभियानको रुपमा अघि बढाउने क्रम चलेको छ। जसले गर्दा नयाँपन थपिएको छ।

इतिहासको दसी
नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलत: किरात कालमा सुभारम्भ भएको तथ्य उल्लेख छ।

किरात शासनकाल सात सय वर्ष रहेको उल्लेख छ। किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालिन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक हो भनेर विश्वास गर्दछन्। किरात येले संवत् पहिचानको कडीका रूपमा लिएका छन्। यि जाति र तिनका सामाजिक संस्थामार्फत् किरात येले संवतलाई व्यापक प्रचलनमा ल्याएको पाइन्छ।

किरात समुदायको सामूहिक अस्तित्वको खोजीका क्रममा यो संवत् प्रवर्द्धन भएको हो। यो संवतलाई साझा रुपमा ‘किरात येले संवत्’ उल्लेख गर्ने गरिएको छ। लिम्बू समाजमा येले तङ्बे, बान्तावा भाषामा ‘येले दोङ’, सुनुवार भाषामा ‘येले थोचे’ भन्ने गरिन्छ। नेपालको संविधान (२०७२) ले ७ वटा संघीय प्रदेश किटान गरेको छ। प्रदेश नं.१ म यो किरात येले संवत् प्रचलन व्यापक रुपमा रहेको छ। पहिचानका रुपमा किराती राई, लिम्बू, याक्खा, सुनुवार र अन्य समुदायले उल्लेख गर्ने गरिएको पाइन्छ। विभिन्न प्रकाशनहरुमा, शिलालेखहरुमा, चिहान चौतारीमा यो संवत् किरातलिपि (सिरिजंगा लिपि) मा लिपिवद्ध गर्ने गरिएको छ। यो किरात यलम्बर संवतलाई प्रदेशको छुट्टै संवतका रुपमा प्रयोग गर्न सकिने बैरागी काइाला (तिलविक्रम नेम्बाङ) लगायत विद्वानहरुको मत रहेको छ।

संवतका प्रवर्द्धक
लिम्बू भाषामा साल/संवतलाई ‘तङ्बे’ भनिन्छ। सर्वप्रथम ‘किरात येले तङ्बे’को प्रचलन २०२९ सालदेखि प्रचलनमा आएको हो। पुष्प थाम्सुहाङ ‘असित’को सम्पादन तथा प्रकाशनमा वि.सं. २०२९ (सन् १९७२) काप्मेप्पा (जेठ) महिनामा लिथो गरेर हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशनमा आएको थियो। उक्त पत्रिकाको वर्ष १, अंक ७, वि.सं. २०३० थेसेक्रो (कातिक) मा पहिलो चोटी ‘किराती तङ्बे (संवत्) ५०७३’ उल्लेख गरेका थिए। त्यो नै किरात संवतको सुरुआती कदम थियो।

कलिगत ४० वर्ष वित्दा किरात राजा यलम्बरले काठमाडौं उपत्यकामा शासन गर्न सुरु गरे भन्ने सुब्बा प्रेम बहादुर माबोहाङ र भुपेन्द्रनाथ शर्मा ढुंगेलको दावीका आधारमा सिक्किमका जसहाङ मादेनले चासो राखे। उनै जसहाङ मादेनको पहलमा अखिल सिक्किम किरात लिम्बू चुम्लुङले ‘याक्थुङ येले तङ्बे’ ५०४९ (सन् १९८९–९०/वि.सं. २०४५–४६) मा याक्थुङ पञ्चांग प्रकाशन गर्‍यो। पुष्प थाम्सुहाङले प्रयोग गरेको आधार विक्रमजित हसरतको ‘नेपालको इतिहास’अनुसार कलि संवत् हो भने जसहाङ मादेनले प्रयोग गरेको संवत् प्रेमबहादुर माबुहाङ र भूपेन्द्रनाथ ढुंगेलको ‘संक्षिप्त नेपालको इतिहास’मा उल्लेखित कलिगत संवत् हो। किरात संवतको प्रवर्द्धन गर्ने व्यक्ति पुष्प थाम्सुहाङ थिए।

संवतबारे अन्तर्राष्ट्रिय गोष्ठी
किरात येले संवत् अध्ययन समन्वय समितिले सन् २००९ नोभेम्बर १४ र १५ तारिखमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठी’ सम्पन्न गर्‍यो। यस काममा प्राचीन नेपालको इतिहासका ज्ञाता प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई र किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बालगायतको विशेष सहभागिता रहेको थियो। गोष्ठीमा इतिहासविद्हरूले पहिलो किरात हाङ यलम्बरको स्मृतिमा ‘स्मारक संवत्’का रूपमा चलाउन उपयुक्त हुने प्रामाणिक तर्क प्रस्तुत गरेका थिए। त्यसो हुँदा (सन् २०१० मा) किरात येले संवत् ३७८९ वर्ष ८ महिना हुन आउने निष्कर्ष दिए। साविक प्रचलनमा रहेको किरात संवत् १२८१ वर्षले घट्न गयो। इतिहासमा उल्लेख पहिलो किरात हाङ यलम्बरको काललाई स्तम्भ (माइलस्टोन/कोशेढुंगा) मानेर यताको काल गणना गर्दा साबिक प्रचनलमा रहेको संवत् घटेको हो। यद्यपि, इतिहास विज्ञान पनि भएकाले अध्ययन तथा अनुसन्धान जारी छ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनपछि समाजमा संवत् प्रयोगमा दुविधा उत्पन्न भएको पाइन्छ। तर विज्ञहरुको मतसहितको नयाँ तथ्यलाई आधार बनाउनु उचित हुने मतचाहिं बढी बलियो देखिन्छ।

किरात येले संवत् अध्ययन समन्वय समिति र किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) को पहलमा अन्तर्राष्ट्रिय गोष्ठी भएको थियो। ति संस्थाले पहिलो संविधान सभा (२०६४) ले संविधान निर्माण गर्दैगर्दै ‘संविधानको अनुसूचीमा किरात येले संवत् उल्लेख हुनुपर्छ’ भन्ने माग राखे। राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, संस्कृति मन्त्री, प्रमुख राजनीतिक दलका अध्यक्षहरू, संविधान सभा अवधारणापत्र तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका अध्यक्षलगायतलाई ज्ञापनपत्र बुझाए। त्यो कामको अगुवाइ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइालाले गरेका थिए।

नयाँ आधार
१) ३२ पुस्ता किरात राजाहरुको शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको।
२) किरातहरूको शासनको अन्त्य लिच्छवी राजा जय बर्माको पालामा भएको भन्ने कुरा काठमाडौंको माली गाउँमा पाइएको जय बर्माको सालिकबाट प्रमाणित भएको छ। सो सालिकको संवत १०७ अथवा ई. १८५ हुन आउँछ। (लैनसिंह बाङ्देल)।
३) जय बर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ।
४) ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ। यही १७७९।८ मा सन् २०१७ जोड्दा ३७९६।८ (अर्थात सन् २०१८ मा किरात येले वर्ष ३७९७) हुन्छ। माघे संक्रान्तिदेखि ३७९७ सुरु हुन्छ।

निचोड
इतिहासको अध्ययन, अनुसन्धान, उत्खनन् कार्य आफैंमा जटिल कार्य हो। किरात येले संवत् अध्ययन र प्रामाणिक विषयमाथि संवत् घट्नु सोझो हिसाबले दु:खद हो। तर, विना प्रमाण एकजना व्यक्तिले चलनमा ल्याएका संवतलाई सरकारी दस्तावेजमा संलग्न गराउँदा अस्वीकार्य हुने प्रवल सम्भावना रहन्छ नै। र यो राजनीतिक मुद्दाको विषय पनि हो। समाजलाई साक्षी राखेर बृहत् बहस, अध्ययन, अनुसन्धान गरेर निष्कर्षमा पुग्न जरुरी छ। त्यही कार्यको सुरुवात भएको हो।
संवत् घटाइयो भनेर असन्तुष्टि पोख्ने र जडवादी भएर अध्ययन अनुसन्धान कार्यलाई ठप्प पार्न खोज्नु मूर्खता ठहरिन्छ। अर्कोतर्फ अध्ययन अनुसन्धान कार्यमा चासो राख्नेहरुमाथि अनेक लान्छना लगाउनु जायज होइन। अध्ययनलाई खुला राखेर किराती जातिले साझा एकता जनाउन किरात येले संवत् चलाउन जरुरी छ।
किरात येले संवत् नै भनेर स्मारक संवत् चलाउँदा प्रामाणिक हुनसक्छ। तर ‘किरात संवत्’ मात्रै भनिरहँदा प्रामाणिक संवत् बन्न नसक्ने इतिहासविद्हरुको मत रहेको छ। यसतर्फ देश–विदेशमा रहेका किरातजन्य संस्था, व्यक्ति–व्यक्तित्वहरुले यसतर्फ सोच्न जरुरी देखिन्छ। चलनचल्तीमा आएको यो संवत् कुनै व्यक्ति विशेषको मात्र लाभ–हानीको विषय होइन। सिंगो किराती जातिको अस्तित्वको सवाल हो भन्नेचाहिं प्रमुख विषय हो। यो संवत् र किरात जातिको पहिचानका समग्र पक्षको अध्ययन, अनुसन्धानका निम्ति स्थापित यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्थाले प्रदेश नम्बर १ मा किरात येले संवतको सघन प्रयोग हुने सम्भावनालाई मध्यनजर गर्दै यस संवतलाई मान्यता दिलाउने कामको पहलकदमी हुनुपर्ने माग दोहोर्‍याएको छ। मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था कार्यान्वयन हुने क्रममा तीन तहको निर्वाचन सम्पन्न भई सकेको हुँदा सरकारले नेपालमा चलेका संवतहरुलाई प्रचलनमा ल्याउन निष्कर्षमा पुर्‍याउन जरुरी छ, जसरी विक्रम संवत्, नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा लागू गरिएको छ।

raiganesh@gmail.com

कान्तिपुर, प्रकाशित : पुस ३०, २०७४ १४:४७
https://www.kantipurdaily.com/bibidha/2018/01/14/20180114144754.html

किरात येले सवतको गणनालाई प्रामाणिक बनाउनु पर्ने विज्ञहरुको धारणा

धरान सुनसरी, पुस २६ गते । किरात येले सवतको गणनालाई प्रामाणिक बनाउनु पर्ने धारणा विज्ञहरुले राखेका छन् । किरात याक्थुङ चुम्लुङले आयोजना गरेको किरात येले तङ्बे सम्बन्धी विचार गोष्ठीमा सो धारणा आएको हो । कलिगत ४० वर्ष वित्दा किरात राजा यलम्बरले काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने सुब्बा प्रेम बहादुर माबोहाङ र भुपेन्द्रनाथ शर्मा ढुङ्गेलको दावीका आधारमा जसहाङ मादेनले वि.सं. २०४५र०४६ मा याक्थुङ येल्ले तङ्बे उल्लेख गरी प्रकाशन आरम्भ गरेको थिए । उक्त संवत् सन् २०१७ मा ५०७७ वर्ष पुगेको विश्वास गरिए पनि प्रथम किरात यलम्बर राजाको स्मृतिमा चलाइएको संवत्को काल गणना ऐतिहासिक हिसाबले पुष्टि हुन सकेको छैन ।

२०६६ कात्तिक २८ र २९ गते भएको “किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी २००९” पछि किरात येले संवत्का अध्ययनले गति लिएको हो । यस काममा प्रचीन नेपालको इतिहासका ज्ञाता तथा संव्त विशेषज्ञ प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई र किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बाको विशेष सहभागिता रहेको छ । किरात समन्वय समिति र किरात येले संवत् अध्ययन समन्वय समिति र किरात अगुवाहरुको २०६७ मङ्सिर २८ मा जनजाति प्रतिष्ठान जावलाखेलमा आयोजित बैठकले जयस्थिति मल्लको शासन कालमा लेखिएको गोपालराजा वंशावली र मालीगाउँमा भेटिएको जय वर्माको मूर्तिको बैठकमा उल्लेख भएको संवत् १०७ तदनुसार ई.सं. १८५ लाई मिलन बिन्दु मानेर येले संवत्का निर्धारण गर्ने निर्णय गर्यो । यस अनुसार कायम भएको सन् २०१७ मा ३७९६ हुन आउने किरात येले संवत्को गणना प्रामाणिक भएको स्रोत व्यक्ति अमर तुम्याहाङले प्रस्तुत गरेका थिए ।

किरात येले संवत््को पात्रो निर्धारण गर्ने क्रममा चान्द्र पात्रो निर्माण प्रक्रिया, नयाँ वर्ष आरम्भ दिन माघ शुक्ल प्रतिपदा र समयको आधार बिन्दु पटुक राजाको दरबार मानिएको पाटनको पटुकोडोँलाई मान्नु पर्ने उनले बताए ।
अर्का कार्यपत्र प्रस्तोता हरिचन्द्र लाओतीले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने क्रममा ५०७७ लाई नै मानेर जानु पर्ने कुरा राखेका थिए । उनले किरात येले संवत्का समयको आधारबिन्दु फक्ताङलुङलाई मान्नु पर्ने पनि बताए ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिं थाङ्देनले २०४८ सालमा किरात येले संवत्को आधिकारिकता भन्दा पनि किरातीहरुको पहिचानको विषयलाई मात्र ध्यान दिएर सिक्किममा प्रकाशित भएको र आशामान सुब्बा निवासमा पाइएको पात्रोमा उल्लेख भएको याक्थुङ येल्ले संवत् प्रयोग गरेको बताए । त्यसबेला पहिचानको खोजी र आर्थिक सहयोग सङ्कलनको उद्देश्यले पात्रो प्रकाशन भए पनि अहिले आएर यसको गणनाका बारेमा अध्ययन अनुसन्धानपछि यसको प्रयोगमा समस्या आएको अध्यक्ष थाङ्देनले बताए । उनले अगाडि भने, “अध्ययन अनुसन्धानबाट प्रमाणित संवत् नै चलाउने हो तर सबैको सहमति लिएर चलाउने हो । लामो समयदेखि पाँच हजारवाला संवत् चलाएकाले केही समस्या भए पनि चुम्लुङको तल्लो तहसम्म छलफल गरी सहमति जुटाएर जतिसक्दो चाँडो येले संवत्को प्रामाणिक गणना टुङ्गो लगाउन चुम्लुङ लागि परेको छ ।”

यसरी नै किरात याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनले अध्ययन अनुसन्धानबाट आएको किरात येले संवत्को गणनाबारे चुम्लुङ बेखबर नरहेको बताए । उनले भने, “चुम्लुङको निर्णय अनुसार नै किरात येले संवत्को गणनाको अध्ययन भएको हो । तर यसको कार्यान्वयनका लागि सबै पक्षको सहमति जुट्नुपर्छ भन्ने पक्षमा चुम्लुङ रहेको छ ।”

किरात याक्थुङ चुम्लुङका संस्थापक तथा छलफल कार्यक्रमका सभापति नरप्रसाद लुम्फुङ्वाले पाँच हजारवाला संवत्को पात्रो निर्माणमा आफ्नो पनि ठूलो भूमिका रहेकाले त्यससँग भावनात्मक सम्बन्ध रहे पनि त्यसको इतिहास सम्मत गणना हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार क्या. अक्कल बहादुर मेन्याङ्बोले अङ्ग्रेजहरुले नेपालमा आएर यहाँको इतिहास लेख्न थालेपछि अनि पहिलो र दोस्रो विश्वयुद्धमा वीर गोर्खाहरु सहभागी भएपछि मात्र राई, लिम्बु लगायतको जातिको इतिहास लेख्न थालिएको तथ्य समेतलाई ध्यानमा राखेर किरात येले संवत्को गणना गर्नु पर्ने सुझाव राखेका थिए । उनले भने– एक त नेपाली इतिहास नै लेखिएको छैन अर्को कुरा मन गढन्ते तरिकाले किरात राजा यलम्बरको राज्यकाल पाँच हजार वर्ष अघि पुराउन नै सकिँदैन र यो विश्वको इतिहाससँग मेल खालाजस्तो पनि लाग्दैन ।

अर्का वक्ता मुन्धुमविद् भरत तुङ्घङले गोपालराजावंशावलीमा उल्लेख भएका सबै १२९ जना राजाको काल गणना गरे पनि चारहजार सेरोफेरो भन्दा पूर्व जाँदैन अनि कसरी पाँचहजारको गणना मान्न सकिएला भनी प्रश्न गरे ।
च्याब्रुङका अध्येता आइत खजुमले किरात नभई याक्थुङ जातिको इतिहास खोजे मात्रै संवत्को टुङ्गो लाग्ने बताए । उनले भने– किरातको कुरा गरेर अलमल मात्र हुन्छ, कहिलै निष्कर्षमा पुगिँदैन ।
यसरी नै श्री लिङ्खिमले लिम्बु मुन्धुमका पात्र वा इतिहासका पाइने व्यक्तिहरुको नामबाट संवत् सुरु गर्नुपर्ने बताए । मिजोकलुङ चङ्बाङ क्याकले किरात येले संवत्मा देखिएको दुविधा तुरुन्त अन्त्य गर्नुपर्ने राय राखेका थिए । घनेन्द्र चबेगुले भने संवत्को नामका साथै नयाँ वर्ष फेरिने क्रममा समेत फरक फरक मत र प्रयोग रहेकाले अब कसरी एक रुपता ल्याउन सकिएला भनी जिज्ञासा राखेका थिए ।

किरातजन्य संस्थाहरुले किरात येले संवत् यस वर्ष ५०७७, किरात धर्म अन्तरगत सत्यहाङ्मा पन्थीहरुले ५०७८ र अध्ययनबाट आएको निष्कर्षको आधारमा किरात येले संवत्को गणना ३७९६ रहेको कुरा स्मरणीय छ । यसरी नै नयाँ वर्ष आरम्भ पनि किरातजन्य संस्थाहरुले माघ १ गते, सत्यहाङ्मा पन्थीले चैत्र १ गते र नयाँ अध्ययनको आधारमा माघशुक्ल प्रतिपदाबाट सुरु हुने मान्यता रहेको छ ।
चारामाया पालाम कृतिका लागि अम्बिका कुमार सम्बाहाम्फेलाई दसहजार राशीको उदयकला उपुरस्कार प्रदान गरिएको उक्त कार्यक्रमको सञ्चालन विजय लिम्बुले गरेका थिए ।
तस्बिर १) कार्यक्रम । २) कार्यपत्रको शीर्षक ३) कार्यपत्र प्रस्तोतालाई प्रदान गरिएको मायाको चिनो ।

किरात सवत् बारे अन्तरक्रिया सम्पन्नः सव्त ५०७५ को गणनाको आधारै भेटिएन

गत १० जनवरी २०१६ का दिन आसफोर्ड युकेमा किरात नयाँ बर्ष भित्रनै लाग्दा किरात यलम्बर सम्वत् बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

किरातजन्य समुदायको सामुहिक उपस्थिती रहेको कार्यक्रममा स्वतन्त्र खोजकर्ता प्रसाद थेवेले हाल प्रचलनमा रहेको किरात सवत् मध्ये ५०७५ को गणनाको आधार नभेटाईएको र लामो समयदेखिको खोजबाट प्राप्त प्रमाणअनुसार ३७९५ हुन आएको बताउनु भयो । अब विस्तारै तथ्यगत र प्रमाणित सवत् नै प्रचलनमा ल्याउनु पर्ने बताउनु भयो । खोजकर्ता थेबेले वि.स. २०५२ देखि नै किरात सवत्को बारेमा लेख लेख्दै आउनु भएको पनि खुलासा गर्नुभयो ।

लामो समय देखि अध्ययन र अनुसन्धान भईरहेको भएपनि किरात येले सम्वत अध्ययन समिति सन् २००९ मा गठन गरि पटकपटकको गोष्ठि हुदै सन् २०१२ अन्तर्राष्ट्रिय सम्मेलन गरि प्राप्त प्रमाण र गणनाको आधारबाट ३७९५ सवत् हुने दस्तावेज सार्वजानिक गरेको थियो । सम्मेलनले नाममा एकरुपता ल्याउन येले दोङ्ग, येले तङ्बे, येले थोचेलाई अब उप्रान्त किरात यलम्वर सवत् नामाकरण गरेको छ । खोज र सहमति अनुसार यो बर्ष किरात यलम्बर सवत् ३७९५ को शुभ कामना ब्यक्त गर्नुपर्ने हुन्छ ।

किरातकाल, लिच्छिवीकाल, मल्लकाल र शाहकाल मात्र इतिहासमा भेटिएकोले गणनाको अवधि ५०७५ पुग्न नसकेको सहभागिहरुले चर्चा गरे । अन्तरक्रिया कार्यक्रममा पपीराज राई, जानुका राई, धन रोगु याख्खा, राजेन्द्र खिम्दिङ, काजी साम्यो, सुदिप थोप्रा, टंक याङदेन, सुन्दर लिंङ्गथेप, चिरन राई, वल बहादुर राई लगायतले सक्रिय सहभागिता जनाउनु भएको थियो । किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पदम राई, लिम्बुवान नागरिक समाजका संस्थापक प्रसाद थेवे अतिथि वक्ताको रुपमा हुनुहुन्थ्यो ।

किरात येले सम्वत् अध्ययन समन्वय समिति युकेको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाका अध्यक्ष पूर्ण मादेनले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम नयाँ बर्षको शुभ कामना आदानप्रदान गर्न तथा हामी बीच प्राप्त भएका जानकारीहरु एकआपसमा आदान प्रदान गर्नको लागि मात्र गरिएको र कुन सवत् सहि हो भन्न नमिल्ने आयोजकले बताए । कार्यक्रमलाई संचालन तथा संयोजन विश्वास दीप तिगेलाले गर्नुभएको थियो ।

प्रत्येक बर्षको माघ १ गते अर्थात यस बर्ष १५ जनवरी २०१६ का दिन किरात नयाँ बर्षको शुरुवात हुदैछ । अध्ययन समन्वय समिति र यलम्बर फाउन्डेनले किरात पात्रो पनि निर्माण गरि धेरै अघि बढिसकेको छ ।